बालुवाटार जग्गा प्रकरणका मुख्य आरोपित शोभाकान्त ढकालसहित ५ जनाविरुद्ध राजस्व छलीको मुद्धा दायर


काठमाडौं २० पुष। बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणका मुख्य आरोपित शोभाकान्त ढकालसहित ५ जनाविरुद्ध राजस्व छलीको मुद्दा दायर भएको छ ।
मंगलबार राजस्व अनुसन्धान विभागले ढकालसहित उनकी पत्नी उमाकुमारी ढकाल, पारिवारिक सदस्य सरोज ढकाल, आनसान इन्टरनेशनल प्रालीका सान्टु श्रेष्ठ र लेखा परीक्षण गर्ने संस्था राजेश्वर एण्ड कम्पनीका प्रोपाइटर राजेश्वर श्रेष्ठविरुद्ध विभागले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।
उनीहरुसँग विभागले बिगो र जरिवाना गरी २ अर्ब ४० करोड ९८ लाख ३५ हजार ६ सय ४८ रुपैयाँ तथा कैद सजाय माग दाबी गर्दै मुद्दा दायर गरिएको छ ।
ललिता निवास जग्गा हिनामिना प्रकरणका मुख्य योजनाकार रहेका ढकालविरुद्ध २०७६ माघ २२ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदखालतमा दायर गरेको मुद्दा विचाराधिन छ । अदालतको आदेशमा ढकाल हाल डिल्लीबजार कारागारमा रहेका छन् ।
राजस्व विभागले राजस्व चुहावट गर्ने मनसायले जालसाजी, नक्कली तथा झुठा मूल्य अभिवृद्धिकर विवरण, वित्तीय विवरण तथा आयविवरण तयार पारी फर्मबाट कारोबार शून्य देखाएर राजस्व छलेको कसुरमा मुद्दा दायर गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । विभागद्वारा जारी विज्ञप्तिमा आरोपितहरुले मुल्य अभिवृद्धिकरतर्फ ४२ करोड २६ लाख ७ हजार ३ सय ५१, आयकरतर्फ ६८ करोड ४८ लाख २६ हजार ९७ रुपैयाँ र लाभांश तर्फ ९ करोड ७४ लाख ८४ हजार ३ सय ७६ रुपैयाँ गरी कूल १ अर्ब २० करोड ४९ लाख १७ हजार ८ सय २४ रुपैयाँ राजस्व चुहावट गरेको भनिएको छ ।
राजस्व विभागले चुहावट भएको रकम बिगो र सोही बराबरको रकम जरिवाना माग दाबी गर्दै आनसानका चारैजना सञ्चालकलाई बिगो र जरिवानाबाहेक ३ वर्ष कैद सजाय दिन पनि माग गरेको छ । लेखापरीक्षण गर्ने श्रेष्ठलाई भने १ वर्ष ६ महिना कैद सजाय गर्न माग गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment