झापामा सशस्त्रकाे खुकुरी प्रहारबाट छ जना घाइते


झापा । झापाकाे मेचीनगरमा सशस्त्र प्रहरी र सामान ओेसारपसार गर्ने स्थानीयबीच शुक्रबार साँझ झडप भएकाे छ । झडपकाे क्रममा सशस्त्र प्रहरीकाे खुकुरी प्रहारबाट केही स्थानीय घाइते भएका छन्  ।
घाइतेहरू बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको जनाएको छ ।


नेपाल-भारत सीमा पिलर ९०/२-९०/३ नजिकै रहेको मेचीनगर नगरपालिका ७ स्थित गैरीगाउँमा तस्करीकाे सामान बरामद गर्ने क्रममा दुवै पक्षबीच झडप भएको थियो । साेही क्रममा घटनास्थल पुगेका  प्रस्तावित सिमा सुरक्षा गुल्म, काँकडभिट्टाका कोट मास्टर र चालकले खुकुरी निकालेर एक्कासि प्रहार गरेकाे स्थानीयले आराेप लगाएका छन् । खुकुरी प्रहारबाट दीपा बातरको हातको औला काटिएको छ । हरि बातरको छातीमा गहिरो चोट लागेको छ ।
विषेश राजबंशी र मिलन चापागाईंकाे हात  काटिएको छ । दीपक बातर र आनह यादवकाे शरिरमा चोट लागेको छ । भारतबाट सामान ल्याउनेलाई सशस्त्र प्रहरीले रोक्न खोज्दा झडप भएको र त्यसक्रममा स्थानीय र सशस्त्र प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले बताए । घटनाबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए । हाल पाँच जना स्थानीय र एकजना सशस्त्र घाइते भएको जानकारी आएपनि अन्य पनि घाइते भएको हुनसक्ने भएकाले सोधपुछ गरिरहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी दीपक भारतीले बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment