अमेरिकी र चिनियाँ मन्त्रीको दक्षिण एशिया दौडधुपको अर्थ



काठमाडौँ — चीनका स्टेट काउन्सिलर तथा परराष्ट्रमन्त्री वाङ यी र राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपमन्त्री (अन्डर सेक्रेटरी) भिक्टोरिया नुल्यान्डले दक्षिण एशियाको भ्रमण टुङ्ग्याएका छन् ।
पाकिस्तानबाट गत म‌ंगलबार भ्रमण थालेका चिनियाँ परराष्ट्रमन्त्री वाङ अफगानिस्तान, भारत हुँदै नेपाल आएर आइतबार स्वदेश फर्किएका छन् ।
जबकी अघिल्लो शनिबार बंगलादेशबाट सुरु भएको अमेरिकी उपमन्त्री नुल्यान्डको भारत हुँदै गत बिहीबार श्रीलंका पुगेर भ्रमण सकिएको थियो । चिनियाँ विदेशमन्त्री वाङ बिहीबार अफगानिस्तानको सरप्राइज भ्रमण पुग्नुअघि नै अमेरिकी उपमन्त्री नुल्यान्ड कोलम्बोबाट बिदा भएकी थिइन् ।
एक महिनाअघि रुसले युक्रेनमाथि आक्रमण गरेपछि विकसित भएको नयाँ विश्व परिवेशमा प्रमुख दुई शक्तिराष्ट्रका मन्त्रीहरु दक्षिण एशियाली देशहरुको भ्रमण गरेर आफ्नो पक्षमा माहोल सिर्जना पार्ने कोसिस गरेका हुन् ।
अन्तर्राष्ट्रिय मामिलाका जानकारहरुले सामारिक प्रतिद्वन्द्वीता रहेका दुई शक्तिहरुको उच्च नेतृत्वले नयाँ विश्व परिवेशमा आफ्नो प्रभाव कम नहोस् भन्नका लागि दक्षिण एशियाको भ्रमण गरेको ठान्दछन् ।
‘अमेरिकाले आफूलाई दक्षिण एशियामात्रै नभएर एशियाकै रेजिडेन्ट पावर (स्थायी शक्ति) र चीनले आफूलाई रिइमर्जिङ पावर (पुनरोदय शक्ति) भन्छ’ सामारिक मामिलाका विज्ञ चन्द्रदेव भट्टले भने, ‘दुवैले यस क्षेत्रमा प्रभावका लागि आ-आफ्नै प्रकारका समूहहरु निर्माण गरिरहेका छन् । दुवैको यस क्षेत्रमा निकै प्रतिस्पर्धा रहेको छ । दुवै नयाँ परिस्थितिमा पनि यस क्षेत्रमा आफ्नो प्रभाव कम नहोस् भन्ने चाहन्छन् ।’
भट्ट चीन र अमेरिकाले आफ्नो प्रभाव बनाउन सार्कभित्रै पनि छुट्टै ब्लकहरु निर्माण गरेको विषयलाई प्रभाव विस्तार भन्दछन् । चीनले कोभिडकालमा गरिबी निवारणका लागि भारत बाहेकका दक्षिण एशियाली देशहरुको ब्लक बनाएको छ । अमेरिकाले भारत, अस्ट्रेलिया, जापानको ‘क्वाडिल्याटरल सेक्यूरिटी डाइलग’ (क्वाड) निर्माण गरेको छ ।
भट्ट दक्षिण एशियाका मुलुकहरुसँग सम्बन्ध सुधारको अर्को कारण करिब २ अर्ब जनसंख्या रहेको यस क्षेत्रको बजार हो । जुन बजार सहज हुने अपेक्षा राखेर पनि उनीहरु आफ्नो पक्षमा पार्न चाहन्छन् ।
अर्गनाइजेसन अफ इस्लामिक को-अपरेसन (आइओसी)को सम्मेलनमा सहभागी हुन गत मंगलबार पाकिस्तान पुगेका चिनियाँ परराष्ट्रमन्त्री वाङ त्यहाँको सैनिक र गैरसैनिक शीर्ष नेतृत्वसँग वार्ता गरेका थिए । त्यसलगत्तै विदेशमन्त्री वाङले अफगानिस्तान पुगेर गत अगस्टमा शासनमा पुगेको तालिबानसँग वार्ता गरेका छन् । बन्दुकको बलमा काबुल कब्जा गरेको तालिबानी सत्तालाई विश्वले मान्यता दिइसकेका छैनन् । तर अफगानिस्तानबाट अमेरिकाको फिर्तिअघि नै बेइजिङले तालिबानी वार्ता टोलीलाई रातो कार्पेट ओछ्यइसकेको थियो ।
वाङ भारत चीनबीच गलवान उपत्यकामा दुवै देशका सैनिकबीच हिंसात्मक भिडन्त भएको करिब २ वर्षपछि दिल्ली पुग्ने चीनका वरिष्ठ अधिकारी हुन् ।
अफगानिस्तानपछि गत बिहीबार साँझ चिनियाँ विदेशमन्त्री वाङ दिल्ली पुग्नुअघि नै भारतले ओआइसीमा कस्मिरको विषयमा व्यक्त गरेको कारणलाई लिएर आपत्ति जनाएको थियो ।
भारतले वाङको भ्रमणलाई अघोषित भनेको छ । भ्रमण पूर्वको अवस्थामा औपचारिक जानकारी गराइएको थिएन । भारतीय सञ्चार माध्यमहरुले स्रोतको हवाला दिँदै समाचारहरु लेखेका थिए ।
बिहीबार भारतीय विदेशमन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग मात्रै वाङको भेटवार्ताले पनि उनीहरुको बीचमा अझै चिसो सम्बन्ध देखाउँछ । वाङले प्रधानमन्त्री मोदीलाई भेट समेत पाएनन् । भारतीय सञ्चार माध्यमहरुले वाङले चाहाना व्यक्त गरेपनि भेट्न नपाएको बताएका छन् ।
बुधबार ओआईसीको कार्यक्रममा चिनियाँ विदेशमन्त्री वाङले व्यक्त गरेको धारणालाई लिएर आपत्ति जनाएको थियो ।
बिहीबार पनि भारतीय विदेशमन्त्री एस जयशंकरले भारतभित्र अहिलेको परिस्थिति बारेको भावनालाई व्यक्त गरेको बताएका छन् । ‘२०२० अप्रिलबाट चीनको तैनाथीको कारण टकराव र संघर्ष बढेको बेलामा दुई छिमेकीहरुबीच सामान्य सम्बन्धका लागि मेलमिलाप हुन सक्दैन’ भेटपछि भारतीय विदेश मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा विदेशमन्त्री जयशंकरले भने ।
जबकी चीन र भारतबीचको सम्बन्ध दीर्घकालीन अवधारणालाई ध्यानमा दिदै तीन बुँदे प्रस्ताव अघि सारेको थियो । दुवै देशले हात मिलाउँदा त्यसले यस क्षेत्र र बाहिर पनि शान्ति तथा स्थायीत्वका महत्वपूर्ण योगदान पुग्ने दाबी वाङले गरेका थिए ।
भारतसँग वाङले सीमा रहेको मतान्तरको विषय थाँती राखेर द्विपक्षीय सम्बन्धलाई अघि बढाउने, चीनले एक ध्रुवीय एशिया बनाउन नखोज्ने र यस क्षेत्रमा भारतको परम्परागत भूमिकालाई सम्मान गर्ने र दक्षिण एशियामा ‘भारत चीन प्लस’को सहकार्यको अवधारणालाई अघि बढाउने तथा त्यस सम्बन्धीका मोडल निर्माण गर्ने, भारत र चीनले धारणा राख्दा पुरै विश्वले ध्यानपूर्वक सुन्छ त्यस बहुपक्षीय मञ्चहरुमा एक प्रकारको धारणा लिएर सकारात्मक सन्देश दिने कुरा गरेको चिनियाँ परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भेटमा सीमा विवाददेखि अफगानितान हुँदै युक्रेनको अवस्थाको बारेमा समेत छलफल गरेको भएको थियो ।
