नागरिक उन्मुक्ति पार्टीमा विभिन्न दलका ३० कार्यकर्ता प्रवेश


स्थानीय चुनाव नजिकिदै गर्दा रेशम चौधरीले नेतृत्व गरेको पार्टी ‘नागरिक उन्मुक्ति पार्टी’मा विभिन्न दल परित्याग गरी प्रवेश गर्नेको संख्या बढ्न थालेको छ। बुधबार ३० जना नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन्। 

वरिष्ठ नेता योगेन्द्र घिसिङले नागरिक उन्मुक्ति पार्टीको आन्दोलन र उद्देश्य सफल बनाउनको निम्ति विभिन्न नेताहरु आफ्नो पार्टीमा प्रवेश गर्न लागेको बताए। नेपालमा राजनीतिक दलको संख्या उल्लेख्य भएको भन्दै अन्य पार्टीका बीच आफ्नो पार्टी फरक पहिचानसहित स्थापना भएको स्पष्ट पारे।

सांसद रेशम चौधरी नेपालको राजनीतिको पूर्वाग्रही ढंगका कारण कारागारमा बस्न परेको बताए। उनले चौधरीको स-सम्मान रिहा हुनुपर्नेमा जोड दिए। जनताबाट निर्वाचित प्रतिनिधि जेलमा बस्न आवश्यक नरहेको पनि उनले दाबी गरे। घिसिङले चौधरी हत्याकाण्डको योजनाकार नभएको भन्दै खण्डनसमेत गरेका थिए।

उनले भने,‘राजनीतिक घटनाको कारण घटनामा सम्लग्न नभएका व्यक्ति चौधरीलाई आज बन्दी बनाएर राखिएको छ। नेताहरुलाई मन नपर्दा वित्तिकै थुनामा राख्न मिल्छ?’

केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले पार्टी प्रवेश गरेका सबैलाई स्वागत गर्दै बधाइ दिएकी थिइन्। उनले सबैलाई मानिसहरुलाई सामाजिक न्यायको आवश्यकता रहेको औंल्याइन्। उनले भनिन्,‘कसैलाई रात नबित्दै न्याय र कसैलाई ७ वर्ष बित्दासमेत अन्याय’यो कस्तो शासन हो।’ मानिस जस्तोसुकै अवस्थामा भएपनि विचार कहिल्यै नमर्ने उनको भनाइ थियो।

नवप्रवेशी इन्जिनियर महेन्द्र उपाध्यायले नेपालमा धेरै पार्टी रहे पनि विभिन्न काण्डमा मुछिएकाले आफूले निष्पक्ष पार्टी नागरिक उन्मुक्ति रोजेको सुनाए। त्यस्तै नवप्रवेशी चन्द्रबहादुर स्याङतेनले आफू मजदुरको हकहितको लागि काम गर्दै आएको बताए। पार्टीमा महेन्द्र उपाध्याय, चन्द्रबहादुर स्याङतेन, दिनेश चौधरी, प्रवेश घिसिङ, लक्षीराम चौधरी, विवेक यादव, दयाराम चौधरी, राम चौधरी, रमण चौधरीलगायत थुपैको संख्यामा प्रवेश गरेका हुन्।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment