भारत भ्रमण : प्रधानमन्त्रीले ‘चुच्चे नक्सा’बारे कुरा उठाउने हिम्मत गर्लान् ?


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आगामी शुक्रबार तीनदिने भारत भ्रमणमा जाँदै छन् । प्रधानमन्त्री बनेको आठ महिनापछि देउवा भारत जाने चाँजोपाँजो मिलेको हो ।

यसअघि उनी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको गृह राज्य गुजरातमा हुन लागेको ‘भाइब्रेन्ट गुजरात समिट’ मा भाग लिन जान लागेका थिए । तर कोभिड–१९ का कारण उक्त कार्यक्रम अन्तिम समयमा आएर स्थगित भएको थियो ।

भारत भ्रमणको दोस्रो दिन नेपालका प्रधानमन्त्री देउवाले भारतका प्रधानमन्त्री मोदीसँग औपचारिक रुपमा द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । देउवाले उत्तर प्रदेशको धार्मिक सहर बनारसको पनि भ्रमण गर्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवालाई भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशमन्त्री एस जयशंकरले पनि भेट्ने कार्यक्रम रहेको छ । तर भारत भ्रमणमा नेपालले उठाउने एजेन्डा अहिलेसम्म तय भइसकेको छैन ।

एमसीसी संसदबाट अनुमादेन र चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणलगत्तै प्रधानमन्त्रीको भारत भ्रमण हुनु अर्थपूर्ण छ । भारतले नेपाल–भारत सीमा विवादका विषयमा ठोस छलफल अघि बढाउन आलटाल गरिरहेको बेला प्रधानमन्त्री देउवाको भारत भ्रमणलाई निकै चासोको साथ हेरिएको छ । र, देउवाले ‘चुच्चे नक्सा’बारे कुरा उठाउँछन् भन्ने अपेक्षा रहेको छ ।

यो भ्रमणलाई सीमा विवाद समाधानका लागि संवाद गर्ने महत्वपूर्ण अवसर पनि मानिएको छ । सन् २०१९ को नोभेम्बर पहिलो साता भारतले नेपाली भू–भाग कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरेर नयाँ नक्सा जारी गरेपछि दुई देशबीच विवाद हुँदै आएको छ ।

भारतले राजनीतिक नक्सा जारी गरेलगत्तै नेपालले वार्ताको प्रस्ताव गर्दै तीनवटा कुटनीतिक नोट पठाएको थियो । तर, भारतले नेपालको उक्त प्रस्ताव बेवास्ता गर्दै लिपुलेक हुँदै मानसरोवर जाने बाटो बनाउन थाल्यो ।

त्यसपछि नेपाल र भारतबीच झनै विवाद चर्कियो । प्रतिरक्षा गर्दै नेपालले पनि कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका भू–भागसहितको नयाँ नक्सा (चुच्चे नक्सा) जारी गरेर सर्वदलीय सहमतिको आधारमा संविधान संशोधन गर्यो । यसले झनै सीमा विवाद सतहमा आयो । भारतीय पक्षले नेपालको एकल निर्णय भन्दै यसको विरोध गरेपनि वार्तामा बस्ने हिम्मत गरेन ।

नेपाल र भारतबीच एक वर्ष कुनै संवाद भएन । नेपालले वार्ताको लागि कुटनीतिक नोट पठाएपनि कोरोना महामारीको कारण देखाउँदै भारतले टार्यो । २०७७ कात्तिक १९ गते भारतीय सेनापति मनोज मुकुन्द नरवणे तीन दिने नेपाल भ्रमणमा आएपछि संवादको ढोका खुल्यो । तर, अहिलेसम्म पनि उक्त विवादबारे छलफल हुन सकेको छैन ।

त्यसैले भ्रमणमा प्रधानमन्त्री देउवसामू थप जिम्मेवारी आइलागेको छ । हिजो विपक्षीमा हुँदा भारतले गरेको सीमा अतिक्रमणबारे अरूभन्दा एककदम अगाडि देखिएको कांग्रेस अहिले सत्तामा छ । र, सभापति कदेउवा प्रधानमन्त्री छन् । यही मैकामा प्रधानमन्त्री देउवाले मोदीसँग यो मुद्दाबारे कुरा उठाउने हिम्मत जुटाउनु सक्नुपर्ने नेपाल–भारतबारे जानकार बताउँछन् ।

यसबाहेकका प्रधानमन्त्रीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि गोरखपुरको हवाई रुटको अनुमति, डुबान समस्या, पञ्चेश्वरका पुराना मुद्दामा पनि नेपालले आफ्नो अडान स्पष्ट राख्ने आपेक्ष गरिएको छ । यो भ्रमण देशहितका लागि उपयुक्त अवसरमा परिणत गर्नुपर्छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment