झापाको भद्रपुरमा अलपत्र विद्यालय भवन, विद्यार्थी मात्र नभइ शिक्षकलाई पनि सास्ती

१९ असार २०७९,

झापा । विद्यालयको भवन सुविधासम्पन्न भयो भने अध्ययन कार्य सहज हुन्छ । यदि भवनको अवस्था खराब भयो भने विद्यार्थी तथा शिक्षक दुबैलाई समस्या हुने गर्छ । झापाको भद्रपुरमा रहेको अरनिको माध्यमिक विद्यालयको भवन अलपत्र हुँदा विद्यार्थी र शिक्षक समस्यामा परेका छन् ।
निर्माण सुरु भएको लामो समयसम्म भवनको कामले गति लिन नसक्दा पठनपाठन कार्य असहज भएको हो ।
झापाको भद्रपुरस्थित अरनिको माध्यमिक विद्यालयको भवन निर्माणको लागि ११ वर्षअघि काम सुरु भयो । २०६८ सालमा भारतीय दूतावासको करिब ४ करोड अनुदान सहयोगमा सो भवनको काम अघि बढेको हो ।
आधुनिक भवन बनाएर पठनपाठन सहज गर्ने भनिए पनि सम्झौता भएको तीन वर्षसम्म भवनको काम सुरु नै भएन । २०७१ साल बाट १८ महिना भित्र सक्ने गरी सुवास लामाको राजधानी कन्ट्रक्सनले २ तलाको ३२ कोठे भवनको निर्माण ठेक्का पायो । तर, हालसम्म पनि सो सामुदायिक विद्यालय भवनको काम पूरा नहुँदा पठनपाठन समस्यामा हुने गरेको हो । भवनमा झ्याल–ढोका नहुँदा कक्षाकोठा भित्र बर्षायाममा हावाहुरी सहितको बाछिटाले पढाइ प्रभावित हुने गरेको छ ।
विद्यालय भवन निर्माणमा पर्याप्त चासो नदिएको भन्दै विद्यार्थी, शिक्षक तथा अभिभावकहरुले संयुक्त रुपमा केहि समय अघि आन्दोलन समेत गरेका थिए । ठेकेदारले भवनको काम पूरा गर्न चासो नदिएपछि बाध्य भएर सोही अवस्थामा पठनपाठन गुर्नपर्ने बाध्यता भएको हो ।
भवन निर्माणका लागि पटकपटक म्याद थप गरिइसकेको छ । तर ठेकेदारको मनपरी शैलीले काम अघि नबढेको प्रष्ट छ । भवन अलपत्र पार्नु भन्दा समय दिएर निर्माण सम्पन्न गराउनका लागिसंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइएको भएपनि काम अघि बढ्न नसकेको जिल्ला समन्वय समितिले जनाएको छ ।.
राज्यले नै विद्यालय भवन बनाउन अघि बढ्नुपर्नेमा दातृ संस्थाले दिएको अनुदानको रकम समेत सहि तरिकाले कार्यान्वयन गर्न नसक्नु दुःखद् अवस्था हो । अब ढिलो नगरी जोखिमपूर्ण अवस्थामा पठनपाठन भइरहेको अपुरो विद्यालय सम्पन्न गरेर सुविधायुक्त भवनमा अध्ययन गर्ने वातावरण बनाउन सक्नुपर्छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment