गोरुले हान्दा झापाको गौरादहमा एक जनाको मृत्यु

२०८१ कार्तिक १६ गते , शुक्रबार

झापाको गौरादहमा आफ्नै गोरुले हानेर एक जनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् । गौरादह– ७ जामबारी बस्ने अन्दाजी ४८ वर्षीय कृष्ण शर्माको आफ्नै गोरुले हानेर मृत्यु भएको हो । बुधबार साँझ ५:४० बजे बारीमा बाँधेको आफ्नै गोरु सार्ने क्रममा उक्त गोरुले हानेर शर्मा घाइते भएका थिए । उनलाई उपचारको लागि लाइफ लाइन अस्पताल दमक लगिएको थियो ।

ढाडको ७ वटा करङ भाँचिएका शर्मालाई थप उपचारको लागि नोबेल अस्पताल विराटनगर रेफर गरिएकोमा बिहीबार दिउँसो ४:२० बजे उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । सोही गोरुलाई समाउने क्रममा छिमेकी अन्दाजी ४५ वर्षीय रविन राजवंशी गम्भीर घाइते भएका छन् ।
टाउकोमा चोट लागेर लाइफ लाइन अस्पताल दमकमा उपचार भइरहेकोमा थप उपचारका लागि उनलाई नोबेल अस्पताल विराटनगर लगिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । करिब चार वर्षअघि आफ्नै घरमा पालेको गोरुले हानेर मेचीनगर–१४ प्रणामी नगरका ५० वर्षीय विष्णुप्रसाद श्रेष्ठको पनि मृत्यु भएको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment