- मोहन प्रभाकर
हरेक तप्कामा बहसको बिषय बनिसकेको अमेरिकी सहयोग आयोजना एमसिसिले राजनीतिक वृत्तमा हलचल पैदा गरेको छ । अमेरिकी सहयोगसम्बन्धी एमसीसीको मुद्दा पेचिलो बन्दै गएको छ ।
कड़ा जनदवाब र बिरोधका सामना गरिरहेको एमसिसीको बिषयमा सत्ता गठबंधनका शीर्ष नेताहरुकै विचार आपसमा मेल नखाएपछि सत्ता समीकरण नै परिवर्तन हुन सक्ने सम्मको परिस्थिति सृजना भएको बुझिन्छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा कुनै हालतमा पनि एमसीसी पारित गर्ने पक्षमा उभिएपछि सत्ता गठबन्धनका घटक दलहरु नेकपा माओवादी केन्द्रका अध्यक्ष, पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष, माधवकुमार नेपाल अप्ठ्यारोमा परेका छन् ।
एमसीसी कुनै हालतमा पारित नहुने नेकपा एसका नेता झलनाथ खनालको भनाईले राजनीतिक तरंग ल्याइसकेको छ । प्रचण्डले राजनीतिक प्रतिवेदनमै एमसीसी यथास्थितिमा पारित गर्न नसकिने बताइसकेका छन् । अब प्रचण्ड र माधव नेपालले एमसीसी रोक्ने अन्तिम प्रयास थालिसकेका छन् ।
विश्वस्त स्रोतका अनुसार एमसीसी चुनावयता थाती राख्ने प्रचण्ड र माधव नेपालको प्रयासमा प्रधानमंत्री देउवा असहमत देखिन्छन् । उनी विकल्पसहित बढिसकेका छन् । प्रचण्ड र माधव नेपालले नमाने केपी शर्मा ओलीसँग हात मिलाउने प्रम देउवाको तयारी छ ।
देउवाले एमसीसीका लागि गठबन्धन नै तोड्न खोजेपछि प्रचण्ड र माधव नेपाल विकल्प निर्माणमा लागेका छन् । माओवादी अध्यक्ष प्रचण्डले बालुवाटारमा देउवालाई भेटेका छन् । उनले एमसीसी पारित गर्न संशोधनको शर्त राखेको बुझिएको छ ।
यता माधव नेपाललाई भेट्न कांग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाँड पुगेको खबर छ । मंत्री खाँडले एमसीसी पारित गरेमा मात्र गठबन्धन जोगिन सक्ने स्पष्ट बताएको बुझिएको छ ।
त्यसैले एमसीसी रोक्न प्रचण्ड र माधव नेपालका लागि फलामको च्युरा भइसकेको हो । देउवा अगाडि बढिसके पछि फर्कने सम्भावना लगभग छैन । अब प्रचण्डले एमसीसी रोक्न बिपक्षी दल एमालेको अध्यक्ष केपी शर्मा ओलीको साथ लिनेबाहेक अरु विकल्प देखिदैन । त्यो विकल्पमा पनि प्रचण्ड लागिसकेको विश्वस्त स्रोतले बताएको छ ।
0 comments:
Post a Comment