अमेरिका बस्दै आएका लेखक अनिल सिग्देल भ्रमण अघि नै चीनले भारतसँग सम्बन्ध व्यवस्थापन गर्न चाहेको बताउँछन् । ‘अहिले अमेरिका र चीनबीचको प्रतिस्पर्धामा दुवै देश भारतलाई आफ्नो पक्षमा पार्ने प्रयासमा छन् । अमेरिकाको इन्डो प्यासेफिक स्ट्राटेजीको केन्द्रमा भारत रहेको छ । चीन पनि भारतसँग सम्बन्ध व्यवस्थापन गर्न चाहेको संकेत यसअघि नै दिएका हुन्’ सिग्देलले भने, ‘रुसको विषयमा भारत, बंगलादेश र श्रीलंका एकैतर्फ रहेका छन् । अमेरिकाको इन्डो प्यासेफिक स्ट्राटेजीमा अमेरिकाले तीनै देशको महत्वपूर्ण भूमिका देखेको छ । त्यसको केन्द्रमा भारत रहेको छ । चीन भारतसँग सम्बन्ध व्यवस्थापन गर्न चाहन्छ । त्यसको संकेत केही समयदेखि दिँदै आएका थिए ।’
‘इन्डिया इन द एरा अफ चाइनाज् बेल्ट एन्ड रोड इनिसिएटिभ’का लेखक सिग्देलले अमेरिकी राष्ट्रपति जो बाइडेनले हालै जारी गरेको न्यू इन्डो प्यासिफक स्ट्राटेजीमा दक्षिण एशियाका सबै कुनामा गतिविधि बढाउने उल्लेख रहेको बताउँछन् ।
अर्कोतर्फ चीन विरोधी मोर्चामा एउटै स्थानमा रहेको भारतबाट अमेरिकाले रुसको विषयमा खासै समर्थन प्राप्त गर्न सकेको छैन । उपमन्त्री नुल्यान्डले भ्रमण गरेका भारत, बंगलादेश र श्रीलंका राष्ट्र संघको आपत्कालीन महासभामा रुसी आक्रमणको निन्दा गर्न प्रस्तुत गरेको प्रस्तावको मतदानमा अनुपस्थित रहेका देश हुन् । तर बिहीबार राष्ट्रसंघको महासभामा रुसको नाम नलिइ युक्रेनमा भैरहेको आक्रमण रोक्नु पर्ने भन्दै फ्रान्स र मेक्सिकोले तयार पारेको प्रस्तावको पक्षमा बंगलादेशले मतदान गरेको थियो ।
भेटपछि अमेरिकी उपमन्त्री नुल्यान्डले गरेको सबै जस्तो ट्विटमा इन्ड्रो प्यासिफिक मात्रै नभएर रुसले युक्रेनमाथि गरेको आक्रमणको विषयमा कुराकानी भएको बताएकी छिन् ।
रुसले गरेको आक्रमणको प्रतिरोध गर्न युक्रेनलाई हतियार, आर्थिक सहयोग र अन्तर्राष्ट्रिय समुदायबाट रुसलाई एक्ल्याउने अभियानको नेतृत्व अमेरिकाले गर्दै आएको छ ।
‘अहिले अमेरिका युक्रेनको विषयमा बढी ध्यान दिइरहेको समयमा चीनले आफ्नो गतिविधिलाई अझै बढाएर लैजाने संकेत गरेको छ । दक्षिण एशियामा मात्रै होइन साउथ प्यासिफिकको सानो टापु राष्ट्रहरुमा पनि देखिन्छ’ सिग्देलले भने, ‘ओआईसी (अर्गनाइनेसन अफ इस्लामिक कोअपरेसन)को बैठकमा पनि पहिलो पटक सहभागी भयो ।’
सिग्देल मध्य एशियामा पुग्नका लागि भारतलाई पनि चीन र रुससँगको सम्बन्धलाई सहज बनाउनु पर्ने बाध्यतामा रहेको बताउँछन् ।
‘मध्य एशियाली देशहरुमा भारतको सहज पहुँचका लागि चीनसँग सम्बन्ध सुधार गर्न अहिले आवश्यक देखिन्छ,’ सिग्देलले भने, ‘पाकिस्तान पछिल्लो समयमा चीनको पोल्टामा गैसकेको कारणपनि बेइजिङसँग सम्बन्ध सुधार नहुँदासम्म भारतका लागि त्यस क्षेत्रमा जान सहज हुँदैन ।’
चीनले आफ्नो सम्बन्ध तीन प्रकारको सम्बन्ध राख्ने गर्दै आएको भट्ट बताउँछन् । ‘स्थानीय, राष्ट्रिय र क्षेत्रीयस्तरबाट कुनै पनि ठाउँमा खोज्ने गरेको छ,’ भट्टले भने । सिग्देल भने आगामी दिनमा यस क्षेत्रमा अझै प्रतिद्वन्द्वीता बढेको देखिने अनुमान गर्छन् । ईकान्तिपुर
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment