प्रदेशको योजनाले इलामका गाउँमा झगडा

 ७ आश्विन २०८०, आईतवार 

  • भगीरथ भण्डारी,
इलाम । इलामको फाकफोकथुम गाउँपालिका–७ का शषिधर खनालले ३० वर्ष अघिदेखि प्रयोग गरिरहेको खानेपानी अब आउने हो कि होइन टुङ्गो छैन ।
२०५० सालमा मेची पहाडी भालु खोप खानेपानी आयोजना मार्फत निर्माण गरिएको खानेपानी अहिले आएर अर्कै गाउँतिर जाने भएपछि खानेपानी अन्योल बनेको छ । खनाल मात्रै होइन सिङ्गो गाउँका ४८ परिवारले प्रयोग गरिरहेको खानेपानी आयोजना के हुन्छ भन्नेमा दोधार छन् ।

एकतप्पाका ४८ भन्दा बढी घर परिवारले प्रयोग गरिरहेको पानी अर्कै वडातिर जाने भएपछि दुई गाउँबीच झगडा शुरु भएको छ । लामो समयदेखि खानेपानी प्रयोग गरिरहेको मुहानबाट अर्को वडामा जाने गरी आयोजना निर्माण भएसँगै दुई गाउँबीच झगडा शुरु भएको हो । कोशी प्रदेशले कुनै अध्ययन बिना नै हचुवाका तालमा खानेपानी आयोजना निर्माणका लागि बजेट लगाएको कारण झगडाको स्थित पुगेको छ । विराटनगरमा बसेर योजना छुट्टाउने र गाउँको अवस्था नबुझी बजेट विनियोजन गर्ने गरेको कारण दुई गाउँबीच झगडा उत्पन्न भएको हो ।
३० वर्षअघि मेची पहाडी भालु खोप खानेपानी आयोजना मार्फत निर्माण गरिएको खानेपानीको मुहानबाटै कोसी प्रदेशबाट खत्री गाउँ खानेपानी आयोजना निर्माण भएपछि दुई गाउँबीच झगडा उत्पन्न भएको हो । सिकारी भञ्ज्याङ आसपासका घर परिवारसहित सिंह देवी माध्यमिक विद्यालय, आयुर्वेद औषधालयसहित ४८ घर परिवारले प्रयोग गरिरहेको खानेपानी अर्को वडामा जाने भए पनि गाउँपालिकाको न्यायिक समितिमा उजुरी दिएको खनाल बताउँछन् । उनले ०५० सालदेखि खाइरहेको पानी प्रदेशले अर्कोतिर पारेकाले गाउँ नै समस्यामा परेको हो ।
फाकफोकथुम गाउँपालिका उपाध्यक्ष कल्पना राईले फाकफोकथुम गाउँपालिकाको वडा नं. २ खत्री गाउँमा निर्माण भएको खानेपानी आयोजना पनि विवादमा छ । वडा नं. ७ ले प्रयोग गर्दै गरेको खानेपानी प्रदेश मार्फत वडा नं. २ मा पनि त्यही मुहानबाट पानी ल्याएपछि अहिले विवादमा रहेको बताइन् । विवादमा नै भएको आयोजनामा यस वर्ष पनि प्रदेशबाट बजेट परेको छ । स्थानीय तहसँग समन्वय नगरी प्रदेशले आयोजना हाल्ने गरेको कारण विवादमा आएको बताइन् । आयोजना सञ्चालन हुँदा हामीलाई पत्तै हुँदैन र एकै ठाउँबाट दुईतिर आयोजना परेको कारण विवाद आउने गरेको भन्दै उपाध्यक्ष राईले स्थानीय तहसँग समन्वय भएको भए विवादमा आउने आयोजनालाई शुरुमा नै समाधान निकालेर काम गर्न सकिने बताइन् ।
फाकफोकथुम गाउँपालिका वडा नं. ७ का वडा सदस्य डिकबहादुर बराइलीले लामो समयदेखि एउटा गाउँले खाइरहेको पानीको मुहान अर्को गाउँमा पर्नु दुःखद् भएको बताए । उनले कुनै पनि आयोजना निर्माण गर्नु अघि त्यहाँको अवस्था के छ भनेर नबुझी काम थाल्नुले झगडा उत्पन्न भएको बताए । ‘प्रशस्त खानेपानीको मुहान थिए भने पनि फेरि आयोजना मार्फत व्यवस्थापन गर्न सकिन्थ्यो’ –उनले भने– ‘मुहान पनि खासै छैनन् तीस वर्ष पहिलेदेखि प्रयोग गरिरहेको खानेपानी अहिले विवादमा आएपछि ठूलो समस्या उत्पन्न भएको बताए ।
विवाद शुरु भएको खानेपानीको लागि कोशी प्रदेशबाट चालू आवमा वडा नं. २ को खत्री गाउँ खानेपानी आयोजनामा १० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । त्यस्तै गाउँपालिकामा खानेपानी आयोजना निर्माणका लागि वडा नं. ७ मा एकतप्पा खानेपानी आयोजनामा सात लाख, वडा नं. ४ को बरबोटे खानेपानी योजनामा पाँच लाख, र वडा नं. १ को कमेरे जरिङ्गे खाम्वाङ तल्लो व्यहोरा खानेपानी योजनामा १३ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment