झापामा भारतबाट प्रहरीकै सेटिङमा विषादियुक्त तरकारी, फलफूल र माछा नेपाल भित्रिँदै


झापा, २९ फाल्गुन ः विषादि परीक्षणबिनै अवैध बाटोबाट फलफूल, तरकारी र माछा धमाधम नेपाल भित्रिरहेको छ ।


भारतबाट आयातित फलफूल, तरकारी र माछा नेपाल भित्र्याउँदा विषादि परीक्षण अनिवार्य गराउनुपर्ने हुन्छ । परीक्षण गरे पश्चात् भन्सारमा राजश्व तिरेर मात्र ती वस्तु नेपाल भित्र्याउने कानूनी व्यवस्था छ । तर, पछिल्लो समयमा भारतसँग जोडिएको भद्रपुर र मेचीनगरको अवैध बाटोहरूबाट प्रहरीकै मिलेमतोमा भारतबाट फलफूल, तरकारी र माछा नेपाली बजारमा आइरहेको छ ।
मेचीनगर–१५ स्थित कालिका चिया बगान नजिकको ९७÷१ नम्बरको सीमा पिलर, भद्रपुर–५ गणेश मन्दिर पूर्वको दोभान नजिकैको ९९ नम्बर सीमा पिलर, भद्रपुर–५स्थित देवीवस्ती नजिकैको १०० नम्बर सीमा पिलर र भद्रपुर–३ महेशपुरस्थित झोलुङ्गे पुल नजिकैको १०३देखि १०४ नम्बर सीमा पिलरबाट भन्सार छलेर साइकलका साइकल फलफूल, तरकारी र माछा भित्रिरहेको छ ।
भारतबाट साइकलमा ल्याएका व्यापारीहरूले फलफूल, तरकारी र माछा सीमा नाकासम्म ल्याएर त्यहाँबाट सिटी सफारी र ट्याम्पोमा हालेर भद्रपुर र चन्द्रगढीका साप्ताहिक बजारदेखि बिर्तामोडसम्म पु¥याउँदै आएका छन् । उनीहरूले सोमबार, बुधवार, शुक्रबार र शनिवारका दिन बिहानदेखि फलफूल, तरकारी र माछा ल्याउने गर्छन् ।
कालिका बगानमा सशस्त्र प्रहरीको बीओपी ज्यामिरगढीको टोली, घोडामारा प्रहरी चौकीको टोली खटिएको हुन्छ । भद्रपुरको देवीवस्ती नजिकै सशस्त्रको पोस्ट नै छ । झोलुङ्गे पुल नजिकै सशस्त्रको बीओपी मेचीपारि, मेचीपारि प्रहरी चौकी र महेशपुर प्रहरी चौकी पर्छ । स्रोतका अनुसार अवैध बाटोबाट फलफूल, तरकारी र माछा भित्र्याए बापत व्यापारीले सशस्त्र र नेपाल प्रहरीका इञ्चार्जलाई मासिक ५ हजारदेखि १०सम्म दिँदै आएको स्रोतले दावी गरेको छ ।
ड्युटीमा खटिएका प्रहरीले प्रतिसाइकल ५०देखि १०० रुपैयाँ रकम असुल्दै आएको बताइन्छ । प्रहरीको मिलेमतोमा अवैध बाटोबाट फलफूल, तरकारी र माछा भित्रिँदा यहाँका व्यापारी थप मारमा परेका छन् । भद्रपुरका तरकारी व्यापारी भन्छन्– विषादि परीक्षणबिनै अवैध बाटोबाट भित्र्याएको तरकारी र फलफूल सस्तो मूल्यमा बिक्री गर्दा हामी मारमा परेका छौँ । उनीहरूले सस्तो मूल्यमा बिक्री गर्न खोज्छन्, हामीले भन्सारबाट सबै प्रक्रिया पूरा गरेर भित्र्याउँदा उनीहरूसँग प्रतिस्पर्धा गर्न सक्दैनौँ । घाटामा व्यापार गर्नुपर्ने अवस्था आएको अर्का तरकारी व्यापारी पंकज कसेराले गुनासो पोखे ।
तरकारी व्यापारी दिलीप महतोले भने– ‘अवैध बाटोबाट होइन, भारतीय व्यापारीहरूले पनि भन्सारकै बाटो भएर तरकारी र फलफूल भित्र्याउनु प¥यो, त्यसमा यहाँका व्यापारीलाई आपत्ति हुँदैन ।’ भन्सार छलेर चोरी बाटोबाट तरकारी र फलफूल भित्र्याउने कार्य तुरुन्त प्रहरी, प्रशासनले बन्द गर्नुपर्ने उनको माग छ ।
यता प्रहरी कार्यालय झापाका एसपी विश्वमणि पोखरेलले विषादि परीक्षणबिना अवैध बाटोबाट तरकारी, फलफूल र माछा लगायतका सरसामान प्रहरीकै मिलेमतोमा भित्रिरहेको विषयमा आफूलाई जानकारी नभएको बताएका छन् । यस्तो कार्य तुरुन्त बन्द गराउन प्रहरी कार्यालयहरूका इञ्चार्जहरुलाई निर्देशन दिने बताउँदै एसपी पोखरेलले भने– ‘गलत क्रियाकलापमा लागेका प्रहरी कर्मचारीलाई विभागीय कारबाही गर्छाैं ।’
त्यस्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी प्रदीपजंग कार्कीले भन्सार छलेर र बिना परीक्षण तरकारी, फलफूल र माछा आयात गर्न पाइँदैन । त्यस्तो अवैध कार्य तुरुन्त रोक्न बीओपी इञ्चार्जहरुलाई निर्देशन दिने उनको भनाइ छ ।
भन्सार आउन छाड्यो तरकारी र फलफूल
कोरोना महामारीले भद्रपुर नाका करिब २० महिना ठप्प रह्यो । गत कात्तिक ११ गतेदेखि मात्र भद्रपुर–गलगलिया नाका सहज भएको हो । नाकाबाट आउजाउ सहज भए पनि व्यापारी र किसानले साइकलमा तरकारी, फलफूल र माछा भित्र्याउने कार्य भने बन्द छ । कोरोना अघि भद्रपुरको मेची पुलबाटै साइकलका साइकल तरकारी, फलफूल र माछा भित्रिन्थ्यो ।
सीमामा तैनाथ भारतीय एसएसबीले साइकलमा ती सामान नेपाल भित्र्याउन रोक लगाएको छ । भद्रपुरको मुख्य नाकाबाट साइकलमा तरकारी, फलफूल र माछा भित्रिन नदिएपछि भारतीय व्यापारी र किसानले प्रहरीसँग सेटिङ्ग मिलाएर अवैध बाटोबाट ती सामान भित्र्याइरहेका छन् । लामो समयदेखि भद्रपुर भन्सारमा तरकारी र फलफूल आयात नभएको भन्सार प्रमुख रामेश्वर मिश्रले जानकारी दिए ।
उनले भने– ‘भारतबाट आयात हुने तरकारी र फलफूलको विषादि परीक्षण अनिवार्य गराउनुपर्ने हुन्छ, विषादि परीक्षण पश्चात् मात्र भन्सारले ५देखि ८ प्रतिशतसम्म कृषि सुधार शुल्क लिएर तरकारी र फलफूलको जाँच पास गराउँछ ।’ सरकारले भन्सारमा ल्याउने सबै प्रकारका तरकारी र फलफूलमा हर्मोनाइजेशन कोड अन्तर्गतका वस्तु आयातका लागि एलसी खोल्दा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था राखिएको छैन ।
‘तर कानूनी प्रावधान चाहिँ झञ्झटिलो छ’– उनले भने– ‘भन्सार ल्याएका तरकारी र फलफूलको स्याम्पल लिएर पहिला खाद्य क्वारेन्टाइन काँकरभिट्टा जानुपर्छ, त्यसपछि विषादि जाँचका लागि बिर्तामोड जानुपर्ने हुन्छ ।’ त्यही भएर भद्रपुर भन्सारमा तरकारी र फलफूल नआएको उनले बताए । सरकारले एलसी खोल्दा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था लागू गरेपछि भारतबाट माछा आउन बन्द भएको छ । माछामा अनिवार्य एलसी लागू गरिएको उनको भनाइ छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment