मेची राजमार्ग : ठेकेदार बेपत्ता, सडक बन्द


झापा। ८ चैत्र अन्तर्गतको चारआली–केचना सडकखण्डको कालोपत्रे निर्माण कार्य अझै पूरा नहुँदा स्थानीयले सास्ती झेल्नु परेको छ ।
निर्माण कम्पनी कालिका, कनकाई र याक्थुमहाङ जेभीले ३० महिनामा सक्नुपर्ने सडक निर्माण कार्य अधुरो छाडेपछि भद्रपुरका धुलोपीडित स्थानीय फेरि आन्दोलित बनेका छन् ।
आन्दोलित धुलोपीडित स्थानीयले भद्रपुर नगरपालिका कार्यालयदेखि करिब २०० मिटर दक्षिण भानुचोकमा र संगमचोकमा बाँस तेस्र्याएर सडक अवरुद्ध गरेका थिए । सोमबार बिहान साढे ८ बजेदेखि सडक अवरोध गरेका कारण साना तथा ठूला सवारीसाधन वैकल्पिक बाटो प्रयोग गर्न बाध्य भए ।
भानुचोकदेखि संगमचोकसम्मको करिब ७ सय मिटर सडकमा नाला, सब वेस र बेस लगायतको काम लगभग सकिएको छ । कालोपत्रे हुन मात्र बाँकी छ । तर, निर्माण कम्पनीले कालोपत्रे बनाउन छाडेर सडक आसपासका स्थानीयलाई धुलो खुवाउन नछोडेपछि सडक अवरोध गर्नु परेको स्थानीय सुशान्त रायमाझीले बताए । भानुचोकका स्थानीयले यसअघि पनि कयौँपटक सडक अवरोध गरिसकेको र हालसम्म पनि सडक नबनेको भन्दै उनले गुनासो गरे ।
स्थानीयले सडक अवरोध गरेपछि घटनास्थल पुगेका प्रहरीले तेस्र्याएको बाँस हटाउन खोजेपछि दुवै पक्ष बीच वादविवाद भएको स्थानीय अनिता अधिकारीले बताइन् । ‘प्रहरीको काम सहजीकरण गर्ने हो’– उनले भनिन्– ‘एक्कासी आएर बाँस हटाउनु गलत भयो ।’ घटनास्थलमा ६ नम्बर वडाध्यक्ष प्रेम बरुवाल लगायतको उपस्थिति रहेको थियो ।
यता चारआलीदेखि केचनासम्मको ४० किलोमिटर कालोपत्रे सडक निर्माण कार्य अन्तर्गत ० देखि २० किलोमिटर सडक निर्माणको ठेक्का कालिका, कनकाई र याक्थुमहाङ जेभीले २०७३ साल असोज १७ गते ३० महिनामा काम सक्ने गरी सम्झौता गरी काम शुरु गरेको हुलाकी राजमार्ग आयोजना क्षेत्रीय कार्यालय इटहरीले जनाएको छ ।
६ घण्टापछि सडक सुचारु
धुलोपीडित स्थानीय र निर्माण कम्पनीका पक्ष बीच भद्रपुर नगरपालिकामा सहमति भएको छ । निर्माण कम्पनी पक्षका मेघराज भट्टराईले पाँच दिनभित्र कालोपत्रेको काम शुचारु गर्ने लिखित सहमति गरेपछि अवरुद्ध सडक स्थानीयले दिउँसो १ः३० बजे खुलाएको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक दलकुमार राईले जानकारी दिए ।
साथै काम शुचारु नभएसम्म बिहान बेलुका सडकमा पानी हाल्ने सहमति भएको उनले बताए । स्थानीयले सडक अवरोध गरेपछि मेयर जीवनकुमार श्रेष्ठ र उपमेयर चन्द्रामाया श्रेष्ठलाई प्रहरी निरीक्षक राईले घटनास्थलबाटै सडक खुलाउन सहजीकरणको लागि आग्रह गरेका थिए । त्यसपछि निर्माण पक्षका भट्टराई सम्पर्कमा आएका थिए ।
निर्माण कम्पनी मुख्य ठेकेदार नै सम्पर्कविहीन
हुलाकी राजमार्ग आयोजना क्षेत्रीय कार्यालय इटहरी अन्तर्गतको फिल्ड कार्यालय झापाबाट अवरोध पु¥याएको सडक निर्माणमा कुनै पनि समस्या नरहेको सव इञ्जिनियर सीताराम मण्डलले प्रष्ट्याएका छन् । निर्माण कम्पनीका ठेकेदार तेज कुरुवाङ आयोजनाको सम्पर्क नआउँदा समस्या उत्पन्न भएको सवइञ्जिनियर मण्डलले बताए ।
करिब दुई महिनादेखि कालिका, कनकाई र याक्थुमहाङ जेभीले लिएका सबै काम बन्द छन् । निर्माण कम्पनीलाई दुई महिनाअघि आयोजनाले बिल भुक्तान गरी सकेको छ । निर्माण कम्पनीले सामग्री बिक्रेतालाई पूरा भुक्तानी नदिएको र सोही विषयमा दुवै पक्षबीच विवाद हुँदा सबै कर्मचारी काम छाडेर गएको कम्पनीका साइड इञ्चार्ज केवी श्रेष्ठले आयोजनालाई जानकारी गराएका छन् ।
भुक्तानी नदिएसम्म कुनै पनि साइडमा काम गर्न नदिने बिक्रेता पक्षले निर्माण कम्पनी पक्षलाई चेतावनी दिएको जानकारी आएपछि फिल्ड कार्यालय झापाका इञ्जिनियर प्रमोद खतिवडाले पटक–पटक निर्माण कम्पनीलाई काम पूरा गर्न लिखित र मौखिक आदेश दिइसकेका छन् ।
तर पनि ठेकेदार कुरुवाङले निर्माण कार्यलाई तीव्रता दिलाउन कुनै चासो नदेखाउँदा अहिले आएर यस्तो समस्या उत्पन्न भएको सवइञ्जिनियर मण्डलको भनाइ छ । ‘यसमा हुलाकी आयोजनाको कुनै गल्ती छैन, पैसाको समस्या पनि छैन, निर्माण कम्पनी नै सम्पर्क नआउँदा समस्या भयो’– उनले भने । कालिका, कनकाई र याक्थुमहाङ जेभीले भद्रपुरको मेची पुलदेखि झापाचोकसम्म र राजगढमा पनि सडक निर्माणको ठेक्का लिएको छ । अहिले त्यो दुवै काम पनि दुई महिनादेखि ठप्प छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment