झापाकी मोबिना, जसले एकै वर्षमा लोकसेवाका सात परीक्षा उत्तीर्ण गरिन्

२०८० चैत्र २० गते , मंगलबार


बिर्तामोड । मेहनत गरे अवश्य सफलतामा हात पार्न सकिन्छ भन्ने उदाहरण बनेकी छन् झापा दमककी मोबिना खातुन । लोक सेवा आयोगको परीक्षामा एक वर्षभित्रै ७ वटा परीक्षामा उत्तीर्ण गर्ने उनी हाल कृषि विकास बैङ्कमा कार्यरत छिन् ।


कृषि विकास बैङ्क राजविराजमा व्यवसाय अधिकृतको रुपमा कार्यरत मोबिनाले ०७८-७९ मा लोकसेवा आयोगमा ७ वटा परीक्षा दिएकी थिइन् । लोक सेवा परीक्षाका लागि तयारी गर्दा यति धेरै परीक्षामा नाम निस्केला भन्ने उनले सोचेकी पनि थिइनन् । तर, एक वर्षमा ७ वटै परीक्षामा उत्तीर्ण हुन सफल उनी सम्भवतः नेपालकै पहिलो मुस्लिम समुदायकी महिला हुन् ।
पहिलो पटक नेपाल बैङ्क लिमिटेडको सहायक पदमा परीक्षा पास गर्न सफल उनले लगातार बैङ्ककै परीक्षा दिइरहिन् । उनले कनिष्ठ सहायक (नेपाल बैङ्क लिमिटेड), सहायक (राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड), वरिष्ठ सहायक (राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड), सहायक प्रबन्धक (राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड), व्यवसाय सहायक (कृषि बैङ्क लिमिटेड) मा नाम निकाल्न सफल भइन् । अहिले व्यवसाय अधिकृतको रुपमा कार्यरत खातुनले इच्छा भए सोही अनुसारको मेहनत गर्दा सफलता अवश्य प्राप्त हुने बताउँछिन् ।
बुबा लाल महमद मंसुर र माता साहजहान खातुनको छोरी मोविना बारा कलैयाबाट विवाह गरेर झापा दमक आएकी हुन् । उनी व्यवसाय गर्ने परिवारमा हुर्किएकै कारण बैङ्क क्षेत्रमा प्रवेश गरेको बताउँछिन् । उच्च शिक्षा अध्ययन गरेको समयमा बुबाले बैङ्कमा व्याज तिर्न, पैसा जम्मा गर्न बैङ्क पठाउने गर्थे । उनले भनिन्, ‘बैङ्कभित्र प्रवेश गरेपछि सधैँ आनन्द लाग्थ्यो । यसैगरी बैङ्क क्षेत्रमै प्रवेश गर्न पाए कस्तो हुन्थ्यो होला भन्दै सधैँ कल्पना गर्थेँ ।’
बैङ्कप्रति आकर्षित उनले क्याम्पस तहमा बिबिएस अध्ययन सुरु गरिन् । बैंकर्स बन्ने अठोट बोकेर बिबिएस अध्ययन सुरु गरेकी उनको त्यसै बीचमा विवाह भएर झापाको दमक आएको सुनाइन् ।
श्री ३ चन्द्र मावि कलैया बाराबाट एसएलसी, हरि खेतान बहुमुखी क्याम्पस वीरगन्ज पर्साबाट स्नातक तह र विवाह पश्चात् दमक बहुमुखी क्याम्पसबाट एमबिएस अध्ययन पूरा गरिन् । उनको विवाह पनि व्यापारिक परिवारमै भयो । परिवारबाट पनि ठुलो सहयोग भएकै कारण मेहनत अनुसारको सफलता हात पारेको उनको भनाइ छ ।
परीक्षाको तयारी गरिरहेकै बेला कोरोना संक्रमण फैलियो, उनले भनिन्, त्यो बेला हतोत्साहित भएँ । समयमा परीक्षा नहुने, कतिपय परीक्षाको सन्दर्भमा लोकसेवामा मुद्दा मामिला हुँदा समस्या भोग्नु परेको थियो ।
पहिलो पटक नेपाल बैङ्क मोरङको विराट चोक शाखामा कार्यरत उनले जति नै खर्च गरेर अध्ययन गरे पनि इन्ट्रेसको विषय नभए सफल बन्न कठिन हुने बताइन् । ‘मैले लोकसेवाबाट खुल्ने सबै परीक्षाको लागि सधैँ तयारी गर्थेँ, परीक्षाका लागि आवेदकहरू भरिरहन्थेँ । अनलाइन कक्षाहरु लिने गर्थेँ । त्यसै अनुसारको सिलेवस खोजेर अध्ययन गर्थेँ’, विगत सम्झिँदै उनले थपिन्, ‘घरपरिवारको कामको सहजताका लागि बिहान ३ बजेदेखि पढ्ने रुटिन थियो । व्यापारिक परिवार भएकाले दायित्व पनि धेरै थियो । तर, समय आफै व्यवस्थापन गरेर पढ्ने वातावरण तयार गरेको थिएँ ।’
विद्यालय जीवनमा पनि अध्ययनमा सधैँ उत्कृष्ट मोबिनालाई पढ्न बसेपछि उठ्नै मन लाग्दैनथ्यो । उनी भन्छिन्, ‘सबैभन्दा ठुलो कुरा भनेको इच्छा मात्र रहेछ । मेहनत गर्दा सबै काम सहज छन्, मेहनत नगर्दा सबै काम असहज लाग्छन् । मैले मेहनत गरेँ, सबै परीक्षाहरू सहज नै लाग्यो ।’ कोसिस गर्नेहरूका लागि कुनै काम कठिन नहुने उनको तर्क छ ।
उनले लोकसेवा अध्ययनमा मुख्यतः रुचि नै जरुरीको विषय भएको बताउँछिन् । रुचि भए अध्ययन पनि मेहनतका साथ गर्न सकिन्छ । अझ, महिलालाई संविधान बमोजिम नै कोटाको व्यवस्था गरेको हुनाले त्यसको उपयोग गर्न सक्नुपर्ने उनको धारणा छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment