इलामको बेलासेलाई जलवायु अनुकुलित गाउँ बनाइने


इलाम, २८ साउनः  इलाम नगरपालिकाको ११ नम्बर वडामा रहेको बेलासे गाउँलाई जलवायु अनुकुलित गाउँ बनाउन पहल थालिएको छ । स्थानीय पहलका लागि कयानडा कोषकोे सहयोगमा नामसालि सामुदायिक विकास केन्द्र इलामले बेलासेमा जलवायु अनुकुलन सम्बन्धि परियोजना शुरु गरेको हो ।
‘नमुना जलवायु अनुकुलित गाउँ मार्फत जलवायु उत्थानशीलता वढाई प्राकृतिक तथा जलवायु परिवर्तन प्रेरित प्रकोपहरुको प्रभाव न्युनिकरण गर्ने’ परियोजना आठ महिना सम्म संचालन हुने भएको छ । स्थानीय समुदायलाई जलवायु अनुकुलित गाउँ निर्माण सम्बन्धि सचेतना शनिबार बेलासेमा सम्पन्न गरिएको छ । कार्यक्रममा नासाविके इलामका टीम लिडर हिराकाजी घले, इञ्जिनियर घनेन्द्र भण्डारी, कार्यक्रम अधिकृत सुवोध निरौलाले परियोजनाको बारेमा जानकारी गराएका थिए । इलाम नगरपालिका वडा ११ का अध्यक्ष टासी जवेगुको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । 
झापा इलाम द्रुतमार्गमा पर्ने बेलासे वरपर रहेका ५० घरपरिवार लाभान्वित हुने गरी परियोजना संचालन गरिने सोयाकको महेश्वरा आधारभुत विद्यालयमा आयोजित कार्यक्रममा एन सी डि सीका टीम लिडर हिराकाजी घलेले जानकारी दिएका छन् । इलाम नगरपालिकाको साझेदारीमा संचालन हुने परियोजना सम्बन्धि सचेतना तालिम संचालन गरिएको थियो । कार्यक्रममा वडाध्यक्ष टासी जवेगुले बेलासे क्षेत्रमा स्थानीय लक्षित कार्यक्रम प्रभावकारी बन्ने जानकारी दिए । 
परियोजना मार्फत बेलासेको बाँझो जमिन सिचाई गरी जलवायु अनुकुलित खेती प्रणाली अवलम्बन गरिने भएको छ । माइखोला आसपासको बेलासेमा हजारौं  जमिन बाँझै रहेको र त्यहाँ सिचाईको व्यवस्था भएमा हराभरा बनाउन सकिने स्थानीय पदम लोक्ताम बताउँछन् । परियोजना मार्फत बाँझो जमिन सिचाईका लागि माइखोलाको पानी सोलार लिफ्टीड. गरी ल्याइने भएको छ । कुल ६५ लाख ४५ हजार ६ सय ३६ लागतमा संचालन हुने परियोजनामा जलवायु प्रभावको बारेमा सचेतना, जलवायु अनुकुलन खेती प्रणाली, र जलवायु अनुकुलन गाउँको योजना निर्माण गरिने भएको छ । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment