झापा गोल्डकप सुरु, एपिएफको विजयी सुरुवात

२०८० फाल्गुन १९ गते , शनिबार


झापा । मोफसलको चर्चित झापा गोल्डकपको छैटौँ संस्करण शनिबारदेखि सुरु भएको छ । टाईब्रेकरमा भाग्यमानी साबित हुँदै विभागीय टोली सशस्त्रको एपिएफ झापा गोल्डकपमा विजयी सुरुवात गरेको छ । टाईब्रेकरमा संकटा क्लब काठमाडौँलाई ४–२ गोल अन्तरले पराजित गर्दै एपिएफ क्वाटरफाइनलमा प्रवेश गरेको छ । 
एपिएफका लागि दीपेश धिमाल, फोडे फोफोना, कुलदिप कार्की र सुमन श्रेष्ठले गोल गरेका थिए । संकटाका चन्दन दास र यमनबहादुर पुतवारको प्रहारले मात्र जाली चुमेको थियो । संकटाका अजित लामाको प्रहार विपक्षी गोलरक्षकले बचाउ गरेका थिए भने मौसम सुब्बाको प्रहार गोल पोस्टमा लागेर फर्कियो ।
खेलको चौथो मिनेटमै एपिएफले अग्रता लिने अवसर गुमाएको थियो । फोडे फोफोनाको क्रसमा पेनाल्टी एरियामा अनमार्क रहेका बुद्धिमान राईले गोल गर्न सकेनन् । उनको प्रहार क्रस बार नजिकैबाट बाहिरियो । २० मिनेटमा अनीश महर्जनको प्रहार गोल रक्षकले विफल बनाए । २४ औं मिनेटमा कुलदिप कार्कीको पासमा गोल पोस्ट नजिकै रहेका अनीशको हेडर बाहिरियो ।
५५ औं मिनेटमा एपिएफका अनीश रानाले पेनाल्टी एरियाबाट गरेको कडा प्रहार संकटाका गोलरक्षक निशान रानाले पञ्च गरेर बचाए । खेलको अतिरिक्त समयमा दीपेश धिमालले मैदानको मध्य भागबाट गरेको प्रहार संकटाका गोलरक्षक रानाले मुस्किलले पञ्च गरेर बचाए । खेल अवधिभर गोल गर्ने थुप्रै अवसर बनाएको एपिएफले निर्धारित समयमा गोल गर्न नसक्दा खेल टाइब्रेकरमा गएको थियो । ३४ औं मिनेटमा संकटाका चन्दन दासले गरेको शक्तिशाली प्रहार एपिएफका गोलरक्षक एञ्जल श्रेष्ठले पञ्च गरेर बचाए । ६० औं मिनेटमा संकटाका कप्तान गणेश हमालको हेडर एपिएफका गोलरक्षकले पञ्च गरेर बचाए ।
खेलको म्यान अफ द म्याच एपिएफका गोलरक्षक एञ्ञ्जल श्रेष्ठ घोषित भए । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाए । झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतको अध्यक्षतामा भएको खेलको उद्घाटन प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले गरेका थिए । प्रतियोगिताको विजेताले नगद १३ लाख, उपबिजेताले ७ लाख, टफी, मेडल र प्रमाणपत्र पाउने छन् । आइतबारको खेल विभागीय टोली नेपाल पुलिस क्लब र लिग विजेता चर्च ब्वाइज युनाइटेडबीच हुने आयोजकले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment