दमक चिसापानी रवि सडक : सुस्त गतिमा निर्माण, घाम लागे चल्छन् गाडी

असोज २ आइतबार 
  • ज्ञानु केदेम   

माङसेबुङ । दमकबाट माङसेबुङ हुँदै पाँचथरको रवी बजार जोड्ने फाल्गुनन्द मार्ग (दमक चिसापानी रवि सडक खण्ड) मा वर्षायाम सुरु भएपछि आंशिक मात्र यातायात सञ्चालन हुँदै आएको छ । वर्षायाममा कच्ची सडक हिलाम्मे र खाल्डाखुल्डीमय भएकोले गाडी गुड्न कठिनाई भई घाम लाग्दा मात्र यातायात सञ्चालन हुने गरेको हो ।
यस वर्ष निरन्तर पानी पर्दा बाहेक छिटफुट ट्याक्सीहरु सञ्चालनमा रहेका छन् । यसरी आंशिक ट्याक्सी र मालवाहक ट्रकहरु सञ्चालनमा रहेपनि यात्रुवाहक बस भने हिउँदसम्म ठप्प भएका छन् । यहाँ विगतका वर्षमा रतुवा खोलाको बगरै बगर सवारी साधन चलाउनु पर्ने भएकोले हरेक वर्ष वर्षायाम सुरू भए लगत्तै सवारी साधन पूरै ठप्प हुँदै आएको थियो । तर, यस वर्ष सो सडकमा सञ्चालित ट्याक्सी तथा मालवाहक ट्रकहरू घाम लागेको मौसममा सञ्चालन हुँदै आएका छन् ।


सो सडकले इलाम र पाँचथरका दर्जनौं गाउँपालिकालाई झापाको दमकमा पूर्व पश्चिम राजमार्गसँग जोडेको छ । यसरी सडकमा यातायात अवरूद्ध हुँदा दुई जिल्लाका दर्जनौं गाउँपालिकाका उपभोक्ता मारमा पर्ने गरेका छन् । इलामको चुलाचुली, माङसेबुङ, फाकफोकथुम र पाँचथरको मिक्लाजुङ, तुम्बेवा र फाल्गुनन्द गाउँपालिका लगायतका बासिन्दा फाल्गुनन्द मार्गमा यातायात अवरूद्ध हुँदा मारमा पर्दै आएका छन् । दमकबाट दैनिक उपभोग्य सामग्री पहाडी क्षेत्रमा लैजान र पहाडी क्षेत्रमा उत्पादित कृषि उपज सामग्री तराई लैजान साथै आवतजावत गर्न समेत असहज हुदै आएको स्थानीयको भनाई छ ।
यसरी वर्षायाममा फाल्गुनन्द सडकमा नियमित यातायात सञ्चालनमा असहज हुँदा वैकल्पिक मार्गका रूपमा माथिल्लो भेगका बासिन्दा पाँचथरको कन्याटार धनकुटाको ६ नम्बर बुधबारे हुँदै मोरङको लेटाङको बाटो प्रयोग गर्दै आएका छन् । भने, तल्लो भेगका बासिन्दा रतुवा खोलाको जंघार तर्दै जोखिमपूर्ण पैदल यात्रा गर्न बाध्य हुने गरेका छन् । माथिल्लो भेगका कतिले घुमाउँरो बाटो मेची राजमार्ग प्रयोग गर्दै आएका छन् भने माङसेबुङ आसपासका जनताले माई नगरपालिका हुँदै झापाको बिर्तामोडको लामो दूरीको यात्रा समेत गर्न बाध्य छन् ।
यो सडक इलामको चुलाचुली, माङसेबुङ, फाकफोकथुम र दक्षिणी पाँचथजरका बासिन्दाको ‘लाईफलाईन’को रुपमा रहेको निर्माण उपभोक्ता समितिका फाल्गुनन्द मार्ग ९दमक चिसापानी रवि सडक० निर्माण उपभोक्ता समितिका उपाध्यक्ष विनोद नेम्बाङको प्रतिक्रिया छ ।
घाम लागे चल्छन् गाडी
घाम लाग्दा धुलाम्मे पानी पर्दा हिलाम्मै हुने फाल्गुनन्द मार्गमा हिउँदभर धूलो उडाउदै गाडीहरू गुडेपनि वर्षा लागेपछि सडक सुनसान जस्तै हुन्छन् । तराईबाट पहाडी भेगलाई जोड्ने फाल्गुनन्द मार्गमा यतिखेर पातलो मात्र गाडी आवतजावत हुने गरेको छ । पैदलयात्री मानिस समेत हिड्डुल गर्न असहज हुने गर्दछ । घाम लाग्दा चटान बन्ने पानी पर्दा हिलो हुने सडकको विशेषताले स्थानीय यात्री हैरान बनेका छन् । यसरी हिउँदभर गाडी चल्छन् पनि । जब वर्षायाम लाग्छ, कच्ची सडक हिलाम्मे र खाल्डाखुल्डीमय हुन्छन् अनि गाडी गुड्न त के मान्छे नै हिड्न नसक्ने सडक बन्छ ।
यसरी फाल्गुनन्द सडक खण्ड अन्तर्गत रतुवा खोलामा निर्माण गरिएको पुल बनिसकेको छ । एकोहोरो बाटोको ’ट्र्याक’ पनि जोडिएको छ । तर, सडक भरपर्दो नहुँदा वर्षायाममा पैदल हिड्न र गाडी चढेपनि जोखिमपूर्ण यात्रा गर्न स्थानीयवासी बाध्य छन् । निरन्तर मर्मत गरिरहेको भएपनि सडक हिलाम्मे भएपछि नियमित दमक–रवि यातायात सञ्चालन हुन नसकेको स्थानीय बताउँछन् ।
हिउँदमा दमकबाट इलामको माङसेवुङ हुँदै पाँचथरको विभिन्न ठाउँसम्म सवारी जाने गरेपनि वर्षायाममा सडक हिलाम्मे हुने, बीचबीचमा बाटो भत्किने समस्याले यातायात नियमित चल्न नसकेको व्यवसायीहरूले बताएका छन् । त्यस सडकखण्डमा ट्याक्टर, ट्याक्सी, मालवाहक ट्रक घाम लाग्दा चलेपनि दमक रबि चल्दै आएको बस संञ्चालनमा ठप्प भएको छ । दमक–माङसेबुङ आवतजावत गर्ने ट्याक्सीहरू घाम लाग्दा यस वर्ष सञ्चालन हुँदै आएको छ ।
यसरी छिटपुट गाडी चलाउँदै गरेको भएपनि पानी परेको दिन ठप्प हुने गरेको यातायात व्यावसायी हेमकुमार योङहाङले बताए । ’सडक मर्मत गर्दै ट्याक्सी र ट्याक्टर मुस्किलले चलाउँदै छौं ।’ योङहाङले भने, ‘यहाँ जोखिमपुर्ण सवारी साधन चलाउनु पर्ने विवशता छ ।’ कच्ची सडक मर्मत नगरेसम्म यातायातको सेवा नियमित सञ्चालन हुन मुस्किल हुने बताउँदै उनले भने, ‘घाम लागेको दिन ट्याक्सी र मालवाहक चलेपनि यात्रुवाहक बस भने पूरै ठप्पै छन् ।’ योङहाङका अनुसार फाल्गुनन्द मार्गमा सवारी साधन नियमित सञ्चालन गर्न एउटा मेशिन तयारी अवस्थामा राख्नु पर्छ । यहाँको सडकहरू जताततै हिलाम्मे र खाल्डाखुल्डी हुँदा ओहोरदोहोरमा समेत जोखिमपूर्ण बनेको छ ।
खोलाको वहाव बढेसँगै वर्षादको समयमा भलबाढी चलिरहने भएकाले खोला तर्न नपर्ने घुमाउरो एकोहोरो बाटो पैदलमार्ग यात्रा गर्ने गरेको स्थानीय बताउँछन् । चुरे क्षेत्र भएकोले पैदल यात्रामा समेत स–साना खहरे खोल्साहरूको जोखिम उच्च रहेको छ । पानी पर्नासाथ उर्लेर आउने खहरे खोल्सीहरूले यात्रामा असहज बनाउने गरेको छ । यो सडक खण्डमा करोडौ खर्च भइसकेको छ । तर, भौगोलिक बनावट जटिल भएका कारण सडक भरपर्दो हुन नसकेको र कमसल भौगोलिक बनोटका कारण सडक नै जोखिममा रहेको स्थानीयको भनाई छ ।
सुस्त गतिमा निर्माण कार्य
निर्माणको प्रक्रिया थालिएको ठीक २५ वर्षपछि विस। २०७४ सालमा एकहोरो बाटोको ट्याक पुरा गरिएको सडकमा अझै पनि नियमित यातायातका साधन गुड्न सकेको छैन् । तराई र पहाडलाई जोड्ने छोटो दूरीको मानिएको यो मार्ग ०४९ सालदेखि स्थानीयस्तरबाट निर्माण प्रक्रिया थालेर स्थानीयको उत्साहमा ०५१ देखि निर्माणको काम अघि बढाएर २५ वर्षमा मात्र सम्पूर्ण सडक खण्डमा ट्रयाक खुलिएको थियो ।
यसरी कच्ची सडकको ट्रयाक खोलेर ग्राभेल हुँदै कालोपत्रेको प्रक्रियामा लगेर आर्थिक वर्ष ०७४÷०७५ मा ठेक्का लागेको थियो । डबल लेन (७ मिटर चौडाई) को सडक निर्माणका लागि महालक्ष्मी किरातेश्वर जेभीले ठेक्का पाएको थियो । सो कम्पनीले २२ करोडमा पाएको जिम्मेवारी निर्धारित समयमा काम नसक्दा यात्रुलाई सास्ती हुँदै आएको छ । साढे ६ किलोमिटर कालोपत्रे सडक बनाउने जिम्मेवारी पाएको कम्पनीकोसमय सीमा गत वर्ष भदौंमा पूरा भएको हो । यसरी समय सकेपछि सडक डिभिजन कार्यालयले गत पुसमसान्त सम्म थपिदिएको र कोरोनाकालको लागि चैतमसान्तको समय पनि पूरा भइसकेको सडक डिभिजन कार्यालय दमक झापाका प्रमुख रमेशप्रसाद पौडेलले बताए ।
सडक निर्माण कार्य भइरहेको तर समय सकेको कम्पनीलाई सडक विभागले आगामी असार मसान्तसम्मको समय थप गरिदिएर जरिवाना छुट दिएकोले सोही अनुसार काम भइरहेको प्रमुख पौडेलको भनाई छ । सडक डिभिजन कार्यालयका प्रमुख पौडेलका अनुसार साढे ६ किलोमिटरमा साढे २ किमि पक्की बनिसकेको र ४ किमि निर्माण हुन बाँकी छ ।
यसरी पहिलो चरणमा कालोपत्रै बनाउन ठेक्का पाएको कम्पनीले सडकको नाली बनाउने र भित्ता काट्ने काममै समय गुजारेको थियो । यसरी ठेक्का लागेको ५ वर्षमा ५३ प्रतिशत काम मात्र भएको सडक डिभिजन कार्यालय दमकले जनाएको छ । यस वर्ष सोही सडक खण्डमा सबैभन्दा बाटो खराब भएको यातायात व्यवसायी हेम योङहाङले बताए ।
सोही सडक अन्तर्गत दोस्रो चरणमा १५ किलोमिटर माङसेबुङको मार्चेबुङदेखि मानपुरसम्मको कालोपत्रे गर्न विस २०७६ साल फागुनमा लुम्बिनी गणपति जेभीले ठेक्का पाएको थियो । लुम्बिनी गणपति जेभी पनि नाली बनाउने र सडक बढाउने काममै सिमित्त हुँदै गएको छ । ५९ करोड लागतमा निर्माणाधीन सो सडकको कालोपत्रे गर्ने कामको ४७ प्रतिशत काम भइरहेको प्रमुख पौडेलले बताए । प्रमुख पौडेलका अनुसार मानपुरदेखि चिसोपानी पञ्चमीसम्मको साढे १० किलोमिटरको लागि पनि विस २०७६ फागुनमै ठेक्का लागेको हो । सो क्षेत्रमा ५९ करोडमा लुम्बिनी गणपति जेभीले नै ठेक्का पाएका हुन ।
३ वर्षमा पूरा गर्नुपर्ने मापदण्ड रहेको सो सडकको काम पनि २९ प्रतिशत मात्र हुँदै गरेको जनाइएको छ । सडक डिभिजन कार्यालय दमक झापाका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार बेलडाँगीदेखि चिसोपानी पञ्चमीसम्म ३५ किलोमिटरको सो सडकमा पहिले ३ किमि कालोपत्रै भइसकेकोले अहिले ३ खण्ड गरी ३२ किमिको काम भइरहेको हो ।
सम्झौता समयको आधारमा लुम्बिनी गणपति जेभीले दुवै खण्डको काम आगामी फागुनसम्ममा सम्पन्न गरिसक्नु पर्ने फाल्गुनन्द मार्ग (दमक चिसापानी रवि सडक) निर्माण उपभोक्ता समितिका उपाध्यक्ष विनोद नेम्बाङले बताए । माङसेबुङ गाउँपालिकाको उपाध्यक्ष समेत रहेका उपभोक्ता समितिका उपाध्यक्ष नेम्बाङका अनुसार कोरोना महामारी प्रभावले सम्झौता अवधिमा समय थप हुन सक्ने प्रावधान रहेको छ ।
झापाको दमकबाट पान्थरको चिसापानी पञ्चमी हुँदै रविबाट राँकेको बाटोसँग सडकको यातायात जोडिएको छ । ग्राभेल हुँन वाँकी रहेकाले वर्षाको समयमा भासिने तथा वाढी पहिरोको चपेटामा पर्न सक्ने अवस्था भनें यथावत छ । ग्राभेल हुँदै सडक कालोपत्रे नै गर्ने यसअघिको लक्ष्य पूरा हुन केही समय लाग्ने देखिन्छ । नियमित काम हुँदा यस वर्ष कालोपत्रै गर्ने काम पूरा हुने प्रमुख पौडेलको भनाई छ ।
महंगो भाडा
यतिका वर्ष वितेपनि सडकले स्थायी रुप नलिएकोले गाडी चलेपनि दूरीको तुलनामा भाडा महंगो तिर्न स्थानीय विवश छन् । गत हिउँदमा दमक—माङसेबुङ जनही भाडा ४ सय कायम रहेको यातायात व्यवसायी तथा चालक योवित खजुमले बताए । खजुमका अनुसार वर्षायाम लागेपछि कायम रहेको भाडादरमा एक सय थपेर अहिले पाँच सय तिर्दै यात्रुहरु आवतजावत गर्दै आएका छन् ।
करिब २० किमि को दूरी रहेको दमक–माङसेबुङको गाडी भाडा पाँच कायम हुनु दूरीको हिसावले अत्याधिक महंगो हो । बाटो असहज हुनाले इन्धनको खपत बढि हुन्छ र मेशिन पनि बढि विग्रने भएकोले भाडादर तुलनात्मक रुपमा बढि हुन पुगेको गाडी व्यवसायीको भनाई छ । यसरी फाल्गुनन्द सडक निमार्णमा भएको अनियमितता र सामान्य मर्मत समेत नहुनाले दमक आवतजावत र दैनिक उपभोग्य समानको ढुवानी महंगीले यहाँका उपभोक्ता बढि मारमा परेका छन् ।
वर्षायाममा पनि यातायात सञ्चालन गर्न सडक मर्मतको लागि ठेक्का पाएको कम्पनीहरुलाई ताकेता गर्दै आएको सडक डिभिजन कार्यालय दमक झापाका प्रमुख रमेशप्रसाद पौडेलले बताए । यसरी प्रमुखले ठेक्कावाला कम्पनीलाई ताकेता गर्दै आएको भएपनि सडक मर्मतमा खासै ध्यान पु¥याउन नसकिएको यातायात व्यवसायीको भनाई छ । खाल्डाखुल्डी र हिलाम्मे सडकमा निजी लगानीमा लामिनले गिट्टी पालुवा विछ्याएकोले यस वर्ष यातायात सञ्चालन भइरहेको यातायात व्यवसायी योवित खजुमले बताए ।
यसरी वर्षातमा गाडी नचल्दा ४/५ घण्टा पैदल हिडेर दमक पुग्ने गरेको माङसेबुङवासी बताउँछन् । बाटोकै कारण ढुवानी महंगीले दैनिक उपभोग्य वस्तुमा अत्याधिक महंगीमा पर्ने गरेको स्थानीयको दुखेसो छ । व्यवस्थित बाटो नहुँदा ढुवानी समस्याकै कारण कृषि उपजले मूल्य नपाएको र पहाडी क्षेत्रका बासिन्दा दैनिक उपभोग्य समान र उपचार नपाएर हैरानी भोग्दै आएको स्थानीय माङसेबुङबासीको भनाई छ ।
नामाकरणमा दुविधा
दमक चिसापानी रवि सडक निर्माण उपभोक्ता समितिले स्थापनाकाल यता दमक चिसापानी रवि सडक खण्ड नामले निर्माण कार्य सञ्चालन गर्दै आएको छ । उपभोक्ता समितिको बोर्ड दमक चिसापानी रवि सडक नै रहन्दै आएको भएपनि यो सडकको अधिकांश उपभोक्ताले भने, राष्ट्रिय विभूति महागुरू फाल्गुनन्दको नाममा फाल्गुनन्द मार्ग नामाकरण गर्न माग गर्दै आएका छन् ।
यसले सडकको नाम फाल्गुनन्द मार्ग कि दमक चिसापानी रवि सडक खण्ड हो उपभोक्तालाई दोबिधा बनाएको छ । दमक चिसापानी रवि सडक नामले काम गरिरहेको भएपनि विस २०५७ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सो सडकको नाम फाल्गुनन्द मार्ग घोषणा गरेको थियो । तर समितिको साधारण सभाको निर्णयमा समेट्न सकेन र समिति दर्ता हुँदा फाल्गुनन्द मार्ग शब्द नै हटाएर दमक चिसापानी रवि सडक नामले संस्था दर्ता भयो ।
यसरी सडकको सवालमा स्थापनाकाल यता नै वहस हुँदै आएको छ । सुरूदेखि नै सडकको नाम फाल्गुनन्द मार्ग हुनुपर्ने माग उठाउँदै आएको माङसेबुङवासी किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले बताए । अध्यक्ष योङहाङले भने, ‘समितिको विधानमा फाल्गुनन्द मार्ग समावेश गराउन निरन्तर पहल गरिरहेका छौ ।’
सडक उपभोक्ता समितिको विधानमा मात्र होइन सो सडकको नाम रेडबुकमा नै दमक चिसापानी रवि सडक मात्र उल्लेख गरिएको छ । तर अधिकाशं उपभोक्ताले विधान संशोधन गरेर फाल्गुनन्द मार्ग नाम राख्न माग गरेपछि थपिएपनि वैधानिकता पाइसकेको छैन् । सडकको नाम रेड बुकमा दमक चिसापानी रवी सडक नै रहेको भएपनि जनताको चाहाना बमोजिम विधान संशोधन गरि चाडै फाल्गुनन्द मार्ग घोषणा गर्न लागेको फाल्गुनन्द मार्ग (दमक चिसापानी रवि सडक) निर्माण उपभोक्ता समितिका अध्यक्ष रेवतराज पुरी गगनले बताउँदै आएका छन् ।
अध्यक्ष पुरीले भने, ’धेरै जसो जनताले दमक रवि सडक भन्दा फाल्गुनन्द मार्ग नाम नै मन पराएकोले फाल्गुनन्द मार्ग घोषणा गर्न लागिएको हो ।’ विस २०७७ साल फागुन ५ गते किरात धर्मगुरु आत्मानन्द लिङ्देनको समुपस्थितीमा तत्कालीन माङसेबुङ गाउँपालिका अध्यक्ष डिकेन्द्र इधिङगो, सडक डिभिजन कार्यालय दमक झापाका प्रमुख रमेशप्रसाद पौडेल, फाल्गुनन्द मार्ग ९दमक चिसापानी रवि सडक० निर्माण उपभोक्ता समितिका अध्यक्ष रेवतराज पुरी गगन, किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ लगायत इन्जिनियरहरु सहितको भेलाले सडकको नामको विषयमा महत्वपूर्ण निर्णय गरेको थियो ।
सो भेलाले दमकदेखि माङसेबुङ, चिसोपानी, रवी, राँके हुँदै लब्रेकुटीसम्म महागुरु फाल्गुनन्द मार्ग नामाकरणको लागि विधि र प्रक्रिया पु¥याई नेपाल सरकारको सम्बन्धित निकायमा माग गरी निर्णय गराउन पहल गर्ने निर्णय गरिएको थियो ।
(माङसेबुङ मासिकको भदौं अंकमा प्रकाशित आवरण रिर्पोट)
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment