झापा गोल्डकपः संकटालाई हराउँदै आयोजक झापा ११ फाइनलमा



झापा, फागुन २८ । घरेलु टोली झापा ११ पाँचौ झापा गोल्डकप फुटबल प्रतियोतिको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा संकटा क्लबलाई २–० ले हराउँदै झापाले फाइनलको यात्रा तय गरेको हो ।


झापाको जितमा विमल घर्तीमगरले दुई गोल गरे । उनले खेलको १६औँ र ५८औँ मिनेटमा गोल गरे । १६औँ मिनेटमा विमलले आन्द्रेस नियाको क्रसमा गोल गरे । यस्तै, ५८औँ मिनेट विकास मेरग्लियाको क्रसमा विमलले दोस्रो गोल गरे ।
जितसँगै झापाले फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबसँगको भेट पक्का गरेको छ । झापा गोल्डकपको फाइनलमा आर्मी र घरेलु टोली झापाको यो चौथो भेट हो । यसअघिको फाइनलम भएका तीनवटै भेटमा आर्मीले जित निकालेको थियो ।
झापाले केही अवसर पाए पनि सदुपयोग गर्न सकेन । ५५औँ मिनेटमा झापाका सत्यम शर्माको फ्रिकिक विपक्षी गोलरक्षक रोहित कार्कीले बचाए । ५८औँ मिनेटमा झापाका देवेन्द्र तामाङको हेडर पोस्ट नजिकबाट बाहिरियो ।
८७औँ मिनेटमा झापाका रुमेश बर्तौलाले गोल गर्न सकेनन् । विशाल राईको पासमा गोलरक्षकसँग वान भर्सेज वान रहेका बतौलाले बललाई जाली चुमाउन सकेनन् ।
संकटाले खेलको २३औँ मिनेटमा गणेश हमालले पेनाल्टी एरियाबाट गरेको प्रहार विपक्षी गोलरक्षक दीपक कार्कीले बचाए । ३०औँ मिनेटमा संकटाका यानिकले पेनाल्टी बक्सबाट गरेको प्रहार विश्वास श्रेष्ठले बचाए । ३२औँ मिनेटमा संकटाका कप्तान रवि सिलवालको फ्रिकिक प्रहार विपक्षी गोलरक्षक कार्कीले बचाए । ८१औँ मिनेटमा संकटाका दिपेश आलेमगरले पेनाल्टी एरियामा गरेको प्रहार विपक्षी गोलरक्षकले बचाउ गरे ।
खेलको अतिरिक्त समयमा फोडे फोफोनाले गरेको शक्तिशाली प्रहार झापाका गोलरक्षक कार्कीले बचाए ।
शनिबारको खेलको म्यान अफ दि म्याच विजयी टोली झापाका विमल घर्तीमगर घोषित भए । उनले नगद नौ हजार नौ सय ९९ पाए ।
फागुन २१ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल सोमबार हुनेछ । गोल्डकपको विजेताले विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख पाँच हजार रुपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउने छन् । उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई नगद २१ हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ ।
प्रतियोगिताको सर्वाधिक गोलकर्ताले नगद २५ हजार पाउनेछन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment