एमालेकाे जिल्ला अधिवेशन आज


काठमाडौं २३ पुष । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को देशैभर जिल्ला अधिवेशन आज (शुक्रबार) हुँदै छ । अधिवेशन उद्घाटन भर्चुअल माध्यमबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालयबाट गर्नेछन् ।
प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार आज बिहान ११ बजे केन्द्रीय कार्यालयको एक्सन रुमबाट एकैसाथ भर्चुअल उद्घाटन र सम्बोधन कार्यक्रम छ । केही हिमाली जिल्लाबाहेक सबैको अधिवेशन आजै हुनेछन् ।
वातावरणीय प्रभावका कारण हिमाली केही जिल्लामा पछि अधिवेशन हुनसक्ने उपप्रमुख रिजाल बताउँछन् । एमाले १०औं महाधिवेशन गत मंसिरमै सकिए पनि जिल्ला अधिवेशन एकसाथ हुन लागेको हो । प्रदेश अधिवेशन आगामी ८ माघमा हुने तय भएको छ । यसैबीच, एमाले संगठन विभागले जिल्ला कमिटीसम्बन्धी तीन बुँदे मापदण्ड ७७ वटै जिल्लामा ‘सर्कुलर’ गरेको छ ।
कमिटीसम्बन्धी मापदण्डअनुसार पदाधिकारी हुनका लागि दुई कार्यकाल जिल्ला कमिटीमा काम गरिसकेको वा एक कार्यकाल सचिवालयमा सदस्य भई काम गरिसकेको हुनुपर्नेछ ।
त्यस्तै, सदस्यका लागि जिल्ला कमिटी, जिल्ला विभाग वा एक तहमुनिको कमिटीमा कम्तीमा एक कार्यकाल पूरा गरेको हुनुपर्नेछ । त्यस्तै, एकता एकीकरणबाट पार्टीमा समाहित भएकाको हकमा भने विधानको धारा ६३ (११) अनुसार हुनेछ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment