इलामको पानीटारको पर्यटन प्रवद्र्धन सहित युवा उद्यमीको मोटर र्‍याली कोशी प्रदेश परिक्रमा गर्ने

 


इलाम, १५ चैत्रः युवा उद्यमीहरूले कोशी प्रदेशका छ जिल्ला परिक्रमा गर्ने गरी मोटर  र्‍याली गर्ने भएका छन् । नेपाली युवा उद्यमी मञ्च विराटनगर, सुनसरी र झापा च्याप्टरले चैत १६ देखि १८ गतेसम्म मोटर  र्‍याली गर्न लागेको हो । सुनसरीको इटहरीबाट सुरु हुने  र्‍यालीले धनकुटा, पाँचथर, इलाम, झापा र मोरङको परिक्रमा गर्ने  र्‍यालीका संयोजक एवं युवा उद्यमी मञ्च विराटनगरका सचिव रोमन कटेलले जानकारी दिए । ‘इटहरीमा मुख्यमन्त्री केदार कार्कीले फ्ल्याग अफ गरेर  र्‍यालीको शुभारम्भ गर्नुहुन्छ,’ संयोजक कटेलले भने, ‘इटहरीबाट सुरु भएको  र्‍यालीले कोशी प्रदेशका छ जिल्ला परिक्रमा गर्छ ।’


 र्‍यालली १६ गते इटहरीबाट धरान हुदै धनकुटाको मूलघाट पुगेर तमोर करिडोरबाट पाँचथरको फिदिम, इलामको साखेजुङ हुदै पानीटार पुगेर बास बस्नेछ । यसरी  र्‍याली इलामको पानीटारमा वसेर पानीटारको पर्यटन प्रवद्र्धनमा समेत ठूलो टेवा पुग्ने युवा उद्यमीका सदस्य पाण्व तिम्सीनाले वताए ।
१७ गते सिम्पानी चियाबगान, कन्याम हुँदै झापाको दमक पुगेर बास बस्ने र १८ गते  र्‍याली विराटनगर, इटहरी फर्किने कार्यक्रम तय भएको छ ।  र्‍यलीका क्रममा इलामको देउमाईस्थित महेन्द्र आधारभुत विद्यालयका विद्यार्थीहरूलाई फुटबल, ब्याडमिन्टन, क्रिकेट, चेस, भलिबल लगायतका खेलकुद सामग्री प्रदान गरिने युवा उद्यमी मञ्च विराटनगरका अध्यक्ष रञ्जित भगतले जानकारी दिए । उनका अनुसार झापाको दमकमा युवा ऊद्यमीहरुबीच अन्तरक्रियात्मक कार्यक्रम पनि हुनेछ । 
२० वटा गाडीमार्फत गरिने  र्‍यालीमा मोरङ, सुनसरी र झापाका ५० भन्दा बढी युवा उद्यमी सहभागि हुनेछन् ।  र्‍यालीले कोशी प्रदेशका युवा उद्यमीहरूलाई एकीकृत गराई उनीहरूबीचको व्यवसायीक सम्बन्ध प्रगाढ बनाउनुका साथै समग्र प्रदेशको पर्यटकीय विकासमा पनि टेवा पुग्ने युवा उद्यमी मञ्च सुनसरीका अध्यक्ष चन्द्र देवकोटा बताउँछन्‌ ।
युवा उद्यमीहरूले यसअघि पनि कोशी प्रदेशका विभिन्न जिल्लामा मोटर  र्‍याली गरेका थिए ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment