- बिनय तिम्सीना
इलाम, २ भाद्र : परम्परागत रुपमा निकालिदै आएको रोपाई जात्रा बिहीबार इलाममा भव्यताका साथ निकालिएको छ । रोपाई जात्राको कारण बजारमा बिहानैदेखि चहलपहल बढेको थियो ।
इलाममा नेवारको बसोबाससँगै थालिएको यो चलन हेर्न इलाम जिल्ला र जिल्ल बाहिरबाट पनि इलामा बजारमा धेरै मानिसहरु सहभागी भएका थिए । पञ्चैबाजाको मधुर धुनको तालमा सुरिलो स्वरको गीत घन्काएर नेपाल भाषा तथा संस्कृति समाजले यसपल्ट मनाएको रोपाईंजात्रामा सैयौं मानिस इलाम सदरमुकाम ओइरिएका थिए ।
अघि अघि गोरु, हली र बाउसे अनि पछि पछि रोपाहारले धान रोपे झै रोपाईको झल्को दिने रोपाई जात्रामा दुई सय भन्दा बढिले रोपाईको अभिनय गरेका थिए । मानिसको भीड देखेर आयोजक इन्द्र श्रेष्ठले भने– ‘बजारमा मानिस खचाखच भरिभराउ भएकोले अझै पनि पुराना संस्कृतिलाई मन पराउनेहरु थुप्रै रहेछन् भन्ने लाग्यो ।’ परम्परागत रुपमा युवकहरु युवतीको भेषमा रोपाइँ गर्ने चलन भएपनि एक दशक यता युवक युवतीहरु समान रुपमा रोपाइँमा सहभागी हुँदै आएका छन् । विगतका वर्षहरुमा लिम्बु समुदायका युवाहरु रातभर धान नाच्ने चलन भएपनि द्वन्द्वकाल यता सो चलन पनि मासिएको छ ।
जमिन्दारले बेठी लगाएर पञ्चैबाजाको धुनमा रोपाईं गर्ने पुरानो चलनको सिको गरी राणाकालदेखि सदरमुकाममा रोपाईंजात्रा मनाउन थालिएको इतिहास छ । खेतमा छमछम रोपाईं गरेजस्तै यो जात्रामा पनि सारी चोलोमा सजिएका महिलाको भेषमा पुरुषले धान रोपेको अभिनय नियाल्न मानिसहरु धुइरिने गर्छन् । इलामका साँकृतिकविद् युद्धप्रसाद वैद्य भन्नछन्ः– झण्डै २०० वर्ष पुरानो इलामको मौलिक संस्कृति रोपाई जात्रालाई युवक–युवतीका लागि हाँसखेल गर्दै रमाइलो गर्ने बाजा गाजाका साथ इलाममा निकालिने गरिएको हो ।
अघि अघि पञ्चैबाजा, पछिपछि हली, रोपाहार र बाउसेले खेतमा रोपाई गरेको जीवन्त अभिनय हुने रोपाईंजात्रा ताप्लेजुङ, पाँचथर, संखुवासभामा पनि मनाइन्छ । रोपाईंजात्रामा सहभागी एकसय ८० हाराहारी कलाकारले दिनभरमा धेरै रकम पनि संकलन गर्न भ्याए । आयोजकका अनुसार संकलित रकम धार्मिक तथा ऐतिहासिक महत्वका सम्पदा संरक्षणमा खर्चिइनेछ । हातमा धानको बिउ बोकेर, बेठी बाजाको तालमा नाच्दै मालापथ, इलाम चोक, नविन चोक, चियाबारी, बसपार्क हुँदै टुँडिखेलसम्म र त्यहाँ देखि पुनः फर्काएर प्रकाशपथ हुँदै नारायणस्थान सम्म झाँकी घुमाइएको थियो ।
नेपाल भाषा तथा संस्कृति समाज इलामको आयोजनामा निकालिदै आएको यो जात्रा नेवार समुदायमा मात्र सिमित हुन छोडेको छ, साथै अन्य समुदायका मानिसहरुले जात्रालाई अपनत्व जनाउदै आएका छन् ।
0 comments:
Post a Comment