संखुवासभा जग्गा ठगी प्रकरण : वडाध्यक्ष किङसाङ भोटेसहित सात जना सार्वजनिक


सङ्खुवासभा । संखुवासभाको भोटखोला गाउँपालिका–४ की ७४ वर्षीया विममाया तामाङलाई जालसाझी गरेर जग्गा ठगी गर्ने सात जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाले शनिबार पत्रकार सम्मेल गरी जग्गा ठगी प्रकरणमा भोटखोला गाउँपालिका–४ का ३५ वर्षीय वडाध्यक्ष किङसाङ भोटेसहित सात जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।


अन्य पक्राउ पर्नेहरुमा ३० वर्षीय सुरेन्द्र तामाङ, २१ वर्षीया कल्पना भोटे, २० वर्षीया ङिमा लाजुङ भोटे, खाँदबारी नगरपालिका–१ घर भई मालपोत कार्यालय खाँदबारीका नायव सुब्बा ५१ वर्षीय महेन्द्र कुमार पराजुली, मकालु गाउँपालिका–४ घर भई लेखापढी व्यवसायी गर्ने ३५ वर्षीय अनिस गुरुङ र चैनपुर नगरपालिकाका ३५ वर्षीय पासाङ शेर्पा रहेका छन् ।

घटनाको विवरण अनुसार वडाध्यक्ष किङसाङ भोटेले विममायालाई बृद्धाभत्ताको कार्ड बनाइदिने भन्दै सदरमुकाम खाँदबारी ल्याई जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि बनाएर यही फागुन २ गते मालपोत कार्यालयमा स्व. दलबहादुर तामाङको नाममा रहेको सम्पूर्ण जग्गाहरु विममायाको नाममा नामसारी गराएका थिए ।
सोही दिन नामसारी गरिएका जग्गाहरुमध्ये २७५ र २८० कित्ता नम्बरको जग्गा आफन्तका नाममा नामसारी गरिएको थियो । जसमध्ये कित्ता नम्बर २७५ को जग्गा मालपोत कार्यालयका नायव सुब्बा महेन्द्र पराजुलीले आफ्नै घरमा कोठाभाडामा बस्दै आएका पासाङ शेर्पाको नाममा रजिस्टेशन पास गरेका थिए ।
त्यस्तै कित्ता नम्बर २८० को जग्गा वडाध्यक्ष भोटेको तर्फबाट कल्पना भोटे र सुरेन्द्र तामाङको तर्फबाट आफ्नै श्रीमति ङिमालाजुङ भोटेको नाममा संयुक्त रुपमा पास गरेका थिए ।
कल्पना भोटेको हकमा लेखापढी व्यवसायी अनिस गुरुङको नाममा वारेस पास भएको थियो । सम्पूर्ण कागजात लेखापढी गरे बापत गुरुङले अध्यक्ष भोटे मार्फत ९ हजार रुपैंया पारिश्रमिक स्वरुप लिएका थिए ।
विममाया तर्फका काम सकिएपछि सुरेन्द्रले सोही दिन २ गते राति १ बजेतिर विममायालाई घरमा पुर्याई बृद्धाभत्ता बापतको रकम भनी २० हजार रुपैंया र लालपूर्जासमेत दिएर सोही रात उनी खाँदबारी फर्किएका थिए । पासाङ शेर्पाको नाममा पास भएको जग्गा कित्ता नम्बर २७५ लाई पुनः फागुन १६ गते नायवसुब्बा पराजुलीले आफ्नै श्रीमति कविता पराजुलीको नाममा नामसारी गरेका थिए ।
उनीहरुले विममायालाई प्रलोभनमा पारी कीर्ते कागज समेत तयार पारी अपर अरुण जलविद्युत परियोजनाबाट ठूलो रकम मुआब्जा लिने प्रयोजनका लागि जग्गा ठगी गरेको बुझिएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment