बिदाइ हुँदै भारतीय विदेशसचिव क्वात्राले भने– नेपाल सधैँ प्राथमिकतामा रहनेछ , हृदयमा रहने छ


काठमाडौं ।भारतका नवनियुक्त विदेशसचिव एवं नेपालका लागि राजदूत विनयमोहन क्वात्राले नेपाल सधैँ आफ्नो प्राथमिकतामा रहने बताएका छन् । विदेशसचिव नियुक्त भएपछि कार्यभार सम्हाल्न दिल्ली जानुअघि आफ्नै निवासमा मंगलबार आयोजित जलपान समारोहलाई सम्बोधन गर्दै क्वात्राले दुई देशबीचको सम्बन्ध सुदृढ गर्न थप भूमिका खेल्ने पनि वचन दिएका छन् ।


विगतमा सार्क सचिवालयमा निर्देशकका रूपमा र अहिले राजदूतका रूपमा दुई वर्ष नेपालमा व्यतित गरेका क्षण आफ्ना लागि सधैँ यादगार रहने क्वात्राको भनाइ थियो । उनले दुई देशबीच आर्थिक एजेन्डा, कनेक्टिभिटी र सांस्कृतिक क्षेत्रमा सहकार्यको थप सम्भावना खोजी गर्नुपर्ने पनि बताए । उनको बिदाइ समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले उपाध्यक्ष सुवास नेम्वाङ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत भारतीय राजदूतावास पुगेका थिए । नेपालस्थित विदेशी राजदूत एवं कूटनीतिक प्रतिनिधि, विभिन्न दलका नेता, मन्त्रीहरू पनि विदाइ समारोहमा सहभागी थिए ।
प्रधानमन्त्री र शीर्ष नेतालाई सँगै राखेर विदेश सचिव क्वात्राले विदेश सचिव रहे पनि आफूलाई विगतकै मित्रका रूपमा बुझ्न र दुई देशबीचका कुनै पनि विषयमा छलफल गर्नुपरेमा सम्पर्क गर्न आग्रह गरे । ‘म १५ वर्षअघि नेपाल आउँदा जे थिएँ, अहिले पनि उही छु, र नयाँ भूमिकामा पनि उही रहनेछु । नेपालका मित्रहरू ‘नेपालसँग मेरो र मेरो परिवारको गहिरो सम्बन्ध रहिरहनेछ । म फरक भूमिकामा जाँदै छु जहाँ नेपाल मेरो प्राथमिकतामा रहनेछ, मेरो हृदयमा रहनेछ,’ भावुक हुँदै क्वात्रबाले भने, ‘नेपालबाट विदाइ हुँदै गरेकोमा मेरो हृदय भारी भएको छ । मेरो घर नेपालका मेरा मित्रहरूका लागि सधैँ खुला हुनेछ ।’ राजदूतका रूपमा दुई वर्ष रहँदा नेपाली शीर्ष नेताले दिएको सद्भावबाट आफू प्रभावित भएको पनि उनको भनाइ थियो । राजदूत क्वात्राले प्रधानमन्त्री देउवाको चैत १८ देखि २० सम्मको भारत भ्रमण विशेष भएको पनि उल्लेख गरे । देउवाको वाराणसी भ्रमण दुई देशको सम्बन्धमा थप महत्वपूर्ण भएको भन्दै उनले प्रशंसा गरे ।
विदेशसचिव क्वात्राले मंगलबार परराष्ट्रमन्त्री डा नारायण खड्कासँग विदाइ भेट गरेका थिए । राजदूतको कार्यकालका रूपमा क्वात्राले नेपाल – भारत सम्बन्ध थप सुदृढ गर्न भूमिका निर्वाह गरेको भन्दै खड्काले उनको प्रशंसा गरेका थिए ।
विदेशसचिव क्वात्राले १८ दिनपछि दिल्लीस्थित विदेश मन्त्रालयमा कार्यभार सम्हाल्दै छन् । उनी यही साता दिल्ली जाने तयारीमा छन् । नेपालमा राजदूत रहेकै बेला विदेश सचिव भएका उनी दोस्रा भारतीय कूटनीतिज्ञ हुन् । क्वात्राभन्दा अघि श्यामशरण नेपालका लागि राजदूत रहेकै बेला भारतीय विदेश सचिव नियुक्त भएका थिए । नेपालमा राजदूत भएका महाराजकृष्ण रसगोत्रा पनि विदेश सचिव भएका थिए । तर, उनी नेपालबाट दिल्ली फर्केर विभिन्न भूमिका निर्वाह गरेपछि राजदूत भएका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment