चीनमा एमबिबिएस अध्ययन पूरा गर्न नपाएका विद्यार्थीद्वारा शिक्षा आयोगमा तालाबन्दी


काठमाण्डाैँ ५ मघः कोभिड–१९ को महामारीका कारण चीनमा एमबिबिएस अध्ययन पूरा गर्न नपाएकालाई नेपालमै इन्टर्न गर्न पाउने सरकारको निर्णय कार्यान्वयनमा ढिलाइ गरेको भन्दै विद्यार्थीले चिकित्सा शिक्षा आयोगमा ताला लगाएका छन् । त्यसअघि विद्यार्थीहरूले साढे दुई घन्टा आयोगमा धर्नासमेत दिएका थिए ।

मन्त्रिपरिषद्ले निर्णय गरी शिक्षा मन्त्रालयले इन्टर्नसिपको व्यवस्था गर्न आयोगमा पत्राचार गरेको १० दिनसम्म पनि कार्यान्वयन नगरेको भन्दै विद्यार्थीले उपाध्यक्षलगायतको कार्यकक्ष जाने भवनमा ताला लगाएका हुन् । 
विद्यार्थीले लगाएको ताला प्रहरीले तत्काल फोडेको छ । ताला फोडेपछि विद्यार्थीहरूले गिरीविरुद्ध नाराबाजी गरेका थिए । विद्यार्थी र आायोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीबीचको विवाद बढ्न थालेपछि गिरी प्रहरीको सुरक्षा घेरामा भागेका थिए ।
सरकारले सन् २०१५ को (चाइनिज मिडियम) र २०१६ का विद्यार्थीलाई नेपालमै इन्टर्नसिपको व्यवस्था गर्ने निर्णय गरेको थियो । चीनको विश्वविद्यालयमा एमबिबिएस अध्ययन सकेर इन्टर्नसिपको पर्खाइमा रहेका इमरान खानले छिटो इन्टर्नसिपको व्यवस्था गर्न दबाब दिन आयोगमा ताला लगाएको बताए । ‘सरकारले इन्टर्नसिपको व्यवस्था गर्ने निर्णय गरेको छ, चिठी आयोगमा पुगिसकेको छ, तर आयोगले किन अलमल गरेको हो थाहा छैन,’ उनले भने, ‘हाम्रो आठ महिना ढिलाइ भएको छ । अब थप ढिलो नहोस् भन्न खोजेका हौँ ।’
कोभिडका कारण चीनको सीमा नखुल्दा विद्यार्थी फर्किन नपाएपछि विश्वविद्यालयले जुन देशमा रहेका छन् त्यही देशमै इन्टर्नसिप गर्न विद्यार्थीलाई आग्रह गरेका छन् । अहिले इन्टर्नसिपको पर्खाइमा डेढ सयजना विद्यार्थी रहेको खानको भनाइ छ ।
कोभिडले एकपछि अर्को समस्या
चीनमा चिकित्सा शिक्षा अध्ययनका लागि गएका विद्यार्थी कोभिडको समयमा नेपाल फर्केका थिए । उनीहरू अहिलेसम्म अध्ययन पूरा गर्न जान पाएका छैनन् । कहिले जान पाउने भन्नेसमेत यकिन छैन । चीनमा चिकित्सा शिक्षा (एमबिबिएस/बिडिएस) अध्ययन गर्न गएका विद्यार्थीको पढाइ सकेर इन्टर्नसिप सक्नसमेत केही महिना मात्र बाँकी हुँदा कोभिडका कारण नेपाल आएका विद्यार्थी वर्ष दिनसम्म पनि फर्कन नपाएपछि समस्यामा परेका थिए ।
लामो समयसम्म धेरै ठाउँमा भौँतारिएपछि सरकारले सन् २०१४ र २०१५ को ब्याचका मर्कामा परेका विद्यार्थीलाई नेपालमै इन्टर्नको व्यवस्था गरेको थियो । 
चिकित्सा शिक्षा आयोगले आवेदन माग गर्दा एक सय ३६ जनाले आवेदन दिएका थिए । कोभिडको उच्च जोखिम रहेका वेला इन्टर्न गर्दै गरेका विद्यार्थीलाई समेत नेपाल ल्याइएको थियो । आयोगले टोली बनाएर २०१४ ब्याचको समस्या समाधान गरेको थियो । त्यतिवेला विश्वविद्यालयले नेपालमा इन्टर्न गरेकालाई पनि मान्यता दिने भएको थियो । त्यसपछि चीनका विश्वविद्यालयमा भर्ना भएका विद्यार्थीले नेपालमै इन्टर्नसिप गर्न पाउनुपर्ने माग गर्दै दबाब दिँदै आएका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment