दुध नबिक्ने अवस्थामा, किसानलाई थप पीडा

  • जीवन शर्मा 

 नेपाली दुधको बजार आगामी दिनमा झन धराशायी बन्ने देखिन्छ । कतिसम्म भने सन २०२४ मा त दूधको बजार नै रहने देखिदैन । यो साल जेनतेन निजी क्षेत्रका दूध व्यवसायीहरुले कार्तिकसम्मको किसानको दुधको भुक्तानी गरिसकेका छन र मङ्सिरको पनि भुक्तानी गर्न सक्नेछन । पुषदेखि किसानलाई भुक्तानी दिन धेरै गार्‍हो छ । शायद माघदेखी किसानको दूध निजि क्षेत्रका दूध व्यवसायीले नकिन्ने अवस्था बन्यो भने अचम्म नमान्दा हुन्छ । उता सरकारी निकायको त कुरै छोडौ उसले त साउन महिनादेखी नै किसानलाई भुक्तानी दिन सकेको छैन । नेपाल सरकार र उसको आधिकारिक संस्था दुग्ध बिकास संस्थान जुनसुकै बेला दुधको बिग्रदो बजार र दुग्धजन्य बस्तुको बजार नभएको जनाएर हात झिक्न सक्छ । 
किन दुग्धजन्य बस्तुको बजार छैन ?
 दुधको बजारलाई असर पार्ने कारण अमेरिकी अर्थतन्त्र जोडेर हेर्न गरिन्छ । अमेरिकाको अर्थतन्त्र अन्य देशहरुको जस्तो हुदैन । त्यहा लगातार ५ वर्ष अर्थतन्त्रमा गिरावट आउँछ र ५ वर्ष अर्थतन्त्र सुदृढ हुन्छ । यतिबेला अमेरिकी अर्थतन्त्र गिर्दो अवस्थामा छ । जसको कारण अमेरिका निर्यात गरिने दुग्धजन्य बस्तुको ठप्प छ । अर्थात छुर्पी लगायतका बस्तुको निर्यात हुनै छोडेका छन । निजि क्षेत्रका दुग्ध व्यवसायीले उत्पादन गर्दै आएका छुर्पी ( डग फुट) अमेरिकी बजारमा जानै छोडेको छ। जसको कारण निजि व्यवसायीलाई दूध किनेर भुक्तानी गर्न सक्ने अवस्थै रहदैन । अहिले त शुरूवात मात्रै  हो । आगामी दिन झनै कठिन छन । अमेरिकी अर्थतन्त्र गिरावटको पहिलो वर्ष मै यस्तो अवस्था छ भने अवका केही वर्ष धेरै गाह्रो छ । आगामी दिनमा दूध नै बिक्री हुदैन । यता हाम्रो सरकारले दुग्ध जन्य बस्तुको बजारमा सिन्को पनि भाचेको देखिदैन ।निजी क्षेत्रले थामिदिएको दुधको बजार अब निजी क्षेत्रले पनि हात झिक्न थाले पछि तहसनहस हुने देखिन्छ । त्यसपछि किसानको जिवनस्तरमा पर्ने गम्भीर असर यति भयावह रहनेछ । किसानले अवका दिनमा दैनिक गर्जो टार्न हम्मे हम्मे पर्ने देखिन्छ । गाई पालन र दुग्ध व्यवसाय गरेर गाउँ बसेका आम किसानहरु उमेर भएका जति सबै खाडी पुग्नेछन भने बाकी रहेका पनि भारतीय श्रम बजार सस्तोमा बिक्री हुनेछन । यस्तो अवस्था अगाडी आएको देख्दा देख्दै नेपाल सरकार भने कानमा तेल हालेर बसेको देखिन्छ । नत दुग्धजन्य बस्तुको बजारिकरणमा लागेको छ नत बैकल्पिक व्यवस्थामा नै लागेको छ । बरु भारतीय दूध नेपालमा आयात गरेर नेपाली दुधको बजार गिराउन लागि परेको देखिन्छ । 
 हुन त घ्यू छुर्पी र चिजको बजारमा गिरावट आए पनि पाउडर दुधको भने बजार राम्रै देखिन्छ । नेपालमा उत्पादन हुने दुधलाई पाउडर दूध बनाएर खाडी राष्ट्रमा पठाउन सके नेपाली दुधको बजार स्थिर रहन सक्ने देखिन्छ । तर हाम्रो सरकारको ध्यान त्यता छैन । यता निजी क्षेत्रका दुग्ध व्यवसायीहरुलाई पाउडर दूध बनाएर बिक्री गर्न धेरै गाह्रो हुन्छ । जति सजिलै घिउ छुर्पी बनाउन सकिन्छ पाउडर दूध बनाउन उति नै गाह्रो हुन्छ । उनीहरूलाई मेशिन खरीद लागतले धेरै नै गाह्रो बनाउछ । फेरि त्यो टाउको दुखाउन निजी क्षेत्र तयार देखिदैन ।  यता हाम्रा नगरपालिकाहरु दुधको बजार आएको बेला काउजोन बन्दै चम्किनेहरु दुधको बजार नै नहुने अवस्था आएपछि खुम्चिदै गएको देखिन्छ । किसानको लागि बैकल्पिक व्यवस्था गर्नुको साटो दुईचार दिन निजी क्षेत्रले धानिदिएको दुधको बजारमा टेकेर संसार नै थापेको अभिनय गर्नेहरु यति बेला किसानको पक्षमा चु पनि बोल्न सक्ने अवस्थामा छैनन । नेपाल सरकारको त झन कुरै छोडौ किसानलाई राहत र उत्पादन लागत घटाउन तिर लाग्नु त कता हो कता ६ महिनासम्म किसानको दुधको भुक्तानी नगरी लाज पचाएर दूध किनिरहेको छ । 
अवको विकल्प के त ? 
सत्य हो अवका ३ वर्ष दुधको बजार उक्सिदैन । तवसम्म नेपाली दूध खोलाको पानी भन्दा पनि नगन्य नै रहनेछ । निजी क्षेत्रका दुग्ध व्यवसायीले पनि बेलैमा तनावमुक्त हुनुपर्ने अवस्था आएको छ । दुग्ध उत्पादक किसानले पनि बेलैमा अन्य व्यवसाय रोज्नुपर्ने दिन आएको छ । आफुले उत्पादन गर्दै आएको दुधमा ६० प्रतिशतसम्म कटौती गरि अन्य व्यवसायमा लागेमा जेनतेन चुलो बाल्न सक्ने अवस्था बन्ला ।  नेपाल सरकार तथा स्थानीय सरकारले दुधको उत्पादन लागत घटाउनमा किसानलाई विभिन्न प्रकारका किसानमुखी कार्यक्रम किसानको व्यवहारिक जीवनमा ल्याउन सक्नुपर्छ ।  नेपाल सरकारले सधै नेपाली युवालाई खाडीमा पठाउने र त्यहाबाट प्राप्त रेमिटेन्सबाट देश चलाउने सोच त्याग्नुपर्छ । किसान कार्डको व्यवस्था गरेर किसानलाई विभिन्न प्रकारका अनुदानको व्यवस्था गर्न सक्नुपर्छ । दैनिक बाझिदै गएको देशको जमिनलाई प्रयोगमा ल्याउन बाहिरिदै गरेका युवाहरुलाई स्वदेश मै स्वरोजगारी प्रदान गरि उर्वर जमिनलाई प्रयोगमा ल्यान सक्नुपर्छ । दुग्ध व्यवसायको विकल्पमा त्यतिकै सहज र आय आर्जनमुखी व्यव्सायको पहिचान गरि व्यवहारमा ल्याउनुपर्छ । बढ्दो बिदेशिने क्रमलाई हटाउन स्थानीय स्तरबाट नै पहल गरिनुपर्छ ।
सरकारले घ्यू छुर्पीको बजार कि त खोजिदिन सक्नुपर्छ कि त पाउडर दूध उत्पादन गरेर विश्व बजारमा पुर्‍याउनु पर्छ । अझै पनि बिश्वबजारमा पाउडर दुधको माग रहेको छ । दुधको बजार हुदा काउजोन भन्दै हैसिने स्थानीय सरकारले हिजो आफुले भन्दै आएको काउजोनलाई यथास्थितिमा राख्न दुधको बजारिकरणमा लाग्नुपर्ने हुन्छ । निजि क्षेत्रले यतिन्जेल थामिदिएको दुधको बजारमा नाक फुलाएर मात्रै हुन्न केही न केही नया कुरा व्यवहारमा ल्याउन सक्नुपर्छ । पाउडर दुधको अन्तर्राष्ट्रिय बजारको अध्ययन गरेर स्थानीय तहमा सन्चालित डेरिहरुलाई पाउडर दूध उत्पदन गर्न सक्ने अवस्थामा पुर्‍याउनु पर्छ । 
निष्कर्ष 
यहि क्रममा दुधको बजार ओरालो लाग्दै जादा तीनवटै पक्ष प्रत्यक्ष असरमा पर्छन् । किसानको चुलो बल्दैन । पालिएका गाई बिक्दैनन । व्यवसायीको व्यवसाय समाप्त हुन्छ । आफ्नो लगानी खेर जान्छ । स्वरोजगारी अन्त्य हुन्छ । राष्ट्रिय आयमा कमी आउँछ देश आर्थिक सङ्कटमा पर्छ  । त्यसैले कित अन्य व्यवसाय कित अन्तरास्ट्रिय बजारको खोजी गरेर  यो समस्याबाट मुक्त!हुन अनु जरुरी छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment