इलाममा ६ महिला निर्विरोध निर्वाचित


आउँदो स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका ६ जना महिला प्रतिनिधिहरु निर्विरोध निर्वाचित भएका छन् । तीन दलित महिला प्रतिनिधि र अन्य तीन महिला गरि ६ जना निर्विरोध निर्वाचित भएका हुन् ।

देउमाई नगरपालिका १ को दलित महिला सदस्यमा नेकपा (एमाले)की विष्णुमाया दियाली निर्वाचित भइन् । यो पदमा नेपाली काङ्ग्रेसबाट उम्मेदवारी दिएकी रमिला बराइली स्वास्थ्य स्वयंसेविका भएपनि राजीनामा नगरी उम्मेदवारी दिएकाले उनको उम्मेदवारी रद्द भयो । नेकपा (एकीकृत समाजवादी) बाट उम्मेदवार बनेकी गंगा दियालीले उम्मेदवारी फिर्ता लिइन् ।

रोङ गाउँपालिका ४ को महिला सदस्यमा एमालेकै मीनादेवी तामाङ, माङ्सेबुङ गाउँपालिका ६ को दलित महिला सदस्यमा एमालेकी धनकुमारी विश्वकर्मा र सन्दकपुर गाउँपालिका १ को दलित महिला सदस्य पनि एमालेकै दिलमाया कमिनी निर्विरोध निर्वाचित भए । यी वडामा दलित महिला सदस्यमा अरू उम्मेदवारी परेनन् । माङ्सेबुङ गाउँपालिका ५ को महिला सदस्यमा राष्ट्रिय जनमुक्ति पार्टीकी तिलरूपा सबेहाङ निर्वाचित भइन् । यो पदमा स्वतन्त्र उम्मेदवारी दिएकी चन्द्रा इङ्नाम सेन्दाङले उम्मेदवारी फिर्ता लिएपछि तिलरूपा निर्विरोध भएकी हुन् ।

माइजोगमाई गाउँपालिका २ को दलित महिला सदस्यमा काङ्ग्रेसबाट रूपा (दियाली) विश्वकर्मा निर्विरोध भएकी छिन् । यही पदमा एमालेबाट उम्मेदवारी दिएकी कुमारी थामी दलित भएको पुष्टि हुन नसक्दा रूपाले बाजी मारेकी हुन् ।

यी ६ महिला निर्विरोध निर्वाचित भएपछि अब इलामको चुनावी मैदानमा एक हजार तीन सय १९ उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन् । यीमध्ये अब जिल्लाका १० वटै पालिकामा गरी ४ सय १९ उम्मेदवार निर्वाचित हुनेछन् ।

गत ११ र १२ गते सबै पालिकामा एक हजार ४ सय ५६ जनाले मनोनयन दर्ता गराएका थिए । यीमध्ये १ सय २९ जनाले फिर्ता लिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाको माई नगरपालिकामा ४५, फाकफोकथुम गाउँपालिकामा २०, इलाम नगरमा १९, चुलाचुली गाउँपालिमा १२, माइजोगमाई गाउँपालिकामा ११, सूर्याेदय नगरमा ८, देउमाई नगर र माङ्सेबुङ गाउँपालिकामा ४÷४ तथा रोङ र सन्दकपुर गाउँपालिकामा ३÷३ जनाले मनोनयन फिर्ता लिएका छन् ।

बाँकी १ हजार ३ सय १९ उम्मेदवारले आउँदो ३० गते हुने स्थानीय तह निर्वाचनमा प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । निर्वाचन कार्यालयको अन्तिम नामावलीअनुुसार इलाम नगरको मेयर र उपमेयरमा ६/६, देउमाई नगरको मेयर र उपमेयरमा ५÷५, माई नगरको मेयरमा ५, उपमेयरमा ४ तथा सूर्याेदय नगरको मेयर र उपमेयरमा ५/५ जनाले प्रतिस्पर्धा गर्दैछन् ।

सन्दकपुर गाउँपालिकाको अध्यक्षमा ५, उपाध्यक्षमा ३, चुलाचुली गाउँपालिकाको अध्यक्षमा ८, उपाध्यक्षमा ५, फाकफोकथुमको अध्यक्षमा ४, उपाध्यक्षमा ३, माइजोगमाईको अध्यक्षमा ४, उपाध्यक्षमा २, माङ्सेबुङको अध्यक्षमा ३, उपाध्यक्षमा २ र रोङ गाउँपालिकाको अध्यक्षमा ६ तथा उपाध्यक्षमा ३ जनाले चुनावी प्रतिस्पर्धा गर्दैछन् । अन्तिम नामावली सार्वजनिक गरेपछि आयोगले शनिबार स्वतन्त्र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment