चिया निर्यातमा भारतको बखेडा, पाँचदिन देखि १८ वटा ट्रक पानीट्याङ्कीमा अलपत्र

 ११ बैशाख २०८१, मंगलवार 


झापा ।  भारतले चिया पैठारीमा नयाँ नियम लागू गरेसँंगै चिया ब्यवसायी समस्यामा परेका छन् ।
पाँच दिनदेखि भारतले चिया पैठारीमा नयाँ नियम लागू गर्दै रोक लगाएसँंगै चिया किसान तथा ब्यवसायी समस्यामा परेका हुन् । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको निर्यात रोकेको हो । नेपालका चिया उद्यमीहरुले यसबाट गम्भीर सङ्कट निम्तिने बताएका छन् ।
पूर्वीनाका काँकरभिट्टाबाट जाँचपास भएर भारतीय सीमावर्ती पानीट्याङ्की नाका पुगेको १८ ट्रक तयारी चिया भारतले विगत पाँच दिनदेखि रोकेको हो । चिया निर्यातको अनुमति नपाएर रोकिएका ती ट्रकहरु पानीट्याङ्कीको सडकमा असुरक्षित अवस्थामा रहेको चिया व्यवसायी एवम् भन्सार प्रतिनिधि रोशन अग्रवालले जानकारी दिए । उनले पूर्वाञ्चलसंँग कुरा गर्दै भने–भारतले शतप्रतिशत स्याम्पलिङ गर्नुपर्ने प्रावधान राखेसँंगै भारततर्फ निकासी हुन लागेका चिया बाटोमै अलपत्र परेको हो ।
भारतले विभिन्न समयमा बहाना बनाउँदै नेपाली चिया निकासीमा रोक लगाएको बताइएको छ । उनका अनुसार भारतीय पक्षलाई एउटा सवारीबाट दैनिक चार हजार रुपैयाँ शुल्क बुझाउनु पर्ने छ । चियाको गोदाम समेत नहुँदा बाटोमै गाडी रोकेर राख्नु परेको छ ।
चिया व्यवसायी एवम् भन्सार प्रतिनिधि अग्रवालका अनुसार पानीट्याङ्कीस्थित भारतीय स्थल भन्सार कार्यालयले हरेक ट्रकमा नेपाली चियाको अलग–अलग गुणस्तर परीक्षण गरिनुपर्ने नयाँ नियम लगाएर निर्यातमा रोक लगाएको हो । यसअघि एउटा कम्पनीले एउटा नमूनाको गुणस्तर जाँचपास गराएको ‘रिपोर्ट’ले १५ दिनसम्म चिया निर्यात गर्दा पनि मान्यता पाउँथ्यो,– व्यवसायी अग्रवालले भने–अहिले पानीट्याङ्कीको भारतीय भन्सारले हरेक गाडीको छुट्टाछुट्टै नमूनाको गुणस्तर जाँचपास रिपोर्ट ल्याउनुपर्ने अड्को थापेको छ । अहिले भारतले सबै चियाको अनिवार्य रुपमा नमूना परीक्षण गर्नुपर्ने नियम लागू गरेको छ ।
पानीट्याङ्की भन्सारमा गोदामको सुविधा नभएकाले नेपालबाट चिया ‘लोड’ भएर गएका १८ वटा ट्रक खुला सडकमा अलपत्र परेको उनले बताए । त्रिपालले छोपेर सडकमा अलपत्र अवस्थामा चिया राखिएको ट्रकमा राति चोरी हुनसक्ने जोखिम रहेको छ । अलपत्र ट्रकहरुमध्ये नेपाल चिया विकास निगमको छवटा ट्रक छन् भने अन्य सामान हिमालयन रेञ्जलगायत चिया उद्योग लगायतको रहेको बताइएको छ ।
सिटिसी र अर्थोडक्स गरी दुवै प्रकारका चिया भारत निर्यात हुँदै आएको छ । नेपाली चियाको ९० प्रतिशत निर्यात भारतमै हुने गरेको छ । निर्यात हुने चियाको ९२ प्रतिशत काँकरभिट्टा नाका भएर भारत जाने गरेको छ । चिया व्यवसायीका अनुसार भारतले नेपालमा गरिएको गुणस्तर जाँचको रिपोर्टलाई मान्यता दिएको छैन ।
भारतको पानीट्याङ्की भन्सारमा समेत गुणस्तर जाँच्ने प्रयोगशाला छैन । भारतको कोलकाता, दिल्ली, पटनालगायत स्थानका प्रयोगशालामा गरिएको गुणस्तर जाँचपासलाई भारतीय भन्सारले मान्यता दिने हुँदा यसबाट नेपाली चिया निर्यातमा संलग्न व्यवसायीले झन्झट भोग्दै आएका छन् ।
लामो समय चिया गाडीमै राख्नु पर्ने भएकाले चिया बिग्रिने सम्भावना धेरै हुने ब्यवसायीहरुको भनाइ छ । त्रिपालले बेरेर चिया राख्नु परेकोले गुम्सिएर चिया बिग्रने डर छ, यसले ब्यवसायीलााई ठूलो घाटा पु¥याएको छ । मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख रामप्रसाद रेग्मीले भारतीय भन्सारले नयाँ नियम लागू गरेसंँगै केही समस्या आएको बताएका छन् ।
उनले पूर्वाञ्चलसंँग भने– चिया पैठारीमा रोक लगाएको होइन, शतप्रतिशत परीक्षण बिना निकासी गर्न नदिएकाले समस्या आएको हो । विगतमा भारतीय पक्षले नेपालबाट गएका चिया मध्ये केही प्रतिशतको मात्रै नमूना परीक्षण गर्दा अरुलाई छिर्न दिने गरेको थियो, अहिले नियम परिवर्तन गरेर सबै परीक्षण गर्नुपर्ने नियम बनाएको छ ।
चियामा देखिएको समस्यालाई समाधान गर्नका लागि स्थानीय र केन्द्रीय तहबाट प्रयास भइरहेको उनको भनाइ छ । उद्योग, वाणिज्य, परराष्ट्र मन्त्रालयका साथै भन्सार कार्यालयबाट समेत भारतीय पक्षसँंग कुरा भइरहेको र विगतका नियमलाई नै लागू गर्ने गरी प्रयास भइरहेको उनले बताए ।
उनले भारतीय पक्षको नयाँ नियमका कारण निकासी शुल्क बढ्ने बताए । निकासी शुल्क बढ्दा किसानलाई भने त्यसको प्रत्यक्ष असर पर्ने देखिएको छ । यसले नेपाली चिया ब्यवसायी तथा किसानलाई निरुत्साहित बनाउने गरेको ब्यवसायीहरुको भनाइ छ । भारतकै मात्र भर पर्दा वर्षेनि चिया तथा कृषिजन्य वस्तु निर्यातमा समस्या भोग्नुपरेको किसानहरुको गुनासो छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment