२५६६औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस भव्य रूपमा मनाउने तयारी

१० बैशाख २०७९, शनिबार

रुपन्देही । लुम्बिनीमा २५६६औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस भव्यताका साथ मनाउने तयारी गरिएको छ ।
हरेक वर्ष वैशाख शुक्ल पूर्णिमा अर्थात् भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिएका सिद्धार्थ गौतमप्रति श्रद्धा व्यक्त गरी बुद्धजयन्ती मनाइन्छ । कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण विगत दुई वर्षदेखि स्थगित हुँदै आएको बुद्धजयन्ती तथा लुम्बिनी दिवस यसपटक विभिन्न कार्यक्रम गरी भव्यताका साथ मनाउने भएको लुम्बिनी विकास कोषले जनाएको हो ।
‘संसारमा दुःख छ र दुःख हटाउन सके निर्वाण वा शान्ति प्राप्त हुन्छ’ भन्ने ज्ञानका प्रवर्तक गौतम बुद्धको जन्मजयन्ती बुद्ध पूर्णिमा वा वैशाख पूर्णिमाका दिन विश्वभर मनाइन्छ । विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रूपमा लिने गरेका छन् । यसपटक बुद्धजयन्तीका अवसरमा बुद्धजन्मस्थल तथा देवदह र कपिलवस्तुको तिलौराकोटमा तीन दिनसम्म विशेष कार्यक्रम गरिने लुम्बिनी विकास कोषका कोषाध्यक्ष तथा प्रचारप्रसार उपसमितिका संयोजक ढुण्डिराज भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार बुद्धजयन्ती तथा लुम्बिनी दिवसका अवसरमा जेठ १ गते गौतमबुद्धको मावली देवदह तथा अस्तुधातु राखिएको स्थल नवलपरासीको रामग्राममा विशेष कार्यक्रम गरिनेछ । जेठ २ गते बुद्धजयन्ती विशेष समारोह लुम्बिनीमा आयोजना हुनेछ । लुम्बिनीमा आयोजना हुने मूल समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई निमन्त्रणा गर्ने कार्यक्रम छ । जेठ ३ गते बुद्धले २९ वर्ष बिताएको पवित्रस्थल कपिलवस्तुको तिलौराकोटमा रथयात्रा गर्ने कार्यक्रम छ ।
बुद्धजयन्ती तथा लुम्बिनी दिवस मनाउन विकास कोषले रु एक करोड बजेट व्यवस्थापन गरेको संयोजक भट्टराईले बताउनुभयो । बुद्धजयन्ती तथा लुम्बिनी दिवस मनाउनका लागि विभिन्न उपसमिति बनाएर तयारी थालिएको विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताउनुभयो । कोरोना महामारीका कारण दुई वर्षसम्म बुद्धजयन्ती मनाउन नपाएकाले यसपटकको कार्यक्रम विशेष हुने उहाँको भनाइ छ ।
बौद्ध ग्रन्थका अनुसार इ.पू ६२३ को वैशाख पूर्णिमाको दिन कपिलवस्तुका राजा शुद्धोदनकी रानी मायादेवी आफ्नो माइती देवदह जाने क्रममा लुम्बिनी उद्यान आइपुगेपछि सिद्धार्थ गौतमको जन्म भएको थियो । लुम्बिनी उद्यानमा गौतम बुद्धको जन्म भएपछि माइती जान हिँडेकी मायादेवीलाई शाक्य र कोलियवंशका भद्रभलाद्मीको उपस्थितिमा लावालस्कर, बाजागाजा र खुसियालीसहित लुम्बिनीबाट तिलौराकोट फर्काइएको थियो । बालक सिद्धार्थलाई रथयात्रासहित कपिलवस्तु फर्काइएको सोही दिनको सम्झनामा लुम्बिनी विकास कोषले बुद्धजयन्तीको अर्को दिन लुम्बिनीदेखि तिलौरोकोटसम्मको रथयात्रा कार्यक्रम गर्दै आएको छ ।
राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रूपमा वैशाख शुक्ल पूर्णिमाका दिन रुपन्देहीको लुम्बिनीमा जन्मिएका सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा घरबार त्यागेर ज्ञानको खोजीमा लागेका थिए । छ वर्ष ध्यानपछि ३५ वर्षको उमेरमा भारतको बोधगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन बुद्धत्व प्राप्तिपछि भगवान् बुद्धका रुपमा उनले विश्व प्रसिद्धि पाए । छत्तीस वर्षको उमेरमा सारनाथमा उहाँले पहिलोपटक पाँच शिष्यलाई प्रवचन दिनुभएको थियो जसलाई ‘धर्मचक्र प्रवर्तन’ भनिन्छ ।
बुद्धले चार आर्य सत्य, आर्य अष्टाङ्गिक मार्ग, प्रतीत्यसमुत्पाद र पञ्चशीलको उपदेश दिएका छन् । चार आर्य सत्यमा, संसार दुःखमय छ, दुःखको कारण छ, दुखःको नाश सम्भव छ र दुःख नाशका उपायबारे बुद्ध दर्शनमा व्याख्या गरिएको छ । आर्य अष्टाङ्गिक मार्गमा सम्यक दृष्टि, सम्यक सङ्कल्प, सम्यक वचन, सम्यक कर्म, सम्यक जीविका, सम्यक व्यायाम, सम्यक स्मृति र सम्यक समाधि पर्छन् । बौद्ध दर्शनको आधारशीला प्रतीत्यसमुत्पाद हो ।
हेतुफलवादका अनुसार कुनै पनि कार्य हुनका लागि कारण चाहिन्छ । यस सिद्धान्तअनुरुप नै मानिसको जन्म मरणको चक्र चलिरहन्छ जसलाई प्रतीत्यसमुत्पाद चक्र भनिन्छ । यस चक्रमा अविद्या (अज्ञानता), संस्कार, विज्ञान (चेतना), नामरुप (मन र शरीर), षडायतन, स्पर्श, वेदना, तृष्णा, उपादान, भव (अस्तित्व), जाति (जन्म) र जरामरण पर्दछन् । यी कडीहरु मिलेर बनेको चक्र चलिरहँदासम्म मानव जीवनले दुःखबाट मुक्ति पाउन सक्दैन । दुःख मुक्तिका लागि यस चक्रलाई नै रोक्नु जरुरी हुन्छ । यस्तै बौद्ध दर्शन अनिश्वरवाद, अनात्मवाद र क्षणिकवाद गरी मुख्य तीन सिद्धान्तमा आधारित रहेको मानिन्छ । बुद्धले दिनुभएका उपदेशहरुलाई सुत्तपिटक, विनयपिटक र अभिधम्मपिटक गरी तीन ग्रन्थमा विभाजन गरिएको छ ।
सुत्तपिटक बौद्ध भिक्षुहरुको पहिलो सङ्गिती (सम्मेलन) बाट बुद्धको निर्वाणकालमा नै बुद्धका शिष्य भिक्षु आनन्दद्वारा तयार गरिएको यस पिटकमा बुद्धका उपदेशहरु रहेका छन् । विनयपिटकमा भिक्षुभिक्षुणीहरुका लागि बनाइएका नियम छन् भने अभिधम्मपिटकमा दार्शनिक विचारहरुको सङ्ग्रह गरिएको छ । यसैगरी पञ्चशीलमा चोरी नगर्नु, झुठो नबोल्नु, यौन व्यभिचार नगर्नु, मद्यपान नगर्नु र हिंसा नगर्नु रहेका छन् । मानव समुदायका लागि आवश्यक यी उपदेश दिएकैले बुद्धलाई एशियाका तारा उपाधिले पनि सम्मान प्रकट गरिन्छ ।
बुद्धले ध्यान र चिन्तनद्वारा निष्कर्ष निकाली प्रतिपादन गरेका धर्म (दर्शन) का बारेमा विभिन्न स्थानमा उपदेश दिएर ४५ वर्ष बिताउनुभयो । बुद्धले ५० वर्षको उमेरमा भारतको कुशीनगरमा महापरिनिर्माण प्राप्त गर्नुभयो । हिन्दूदर्शनले बुद्धलाई विष्णु भगवान्को नवौँ अवतार मान्दछ । यसैकारण वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धलाई पूजा गरी बुद्धजयन्ती मनाउछन् । नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्छन् ।
विसंं २००८ जेठ ८ गते बुद्धजयन्तीका दिनदेखि यस पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिन थालिएको हो । विसं २०१२ फागुन ७ गते लुम्बिनीमा बुद्धजयन्तीका दिन हत्या, हिंसामाथि प्रतिबन्धको घोषणा गरिएको थियो । विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्मजयन्तीका दिन संयुक्त राष्ट्रसङ्घीय प्रणालीमा पनि सन् २००२ देखि सार्वजनिक बिदा दिइँदै आएको छ ।
संसारभरिका बौद्धमार्गीलगायत शान्तिप्रेमी सबै मानिसबीच विश्व शान्तिको मुहानका रुपमा प्रसिद्ध लुम्बिनी सन् १९९७ देखि विश्वसम्पदा सूचीमासमेत सूचीकृत गरिएको थियो । हरेक वर्ष संसारभरबाट लाखौँको सङ्ख्यामा तीर्थालु पर्यटक तथा अध्येता लुम्बिनीको भ्रमण गर्छन् । त्यसबाहेक बुद्धले २९ वर्ष बिताएको तिलौराकोट दरबार क्षेत्रमा पनि पर्यटकको सङ्ख्या बढ्न थालेको छ । पटकपटक भएका उत्खनन् र खोज अनुसन्धानबाट तिलौराकोट नै राजा शुद्धोधनको दरबार भएको प्रमाणित भएपछि विकास कोष र नेपाल सरकारले तिलौराकोटलाई पनि विश्वसम्पदा सूचीमा सूचीकृत गर्न सिफारिस गरेको छ । अब छिट्टै तिलौराकोट दरबार क्षेत्र पनि विश्वसम्पदा सूचीमा सूचीकृत हुने अपेक्षा गरिएको लुम्बिनी विकास कोषका प्रमुख सूचना अधिकृत हरिध्वज राईले बताउनुभयो ।
हरेक पूर्णिमामा मायादेवी मन्दिर परिसरमा दीप प्रज्वलन गर्ने प्रचलन छ । बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण पूर्णिमा तिथिमा परेका कारण यो दिन विशेषरुपमा पूजा अर्चना गर्ने र दीप प्रज्वलन गर्ने गरिन्छ । भिक्षु, गुरुआमा, उपासक र उपासिकाले हरेक महिनामा पर्ने पूर्णिमामा मायादेवी मन्दिरमा आएर दीप प्रज्वलन गरी बुद्धको सम्झना गरी विश्वशान्तिको कामना गर्ने गर्दछन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता