अर्घाखाँची आगलागी अपडेट : मृतकको संख्या ४ पुग्यो

२७ बैशाख २०८०, बुधबार


२७ वैसाख, बुटवल । अर्घाखाँचीमा घरमा लागेको आगो निभाउने क्रममा जलेर मृत्यु हुनेको संख्या चार पुगेको छ । आगलागीमा परेर घाइते भएका थप एक जनाको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको छ ।
भूमिकास्थान नगरपालिका–२ का ३६ वर्षीय माधव बेल्वासेको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका इन्सपेक्टर कृष्णप्रसाद घिमिरेले जानकारी दिए ।
भूमिकास्थान नगरपालिका-२ तिरतिरे जंगलमा मंगलबार लागेको आगो स्थानीय पदम बेल्वासेको दुई तले कच्ची टिनले छाएको घरमा सल्केको थियो ।
घरमा लागेको आगो निभाउने क्रममा गम्भीर घाइते भएको पाँच जनामध्ये ७२ वर्षीय पिताम्बर बेल्वासे, ५५ वर्षीय पदम बेल्वासे र ५२ वर्षीय घनश्याम बेल्वासेको यसअघि नै मृत्यु भइसकेको थियो ।
पदमलाई थप उपचारको लागि काठमाडौ लैजाने क्रममा नारायणगढमा र पिताम्बरको मिसन अस्पतालबाट काठमाडौं लैजांदै गर्दा पाल्पामै मंगलबार राति मृत्यु भएको हो ।
काठमाडौस्थित कीर्तिपुर अस्पतालमा उपचाररत माधव र घनश्यामको भने बुधबार बिहान ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
आगलागीमा परेकी २६ वर्षीय अस्मिता बेल्वासेको पाल्पा मिसन अस्पतालमा उपचार भैरहेको र उनी खतरामुक्त रहेको प्रहरी निरीक्षक घिमिरेले बताए ।
घाइते सबैलाई अर्घाखाँची अस्पतालमा प्राथमिक उपचारपछि मंगलबारै पाल्पा मिसन अस्पताल लगिएको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment