सात करोडको प्रशोधन केन्द्र अलपत्र, किसान सस्तोमा अदुवा बेच्न बाध्य


इलाम । इलामको माईजोगमाई गाउँपालिका–४ का पासाङ तामाङले अघिल्लो वर्ष ९० मन (तीन हजार ६०० केजी) अदुवा फलाए । प्रतिमन दुई हजार ५०० रुपैयाँभन्दा बढीको दरले अदुवा बिक्री हुँदा मनग्य आम्दानी भयो ।
यो वर्ष उनले ४५ मन अदुवा लगाएका छन् । पोहोर सालकै अनुपातमा फल्दा २५० मन अदुवा बारीमै छ । “योपटक अदुवा खन्न खासै जाँगर चलेको छैन,” उनले भने, “मूल्य नै ओरालो लागेको छ । खै कसरी घाटा खाएर बिक्री गर्नु ?” मूल्य घटेका कारण पासाङजस्ता इलामका धेरै किसान यति बेला विलखबन्दमा परेका छन् ।
घट्दो मूल्य र अदुवामा लाग्ने रोगका कारण किसानलाई लागत उठाउनसमेत हम्मेहम्मे परेको छ । “यस्तै मूल्य आउने हो भने अर्को वर्षदेखि खै के अदुवा लगाउनुजस्तो भएको छ,” तामाङ भन्छन् ।


इलाममा उत्पादित अदुवा अहिले प्रतिमन ७०० रुपैयाँका दरले बिक्री भइरहेको छ । इलामको बरबोटेका व्यापारी कृष्ण पौड्याल भारतमा अदुवाको उत्पादन बढेपछि नेपाली अदुवाको मोल ओरालो लागेको बताउँछन् । उनले भने, “सिजन भएर पनि बिक्री मन्द छ ।”
बिक्री नभए पनि नेपालमै प्रशोधन गरेर बढी नाफा लिने लक्ष्यसहित झापामा स्थापना भएको अदुवा प्रशोधन प्लान्ट भने सञ्चालनमा आउन सकेको छैन ।
किसानलाई ठूलै सपना देखाएर पूर्वी नेपालका अदुवा किसानमाझ ल्याइएको करोडौँ रुपैयाँ लागतको परियोजना अझै अपुरो छ । अदुवामा सुविधैसुविधा दिने भन्दै आएको योजनाअन्तर्गत सात करोड रुपैयाँको संरचना र धेरै किसानको सपना अलपत्र भएको छ ।
चार हजार अदुवा उत्पादक किसानलाई अदुवा धुने र प्रशोधन गर्ने सुविधा प्रदान गर्ने उद्देश्यले झापाको दुवागढीमा निर्माण भएको अदुवा प्रशोधन केन्द्र निजी क्षेत्रलाई हस्तान्तरण गरिएको छ । तर, चार वर्ष बित्दा पनि सञ्चालनमा आएको छैन । प्रशोधन नगरी अदुवा भारत पठाउँदा अहिले पनि किसानले भनेजस्तो मूल्य पाउँदैनन् ।
अदुवा किसानले अहिले पाउँदै गरेको मूल्यमा २५ प्रतिशत वृद्धि हुने लक्ष्यसहित निर्माण गरिएको प्रशोधन केन्द्रले योजनाअनुसार काम नदिएपछि प्लान्ट बन्द छ । केन्द्र सञ्चालनको जिम्मा लिएको नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघका महासचिव हेमन्तराज बोहोरा प्रशोधनपछि अदुवाको सुठो बनाएर भारतबाहेकका देशमा निर्यात गर्न अहिले काम भइरहेको दाबी गर्छन् ।
“प्रशोधित र अप्रशोधित अदुवाको मूल्य भारतमा एउटै भएकाले केन्द्र राम्रोसँग चल्न नसकेको होला,” बोहोराले भने ।
विश्व खाद्य संगठन (एफएओ)को सात करोड लगानीमा निर्माण भएको केन्द्रले प्रतिघण्टा ६ टन अदुवा धुने, सुकाउने, ग्रेडिङ गर्ने एफएओको आधिकारिक वेबसाइटमा उल्लेख छ । यसले २०० जनालाई प्रत्यक्ष रोजगारी दिने लक्ष्य राखिएको थियो ।
अदुवा प्रतिस्र्धात्मक अभिवृद्धि आयोजनाअन्तर्गत निर्माण गरिएको प्रशोधन केन्द्र एफएओले संघलाई हस्तान्तर गरेको थियो । संघका महासचिव बोहोराले केन्द्र चलाउने प्रयास गरिरहेको बताए । उनले पूर्वको अदुवा प्रशोधन गर्न मात्र पनि क्षमता विस्तार नगरी सम्भव नहुने बताउँदै भने, “यो क्षमताले इलामको पनि सबै अदुवा प्रशोधन गर्न सक्दैन ।”
प्रशोधन केन्द्र बनेपछि २०० भन्दा बढी संकलक, प्रशोधनकर्ता र व्यापारीले लाभ पाउने लक्ष्य राखिएको थियो । प्रशोधन केन्द्र सञ्चालनपछि किसानको अहिले उत्पादनपछिको (पोस्टहाभेस्ट) घाटामा ३० प्रतिशत घट्ने एफएओको आकलन छ ।
झापाको मेचीनगर नगरपालिका–९, दुवागढीमा २२ कट्ठा जमिन खरिद गरेर केन्द्र स्थापना गरिएको छ । नेपालमा प्रशोधन केन्द्र नहुँदा यहाँको अदुवा धोईपखाली गर्न समेत पूर्वको काँकडभिट्टानजिकको भारतीय बजार नक्सालबारी पुर्‍याउनुपर्ने अवस्था छ ।
नेपालमा उत्पादन हुने अदुवाको करिब ९९ प्रतिशत अदुवा भारतमै खपत हुने गरेको छ । नेपालका करिब ६६ हजार कृषक अदुवा खेतीमा संलग्न रहेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
अदुवा नेपालका बिर्तामोड, धरान, विराटनगर, हेटौँडा, वीरगन्ज, बुटवल, भैरहवा, तुलसीपुर, नेपालगन्ज, धनगढी, महेन्द्रनगरलगायत स्थानबाट भारतको दिल्ली, जयपुर, अमृतसारलगायत बजारमा पुर्‍याएर बिक्री गर्ने गरिएको छ । नेपालका इलाम, सल्यान, पाल्पा, नवलपरासीलगायत जिल्लामा अदुवा उत्पादन उच्च रहेको पाइन्छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment