म्यादी प्रहरी बन्न झापामा झण्डै तीन गुणा बढीको आवेदन


झापा,  १२ चैत्र: आसन्न निर्वाचनलाई लक्षित गर्दै सरकारले म्यादी प्रहरी भर्ना अभियान शुरु गरेसंगै झापामा आठ हजार ४ सय ३९ जनाको आवेदन दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक वशन्त पाठकका अनुसार २ हजार ७ सय ६४ जना म्यादी प्रहरी झापाका लागि आवश्यक भएपनि झण्डै तीन गुणा बढीको आवेदन परेको हो ।

म्यादी प्रहरी बन्नका लागि एक हजार ९ सय ८६ जना महिला र ६ हजार ४ सय ५३ जना पुरुषले आवेदन दिएका हुन् । सरकारले म्यादी प्रहरीका लागि एक सातासम्म आवेदन दिन सकिने भन्दै देशभरका ७७ वटै जिल्ला प्रहरी कार्यालयमार्फत सार्वजनिक सूचना जारी गरेको थियो ।

यसपटक पनि म्यादी प्रहरी नेपाल प्रहरीको मातहतमा रही ४० दिन खटिनेछन् । छनौट समितिले आवेदकहरुबाट योग्य व्यक्ति छानेपछि एक साता तालिम दिइनेछ । त्यसपछि उनीहरुलाई काममा खटाइनेछ । म्यादी प्रहरी छनौटका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ६ सदस्यीय समिति बनाइएको छ ।

समितिमा जिल्ला प्रहरी कार्यालयका प्रमुख, नेपाली सेना र सशस्त्र प्रहरी बलको राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत, राष्ट्रिय अनुसन्धान विभागका अधिकृत र जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वा प्रहरी निरीक्षक सदस्य सचिव रहने प्रावधान छ ।

चैत ११ गतेसम्म म्यादी प्रहरीका लागि आवेदन दिन सकिने व्यवस्था अनुसार ११ गतेसम्म भरेकाहरुको छनौट १५ गतेबाट गरिने जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवत्ता समेत रहेका प्रहरी नायव उपरीक्षक पाठकले बताए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment