झापा । झापामा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा परी आठ जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग अन्तरगत शिवसताक्षी नगरपालिका-१० स्थित माइधारमा शनिबार साँझ ६ बजे कार र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृतकको सनाखत हुन बाँकी रहेको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १० प ७२१२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा १४ च ६६०३ नम्बरको कार ठोक्किएको थियो । अन्दाजी २३ वर्षीय मोटरसाइकल चालकको बिर्ता सिटी हस्पिटल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भयो । त्यस्तै मोटरसाइकलको पछाडि सवार एक जना र कारमा सवार चार जना घाइते भएका छन् । घाइते हुनेहरूमा कार चालक बिर्तामोड- ३ का ५० वर्षीय अनिलकुमार शाह, कारमा सवार बिर्तामोड- ४ का ५३ वर्षीय जयप्रकाश शाह, बिर्तामोड- ३ का ४४ वर्षीय रञ्जन शाह र सोही ठाउँका ५३ वर्षीय ललित शाह रहेका छन् । त्यस्तै मोटरसाइकलमा सवारको पनि पहिचान हुन बाँकी छ । उनीहरूको बिर्ता सिटी अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै शनिबार दिउँसो ३:५० बजे कमल गाउँपालिका- ४ स्थित चुलाचुली मोडमा दुईवटा मोटरसाइकल र एउटा स्कुटर ठोक्किँदा एकजनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे ६ प ३१५२ नम्बरको मोटरसाइकल र सोही दिशाबाट आउँदै गरेको प्रदेश १–०१–०१६प ८९९२ नम्बरको अर्को मोटरसाइकल एकापसमा ठोक्किँदा विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १–०१–०१६प ७१४० नम्बरको स्कुटर पनि ठोक्किएको थियो । दुर्घटनामा परी प्रदेश १–०१–०१६प ८९९२ नं को मोटरसाइकल चालक कनकाई- ५ का ५२ वर्षीय चन्द्रप्रसाद भट्टराई र सोही मोटरसाइकलको पछाडि सवार कनकाई- ३ का ७० वर्षीय रघुनाथ भट्टराई घाइते भएका थिए । घाइतेमध्ये रघुनाथलाई उपचारका लागि लाइफलाइन अस्पताल दमक लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । अर्को मोटरसाइकल चालक र स्कुटर चालक सामान्य घाइते भएको प्रहरीले जनाइएको छ ।
0 comments:
Post a Comment