इलाममा साविककै उम्मेदवारको दबदबा


इलाम, १० बैशाखः स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ता मितिको संघारमा इलामका राजनीतिक दलहरु आफ्ना उम्मेदवारको अन्तिम नाम टुङ्गो लगाउन जुटेपनि जिल्लाका ठूला दलहरु नेकपा एमाले र नेपाली कांग्रेसले आधिकारिक उम्मेदवारको नाम सर्वजनिक गरिसकेका छैनन् । नेकपा एमालेले जिल्लाका ८१ वटै वडाका वडाध्यक्षसहितको नाम फाइलन भइसकेको बुझिएको छ । यसअघि सूर्योदय, देउमाई, रोङ र माङ्सेबुङ गाउँपालिकाका प्रमुख र उप–प्रमुखहरुको नाम सर्वसम्मत ढंगले एमालेले टुङ्ग्याएको थियो ।
आधिकारिक उम्मेद्वार सार्वजनिक नभएपनि काङ्ग्रेसमा पनि अधिकाँश पालिकाका उम्मेदवारका नाम बाहिर आउन थालेका छन् । गठबन्धन र प्रतिपक्षी एमालेबाट चर्चामा आएका अधिकाँश नाम यसअघि (२०७४ को स्थानीय तह निर्वाचन)कै उम्मेदवार हुन् । फरक यतिमात्रै हो, कसैले जितेका र कसैले हनरेका थिए ।
अहिले एमालेबाट उम्मेद्वार बनाइएका सन्दकपुर गाउँपालिकाका उदयबहादुर राई र शोभा पराजुली २०७४ मा एमालेबाटै विजयी प्रमुख र उपप्रमुख हुन् । फाकफोकथुम गापामा एमालेबाट उम्मेदवार प्रमुखमा दिपेन्द्र खनाल र उपप्रमुखमा कल्पना राई मध्ये खनालले यसअघि प्रमुखमै उठेर हारेका हुन् । माइजोगमाई गापामा एमालेले उठाएका प्रमुखमा कुशबहादुर थेवे र उपप्रमुखमा सावित्रा भट्टराईमध्ये भट्टराई एमालेबाटै २०७४ मा विजयी उपप्रमुख हुन् ।
एमालेले सूर्योदय नपाको प्रमुखमा काजीमान कागते र उप–प्रमुखमा २०७४ मा पनि एमालेबाटै उपप्रमुख जितेकी दुर्गादेवी भट्टराई उम्मेद्वार बनाउने भएको छ । त्यस्तै देउमाइ नपाको प्रमुखमा सूर्य पोख्रेल र उप–प्रमुखमा पविमाया राई तथा माङसेबुङ गापाको प्रमुखमा हेमन्त राई र उपप्रमुखमा सुनिता योङ्गहाङ्गको नाम एमालेबाट उम्मेदवारमा छ । उनीहरू चारै जना २०७४ मा पनि एमालेबाट तिनै पदमा उम्मेद्वार थिएभने हेमन्तबाहेक सबै विजयी भएका थिए ।
माई नपामा प्रमुखको चर्चामा रहेकामध्येका दिपक थेवे र उपप्रमुखको चर्चामा रहेकामध्ये बिष्णुमाया आचार्य पनि २०७४ मा एमालेबाटै विजयी प्रमुख उपप्रमुख हुन् ।
नेपाली काँङ्ग्रेसबाट चर्चामा रहेका उम्मेदवारहरु पनि धेरैजसो २०७४ मा उम्मेद्वार बनिसकेका छन् । माङ्सेबुङ गापामा अहिले प्रमुखको उम्मेदवार बन्दै गरेका डिकेन्द्र इदिङ्गो र रोङ गापामा प्रमुखको उम्मेदवार बन्दै गरेका सम्शेर राई २०७४ मा काङ्ग्रेसबाटै सोही पदमा विजयी भएका हुन् ।
गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीका भागमा परेका दुई पालिकामासमेत समाजवादीले पुरानै अनुहारलाई उम्मेदवार बनाएको छ । सो पार्टीले सूर्योदय नपा र माईजोगमाई गापामा यसअघि एमालेबाट विजयी बनेका बर्तमान प्रमुखहरू क्रमशस् रणबहादुर राई र जीतबहादुर राईलाई नै प्रमुखमा उठाउने तयारी गरेको हो ।
एमालेले यसपटक रोङको प्रमुखमा मेहेरमान तामाङ र उपप्रमुखमा विष्णुमाया भुजेललाई उम्मेद्वार बनाउने चर्चा छ । इलाम नपामा अहिले सम्म प्रमुखमा धिरेन चेम्जोङ, नरेन्द्रनाथ भट्टराई र कृष्ण श्रेष्ठ तथा उप–प्रमुखमा सीता रिजाल, शारदा उप्रेती र विद्या सापकोटाले दाबी गरिरहेकाले टुङ्गो लागेको छैन । उता माई नगरपालिका प्रमुखमा दिपक थेवे र खम्बासिंह लिम्बू तथा उप–प्रमुखमा विष्णुमाया आचार्य र हिमा भण्डारी बीच पनि कस्ले टिकट पाउने भन्ने टुङ्गो हुन बाँकी छ ।
चुलाचुली गापामा ओम नारायण खनाल र अनुप अधिकारीले प्रमुखमा दाबी छाडेका छैनन् भने उपप्रमुमा दिलु लावतीको नाम पक्का जस्तै भएको एमाले स्रोतले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment