फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा सफल परिक्षण उडान


इलाम । इलाम सदरमुकाममा रहेको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा बुधबार सफल परीक्षण उडान गरिएको छ । विमानस्थलको धावनमार्ग कालोपत्रे निमार्णको काम सम्पन्न भएपछि नेपाल बायुसेवा निगमको विमानले परीक्षण उडान गरेको हो । बिहान ९ः०७ मा उडेको 9N-AB विमान १०ः०४ बजे इलाम सदरमुकामको सुकिलुम्बा विमास्थलमा अवतरण गरेको थियो । पेम्बा शेर्पा र रसित मल्ल सहितको चालक दलले विमान इलाममा सफल अवतरण गरेको हो ।


आउँदो फागुन ८ देखि नियमित उडान हुन लागेको बिमानस्थलमा सफल परिक्षण भएको छ । यस अघि तारा एयरको बिमानले कच्ची धावनमार्गमा गत २०७५ सालको जेठमा पहिलो पटक सफल परिक्षण गरेको थियो । ७ सय मिटर लम्बाइ र ६० मिटर चौडाइको धावनमार्ग सहितको विमानस्थलको शिलान्यास २०६८ सालमा गरिएको थियो ।
यो विमानस्थल आउँदो फागुन १ गते पूर्वप्रधानमन्त्री झलनाथ खनालले उद्घाटन गर्ने भएका छन् । यो विमानस्थलबाट आउँदो फागुन ८ देखि इलाम–काठमाडौं नियमित उडान–अवतरण गरिँदैछ । इलाम नगरपालिकाले १२ उडानका लागि आर्थिकलगायत सबैजसो दायित्व बहनगरी विमानस्थल सञ्चालन गर्न लागेको हो । नगरपालिकाले तारा एयर प्रालिसँग उडानका लागि सम्झौता गरेको मेयर महेश बस्नेतले जानकारी दिए ।

अब ३ महिना प्रत्येक आइतबार इलाम–काठमाडौं उडान–अवतरण हुने जनाइएको छ । तारा एयरको १६ यात्रुु क्षमताको जहाज यहाँबाट चल्नेछ । इलाम–काठमाडौं एकतर्फी भाडा ८ हजार ७ सय रुपैयाँ तोकिएको छ । सम्झौताअनुसार यात्रु भएकामा बाहेक ११/११ जनाको आते–जाते भाडा इलाम नगरले नै तिर्नेछ ।
गत चैत अन्तिम साता नै विमानस्थल उडान–अवतरणका लागि तयार भएपनि उडान–अवतरण सुरु गर्नेबेला कोरोनाको महामारी रहेकाले एक वर्षपछि सुरु हुन लागेको हो । विमानस्थल निर्माणमा स्थानीयस्तरको करिब ४ करोड रुपैयाँ लगानी गरिएको नगरले जनाएको छ । विमानस्थल निर्माणका लागि अहिलेसम्म करिब २८ करोड रुपैयाँ खर्च भइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
समुद्र सतहबाट १ हजार १ सय ५० मिटर उचाइमा रहेको उक्त स्थानमा प्रायः घाम लागिरहने भएकोले विमानस्थलका लागि उपयुक्त भएको बताइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment