बिर्तामोडमा २६२ कुकुरको बन्ध्याकरण

२०८० पौष ९ गते , सोमबार


बिर्तामोडमा २ सय ६२ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको छ । बिर्तामोड नगरपालिकाले बिहीबारदेखि आइतबारसम्म ४ दिन सञ्चालन गरेको शिविरमा नगरक्षेत्र भरीबाट सङ्कलन गरेर ल्याएका कुकुरहरूको बन्ध्याकरण गरेको हो ।
बिर्तामोड नगरपालिकाले २०७२ सालदेखि हरेक वर्ष सामुदायिक कुकुर बन्ध्याकरण शिविर आयोजना गर्दै आएको छ । नगरपालिकाले यस अघि नै  २ हजार १ सय भन्दा बढी सामुदायिक कुकुरहरूको बन्ध्याकरण गरिसकेको छ ।
सामुदायिक कुकुरको सङ्ख्या बढेसँगै कुकुरबाट सर्ने रेबिज लगायतका रोगहरूको जोखिम पनि बढ्दै गएपछि यसको प्रजनन्दर रोक्नका लागि कुकुर बन्ध्याकरण शिविरको आयोजना गरिएको पशुपन्छी तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहालले जानकारी दिनु भयो । कुकुरलाई बन्ध्याकरणसँगै रेबिज विरुद्धको भ्याक्सिन तथा आवश्यकता अनुसार अन्य औषधी उपचारसमेत गरिएको छ ।
शिविर समापन कार्यक्रममा प्राविधिक सहयोग उपलब्ध गराउने संस्था हाम्रो भेटेरिनरी सेवा सहकारी र डाक्टर सिजन शैंजुलाई प्रशंसा पत्र प्रदान गरिएको छ । कार्यक्रमकी प्रमुख अतिथि कार्यपालिका सदस्य तथा आर्थिक विकास समिति संयोजक सङ्गीता सिवाले सहकारीका अध्यक्ष डाक्टर दिलीप सापकोटा र डाक्टर सैँजुलाई प्रशंसा पत्र प्रदान गर्नु भयो । शिविरमा खटिएको प्राविधिक टिमलाईसमेत खादा लगाएर सम्मान गरिएको छ ।
नगरपालिकाले पशुपन्छी तथा मत्स्य विकास शाखा मार्फत हरेक वर्ष सामुदायिक कुकुर बन्ध्याकरणको लागि बजेट छुट्याउँदै आएको छ । शिविर समापन कार्यक्रममा कार्यपालिका सदस्य निर्मला देवी सुनार, नगरका वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिना, अधिकृत मेघराज बास्तोला लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment