शिवसताक्षी नगरपालिकाको छाप किर्ते गरी घर नक्साको प्रमाणपत्र, चलानी पुस्तिका नै गायब

२०८० मंसीर २२ गते , शुक्रबार

(विनोद सापकोटा) शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा सेवाग्राहीले कार्यालय प्रमुख र नगरपालिकाको छाप किर्ते गरेको घर नक्साको प्रमाणपत्र पाएका छन् ।
यो प्रमाणपत्र नगरको घर नक्सा शाखाले जारी गर्छ ।आर्थिक वर्ष ०७२–०७३ देखि नै घर नक्साका प्रमाणपत्रमा ‘इरर’ आएको नगरपालिकाको सूचना शाखाले जनाएको छ । नगरपालिकाको शाखामा भएको प्रमाणपत्र र जारी भएका प्रमाणपत्र पनि फरक परेका छन् । ती प्रमाणपत्रमा प्रमुख प्रशासकीय अधिकृत, योजना शाखा, घर नक्सा शाखा, पालिकाको सरकारी छाप, दर्ता नम्बर र चलानी नम्बर पनि किर्ते भएको सूचना शाखाले जनाएको छ । घर नक्सा जारी भएका प्रमाणको एउटा चलानी पुस्तिका नै गायब छ ।
शिवसताक्षी नगरपालिकाका सूचना अधिकारी प्रकाश चौधरीका अनुसार कम्तीमा १५० वटा सेवाग्राहीका फायल ‘इरर’ आएको छ । यो घटनाको छानबिन गर्न शिवसताक्षी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष सन्तकुमार फेउदिनको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति पनि गठन भएको उनले बताए ।
कतिपय सेवाग्राहीले घर नक्साका लागि बुझाउनु पर्ने राजश्व पनि कर्मचारीको हातमा बुझाएको पाइएको छ । राजश्वका लागि कर्मचारीको हातमा आएको रकम कन्सल्टेन्सीमार्फत नगरमा दाखिला नभएको नगरपालिकाले जनाएको छ । चौधरीले भने, ‘राजश्व जो कोहीबाट आएपनि नगरको आर्थिक प्रशासन शाखाबाट जम्मा हुनुपर्छ ।’
सेवाग्राही सोझै नगरपालिकामा राजश्व बुझाउन आइदिनुभएको भए यो समस्या नआउने तत्कालीन घर नक्सा शाखाका प्रमुख इन्जिनियर कृष्ण राईले बताए । उनले भने,‘सेवाग्राहीले कन्सल्टेन्सी, नगरका कर्मचारी वा कुनै अमुक व्यक्तिको हातमा राजश्वमा लाग्ने रकम नदिएर सोझै पालिकाको राजश्व शाखामा आइदिनु भएको भए यस्तो गम्भीर त्रुटि हुने थिएन ।
समाचार स्रोतका अनुसार कन्सल्टेन्सीका प्राविधिक सागर ल्वागुन शाखामा गएर आफै दर्ता, चलानी, कार्यालयको छाप प्रमाणपत्रमा लगाउने गरेकाले पनि यो समस्या आएको हो । उनी कन्सल्टेन्सीका प्राविधिक हुन् । यतिवेला उनी वैदेशिक रोजगारमा छन् ।
कतिपय प्रमाणपत्र नगरपालिकाले जारी गरेको छ तर, त्यसको तथ्याङ्क शाखामा छैन । घर नक्सा शाखाका प्रमुख इन्जिनियर उत्तम बरालले भने,‘घर नक्सा पास भएको छ । तर, शाखामा रेकर्ड छैन ।’ रेकर्ड भएका फायलको सेवाग्राहीले राजश्व बुझाउन बाँकी देखिएको बरालले बताए । ‘उहाँहरूले कन्सल्टेन्सीलाई राजश्व बुझाएको बताउनुहुन्छ तर, नगरपालिकाले यो विषय जान्दैन । कतिपयलाई नगरपालिकाले दुःख दिएको जस्तो लागेको होला तर, यो मामलामा नगरपालिका, जनप्रतिनिधि र कर्मचारीले एक मिनेट पनि दुख दिएको छैन । कागजी प्रमाण पुगेका र राजश्व बुझाएका फायल भए राति घरबाट आएर भएपनि सेवाग्राहीको काम गरिदिने गरेका छौँ ’ इन्जिनियर बरालले बताए ।
सेवाग्राहीका अधिकांश फायल अद्यावधि हुनु पूर्व नगरमा सूचीकृत भएको आवास इन्जिनियरिङ कन्सल्टेन्सी र विशाल इन्जिनियरिङ कन्सल्टेन्सीले नक्सांकन गरेका हुन् । विशाल कन्सल्टेन्सीका प्रोप्राइटर विशाल थेबेका अनुसार ०७६ पछि नगरपालिकामा कन्सल्टेन्सी अद्यावधि नै छैन । त्यस अवधिसम्म भएका फायलमा कन्सल्टेन्सीका तर्फबाट कुनै पनि फायल ‘इरर’ नआएको उनले बताए । उनले भने,‘ घर नक्साको नियमानुसार फी कन्सल्टेन्सीले सेवाग्राहीबाट लिन्छ । नगरमा बुझाउने राजश्वका बारेमा कन्सल्टेन्सी अनविज्ञ छ ।’
शाखाबाट यतिसम्म किर्ते गरिएको छ कि शिवसताक्षीबाट अर्जुनधारा सरुवा भएर गएकी हाल सेवा निवृत्त उपसचिव गीताकुमारी राईको हस्ताक्षर समेत किर्ते गरिएको छ । उनको हस्ताक्षर शिवसताक्षी नगरमै कार्यरत रहँदा किर्ते गरिएको हो । सेवा निवृत्त भएपछि पनि किर्ते हस्ताक्षरका फायल शाखामा आइरहेको छ ।
नगरको घर नक्सा प्रकरणबाट नगरको कम्तीमा ६० लाख रुपैयाँ जम्मा हुनुपर्ने राजश्व दाखिला नभएको नगर उपप्रमुख नरमाया कार्कीले बताइन् । उनले भनिन,‘ ठ्याक्कै यति नै भन्ने चाहिँ किटान भइसकेको छैन । कम्तीमा ६० लाख रुपैयाँ चाहिँ फायल हेर्दा राजश्व जम्मा हुने देखिन्छ ।’
सामाजिक सञ्जाल फेसबुकमा नगरप्रमुख मेगाहाङ थोप्राले धेरैजस्तो ०७५, ०७६, ०७७ र केही ०७८ सालदेखिका फायलमा समस्या आएको बताएका छन् । उनले वडा अध्यक्ष सन्तकुमार फेउदिनको संयोजकत्वमा गठित छानबिन समितिले प्रतिवेदन बुझाए लगत्तै जो कोहीलाई कारबाहीको दायरामा ल्याइने बताए ।
यता समितिले भने प्रतिवेदनको अन्तिम रूप दिने काम भइरहेको जनाएको छ । समितिका संयोजक सन्त फेउदिनले भने,‘फाइनल भएको छ । समितिको बैठक बसेर प्रतिवेदनलाई अन्तिम रूप दिने र नगर कार्यपालिका बैठकमा पेस गर्ने योजना समितिले बनाएको छ ।’ घर नक्सा प्रकरणमा जो कोही जोडिए पनि दोषीलाई कारबाही गरिने फेउदिनले बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment