- टीका खतिवडा
“मनमा तिर्खा बढेको छ
शहरको धारामा
पानी खस्न छोडेको छ
म यतिखेर
मिनरल भनिने
कहिले÷कहाँ भरेको
अस्वस्थकर बोतलको पानी पिइरहेछु........
र आफ्नै उमेर घटाइरहेछु ।”
इलाम, जेठ : यि माथीका हरफहरु इलाम नगरपालिका ७ का वडासदस्य तथा कवि बिमल बैद्यको फेसबुक वालबाट लिइएको हो । करिव निर्माण कार्य सम्पन्न भइसकेको भनिएको साना शहरि खानेपानी आयोजना मार्फत धारामा पानी नआएपछि कवि विमल बैद्यले कविता फूराएर सामाजिक सञ्जालमा पोस्ट गरे । जनप्रतिनीधिले अरुको गुनाशा सम्वोधन गर्ने हो तर आफैँ पिडित भएको उनको पोष्टबाट बुझ्न सकिन्छ ।
इलाम बजारमा खानेपानी वितरणको जिम्मा इलाम नगरपालिकाले नै लिएको छ । नगरपालिकाका अन्य कामप्रति जनताको खासै चित्त दुखाई नदेखिए पनि खानेपानी वितरणमा गुनाशो वढि देखिन्छ । नगरपालिकामा प्रष्ट बहुमत पाएको नेपाली काँग्रेस पार्टीकै धेरै नेता कार्यकर्ताले सामाजिक सञ्जाल मार्फत नै खानेपानी आपुर्तिमा भएको अनियमितता र निर्माण कार्यबारे तिक्तता पोखेका छन् ।
खानेपानीमा सिर्जित विवादले सिंगो इलाम नगरपालिका तरङ्गीत बनाएको छ । किनकी साविक नगरपालिका क्षेत्रको लागि खानेपानी आपुर्ति इलाम नगर पालिकाले जिम्मेवारी लिएको छ । यति मात्र होइन नगर प्रमुख केदार थापा खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष रहेकै बेला नगर प्रमुखमा निर्वाचित भएका हुन् । उनी हालसम्म अध्यक्ष पनि छन् ।
स्थानीय सरकारले आफैं जनताबाट खानेपानी महसुल उठाउनु, निर्माण नसकिदै महसुल उठाउन नगरपालिका अग्रसर हुनु, खानेपानी महसुल सुटुक्कै बढाएर उठाउनु र आयोजना निर्माणका क्रममा देखिएका केहि त्रुटीका कारण सदरमुकामका जनता समेत नगरको आलोचना गर्न बाध्य भए । तर यो विषय नगरले साविककै महसुल दर कायम गरेपछि अलिअलि ओझेलमा परेको छ । नगरले खानेपानी आपुर्ति क्रमश सहज बनाउँदै लगेको छ । तर आयोजना निर्माण सम्पन्न भएर पनि परिक्षण भइरहेको नगरको दावि छ । ठेकेदारले धारा जडान सकेपछि थप धारा जडान गर्न नगरपालिकाले पहल नगरेको स्थानियको अझै गुनाशो छ ।
इलाम नगरपालिकामै जिल्ला सदरमुकाममा रहेको छ । यसकारण यो नगर जिल्लावासीकै केन्द्रका रुपमा रहेको छ । यहाँ रहेका बिभिन्न सरकारी तथा गैर सरकारी कार्यालयको काममा समेत जिल्लावासीको सरोकार साथै आवगमन हुने गर्दछ ।
गत वर्षको बैशाख ३० मा भएको स्थानिय तहको चुनाव पछि यस नगरपालिकामा जनप्रतिनिधिहरु परिवर्तन भए । उनीहरुले पनि एक वर्षको कार्यकाल बिताइसकेका छन् । चुनावका मितिले एक वर्ष बितेको छ ।
यहाँ खानेपानी समस्याले चर्चा र बिबादमा रहे पनि बाँकी काम सन्तोषजनक नै रहेको पाइन्छ ।
नगरपालिकाले आफ्नो हनिमुन अवधिका क्रममा कुनै आशलाग्दो गतिविधि सार्वजनिक गर्न पाएन । सय दिनमा नवनिर्वाचित जनप्रतिनीधिहरु आफ्नै जिम्मेवारी बोध गर्न नसकेको उनीहरुको व्यवहारबाट देखिन्थ्यो । विभिन्न समिति गठन कर्मचारी व्यवस्थापन र औपचारीक कार्यक्रममा नगरका प्रतिनीधि व्यस्त रहेको देखिन्थ्यो ।
संयोग भनौ वा सदरमुकामबासीको भाग्य । इलाम बजार क्षेत्रभित्र रहेको सडकको दुरावस्था हटेको छ । इलाम बजार भित्र विगतमा गरिने कालोपत्रे सडक भन्दा गुणस्तरिय सडक निर्माण भयो । यो सडक वर्तमान जनप्रतिनीधि निर्वाचित भएलगत्तै बनेको छ । यसलाई नगरका प्रतिनीधिले आफ्नो उपलव्धि ठानेका छन् । सडक डिभिजन कार्यालय मार्फत ठेक्का लागेर सम्पन्न भएको भएपनि यो सडकको निर्माणले इलाम बजारको स्वरुप नै परिवर्तन गरिदिएको छ । बजार क्षेत्रमा बाँकी रहेका सडक (हाकीमटोल, चियाबारी, गढि, र भञ्ज्याङ) सडकको स्तरोन्नति गर्न नगरले तदारुक्ता देखाएको छ ।
निर्माण सम्पन्न भएको सुकिलुम्बा किमान स्थलमा बन्द रहेको हवाइ सेवा सुचारु गर्न यहाँका जनप्रतिनिधिले पहल गरेपछि हाल हप्ताको एक दिन उडान हुने गरेको छ । विगतमा नगरपालिकाको खर्च लगाएर नीजि कम्पनीलाई उडान भर्न दिएकोमा विवाद सिर्जना भएको थियो । नेपाल वायुसेवा निगमको उडान हप्तामा एक दिन गराउन सक्नु जिल्लाको विकासमा पहल कदमी नै हो । निगमका कार्यकारी अध्यक्ष नै जिल्लाबासी भएकाले पनि त्यो फाइदा नगरले लिनसकेको हो भन्नु पनि यहाँ सान्दर्भिक हुनेछ । नेपाल एयरलाइन्सको जहाजले तारा एयरको भन्दा धेरै कम भाडा लिएर उडान गर्न सुरु गरेको छ । बिचमा नियमित उडान हुन सकेन हाल पुन उडान सुरु भएको छ ।
पशुचौपायमा लम्की स्कीन नामक रोगले किसानका गाई बिरामी र मर्न थालेका छन् । यस कार्यमा यहाँका जनप्रतिनिधिले उदाहारणिय काम गरेका छन् । उपमेयर विष्णु दहालको नेतृत्वमा बसेको बैठकले यहाँका पशु चौपाय बचाउन जनप्रतिनिधिहरुले एक महिनाको पारिश्रमिक खोपमा लगाउने निर्णय गरे । यस निर्णयले नगरवासी हर्षित छन् । अन्य पालिकाले यसरी पशु बचाउन आफ्नै पारिश्रमिक कटौती गरेर लगाएका छैनन् । इलाम नगरपालिकामा कृषि र पशुमा छुटिएको बजेट कटौति गरी अन्य निर्माणका काममा लगाउने र बजेट दुरुपयोग गर्ने परिपाटि विगतको भन्दा केहि कम देखिएको छ । यो रोग लागेका भन्दा पनि नलागेका पशु चौपायालाई खोपको मात्रा दिइएको भएपनि रोगले भेटेको गोठका पशु बढि जोखिममा परेका थिए । किनकी रोग लागेका पशुलाई लम्पी स्कीन विरुद्धको खोप लगाइँदैन । कृषिमा छुट्याइएको बजेट के के शिर्षका सकियो र लम्पीलाई कताकताबाट बजेट प्रवन्ध गरिएको हो भन्ने विवरण नगरले सार्वजनिक गराउन सक्नु पर्दछ ।
तर जसरी खोपमा इलाम नगरापलिकाले चासो बढायो अत्यान्तै राम्रो काम गरेको किसानहरुको भनाई छ । उनीहरुले पशुमा खोप लगाएपछि यो रोगले भेटे पनि चाँडो जाती भएको बताएका छन् ।
इलाम नगरपालिकामा निर्वाचित भएपछि वर्तमान नेतृत्वले इलाम चोक बजारमा जथाभावि रुपमा उठाउने गरिएको मोटरसाइकल र सवारी पार्किङ शुल्क नलिने निर्णय गरेपछि धेरै प्रशंसा भएको थियो । नगरको हाटबजार व्यवस्थित गर्न भने नगरले पहल गर्न सकेको छैन । हाटबजारमा अर्गानिक उत्पादन कमै पाइन थालेको छ । कारण हाट बजार लाग्ने स्थानमा केहि व्यापारीहरुले मात्र कव्जा जमाएका छन् । गाउँबाट आउने तरकारी उत्पादन गर्ने किसानले भारी विसाएर विक्रि गर्ने स्थान अझै पाउन मुस्किल छ । घामपानी सहेर केहि किसानले मात्र यो मौका पाएका छन् ।
नगर क्षेत्रका दीर्घरोगी र असहायलाई उपचारमा सहयोग गर्न राहत कोषको ब्यवस्था गरिएको छ । स्वास्थ्य क्षेत्रमा रहेको समस्या समाधान गर्ने उदेश्यले निशुल्क स्वास्थ्य शिविर कार्यक्रम आयोजा गरिएको थियो । यस्तो शिविरबाट बिरामीले राहत पाए की कुनै अमुक अस्पतालको ग्राकह बन्न बाध्य भए ? क्यान्सर जस्तो घातक रोगको पहिचान र परिक्षण कुनै दुइदिने स्वास्थ्य शिविरमा हुन सक्ने कुरा पनि भएन ।
युवाहरुलाई खेलकुद विकासमा नगरकप हुने गरेको छ । नगरकप भने आफैमा विवाद रहित हुन सकेन ।
किसानहरुलाई अनुदानमा कृषि औजार वितरण गर्ने गरिएको छ । योजना बनाएर आएका विकासक्रमलाई प्राथमिकता दिइने गरिएको छ । सिंचाइकालागि आवश्यक कामलाई अगाडी बढाइएको छ । सिंचाइ सुविधा पुर्याउन नगरले आवश्यक काम गरिरहेको बताइएको छ । यस अघि नै बालबालिकाका लागि पार्क, ब्यापारिका लागि सिटी मार्ट, तरकारी ब्यापारीका लागि ब्यवस्थित टहरा, ब्यवस्थित पशु हाट निर्माण भइसकेका छन् । तर अब गर्न उत्ति नै कामहरु छन् ।
पहिलो वर्ष खासै ठोस उपलब्धि मुलक र देखीने कामहरु नभएको नगरवासीको भनाई छ । यो यहाँका जनप्रतिनिधि आफैँले ग्रहण गरिरहेकै होलान । इलाममा व्यवस्थित कोल्डस्टोर बनेको भएपनि यसलाई संचालनमा ल्याउन पहल नगर्नु नगरको कमजोरी मान्न सकिन्छ । हुन त यो कोल्टस्टोर यस अघि भएको महेश बस्नेत नेतृत्वले पनि पहल गरेन । कोल्डस्टोर संचालनका लागि परिआएमा बजेट विनियोजन गरि पुन निर्माण गर्न नगरले तदारुकता देखाउनु पर्ने देखिन्छ ।
सेरामा निर्माण सम्पन्न भइसकेको भनिएको नयाँ बसपार्क संचालनमा नगरले पहल गरेको छ्रैन । बसपार्कको स्थायी संरचना मासेर भलिबल मैदान बनाउने जस्ता कामहरु भएका छन् । बसपार्कमा राखिएको कृषि क्याम्पसलाई अन्य स्थानमा सारेर त्यहाँ बसपार्क संचालन गर्नुपर्ने नगरबासीको भनाई छ । पुरानो बसपार्कमा बनिएको पाकीङ भवनलाई पनि चाँडो संचालन गर्न पहल गर्नुपर्ने देखिन्छ ।
खानेपानीलाई ब्यवस्थित गर्न प्रमुख पाटो हो । गाउँबाट आएका किसानबाट लिइने शुल्क मिनाहा गर्न नगरवासीको माग छ । वडामा हुने सामान्य कार्यक्रममा ब्यस्त रहने मेयरले योजना बनाएर समृद्ध नगर बनाउन पहल गर्नुपर्ने देखिन्छ । नगरलाई समृद्ध बनाउन सम्वन्धित मन्त्रालयबाट बजेट माग गरेर अघि बढ्न सकियो भने मात्र नगरलाई समृद्ध बनाउन सकिन्छ । नत्र पाँच वर्ष बितिसक्दा नगर ओगट्ने भन्दा बाहिर काम के देखाउने ?
नियमित आउने बजेटको मात्र पर्खाइमा रहँदा नगर समृद्ध बन्न सक्दैन । डिपिआर सर्भे गरेर सम्वन्धित मन्त्रालय तथा निकायमा आवश्यक बजेट माग गरेर काम अघि बढाउन आवश्यक छ । इलाम अस्पताललाई ब्यवस्थित गर्दै सेवा बढाउन समेत पहल गर्न जरुर छ । यो अस्पतालमा बिगत १० वर्ष अघि देखीको अध्ययन गरौँ । ठुला भवन ठडिए होलान, त्यो भन्दा वढि के भयो ? त्यता तिर पनि सोचौँ । चिकित्सकको संख्या बढाउन के पहल भयो ? दुई दिन हुने शिविरले यहाँका नागरिकलाई दिर्घकालिन सेवा मिल्दैन तर कुनै अस्पताललाई दिर्घकालिन नै मेवा मिल्ला ।
पर्यटकिय जिल्ला हो इलाम । इलाम नगरपालिकाका बिभिन्न क्षेत्रहरुमा समेत पर्यटकहरुको उल्लेख्य उपस्थिती रहने गरेको छ । तर नगरपालिकाले पर्यटकिय क्षेत्रको प्रचार र अन्य काममा ठोस कदम चाल्न सकेको छैन । यहाँ रहेका होटल तथा रेस्टुराँमा नयाँ स्वाद पाइँदैन । तर बाहिरबाट दक्ष जनशक्ति ल्याएर काम सिकाएर दक्ष बनाउन सकिन्छ । यसका लागि होटल व्यवसायिहरुको दक्षतामा नगरले खर्च गर्न पहल गर्नु आवश्यक छ ।
चियाको जिल्ला हो इलाम अनी यो नगरपालिका । यहाँ उत्पादन हुने चिया बाहिर गएर बिभिन्न स्वादमा पिउन पाइन्छ । तर इलाम बजारमा दुध लगाएको, दुध नलगाएको, रातो र कागती राखेको चिया बाहेक अन्य चिया खासै पिउन पाइँदैन । यसका लागि पनि नगरपालिकाले निजि ब्यापारीहरुसँग समन्वय गर्न सक्छ । चियाको राजधानी इलाममा थरीथरीका चिया बेच्ने होटल ब्यवसायी नै हुन् । नगरपालिकाले बेच्ने हैन । तर ती ब्यापारीलाई अग्रसर कुन प्रेरित गर्ने स्थानिय सरकार पनि त होला नि ?
बिभिन्न कम्पनी तथा ब्यवसायीसँग समन्वय गरेर यहाँ बिभिन्न क्षेत्रका पर्यटक तान्ने साहसिक तथा आकर्षण थप्ने काम गर्न जरुर छ । कृषि क्याम्पस र आँखा अस्पताल पहिला नै निर्माण भएको हो । यहाँ आवश्यक जनशक्ति थपेर काम अगाडी बढाउन जरुर छ ।
यस नगरलाई शिक्षाको हव बनाउन सकिन्छ । यहाँ रहेको आदर्श माविलाई ब्यवस्थित गर्दै परिस्कृत शिक्षा दिन जरुर छ । जस्तै अन्य पालिकाले सरकारी बिद्यालयमा समेत कक्षा नर्सरी देखी पढाई हुन्छ । अंगे्रजी माध्यमबाट अध्यापन हुन्छ । नगरले ब्यवसायिक शिक्षालाई जोड दिने गरि ठोस काम गर्न आवश्यक देखिन्छ ।
नगरको भवन ब्यवस्थित छ । वडाका भवनहरु समेत काम गर्न सकिने खालकै छन् । तर कामको गती अलिक कमी भएको हो कि भन्ने जनताले महसुश गर्न थालेका छन् । नगरका जनप्रतिनीधिहहरुले आफूहरु चुनावी मैदानमा होमिदै गर्दा जनतासँग गरेका धेरै प्रतिवद्धताहरु सार्वजनिक भइसकेका छन् । ती प्रतिवद्धता पुरा गर्न पहल गरेको पाइदैन । घोषणा पत्र र सार्वजनिक प्रतिवद्धता कुन दराजमा थन्किएको छ ? यसको खोजि गरी कार्यान्वयन गर्न नगरपालिकाका जनप्रतिनीधिलाई के ले रोकेको छ ?
इलाम नगरपालिका इलाम बजार मात्र हैन । संघियता आएको गाउँको समेत विकासका लागि हो । गाउँमा रहेका वडाहरुलाई समेत उत्तिकै माथी उठाउन आवश्यक छ ।
धेरै प्रयासहरु भइरहेका छन् । नतिजा देखिन समय लाग्छ । तर पहल गर्न ढिलो पो भइसक्यो कि ?
बाँकी अर्को बसाइमा ........
0 comments:
Post a Comment