बिर्तामोड नगरपालिकामा उपप्रमुख र वडाध्यक्षबीच कार्यालयमै झन्डै हात हालाहाल

बिर्तामोड, झापा | साउन १४


फेसबुकमा लेखिएको टिप्पणीलाई लिएर बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र सङ्ग्रौला र वडा नं. ९ का वडाध्यक्ष अजय कार्कीबीच कार्यालयमै झन्डै हात हालाहालको स्थिति सिर्जना भएको छ।
जनताको अमूल्य मतबाट निर्वाचित जनप्रतिनिधिहरूबीच नगरपालिका कार्यालयभित्रै भएको अशोभनीय र अमर्यादित क्रियाकलापप्रति अहिले सामाजिक सञ्जालमा चौतर्फी आलोचना भइरहेको छ।
घटना विवरण
मंगलबार दिउँसो उपप्रमुख सङ्ग्रौलाको कार्यकक्षमा वडाध्यक्ष कार्की करिब ३० जना समर्थकसहित पुगेपछि विवाद चर्किएको हो। विवादका क्रममा दुवै जनाबीच धकेलाधकेल र चर्काचर्की भएको, एक–अर्काप्रति अपशब्द प्रयोग गरिएको देखिएको छ।
उपप्रमुख सङ्ग्रौलाले फेसबुकमार्फत वडाध्यक्ष कार्कीमाथि
“नागरिकता बेचेर खाने, राष्ट्रद्रोही, जेल जानुपर्ने मानिसलाई पुनः चुनाव लड्न दिने...”
जस्ता आपत्तिजनक टिप्पणी गरेका थिए।
उक्त पोस्ट प्रति आक्रोश व्यक्त गर्दै कार्की पक्षले कार्यकक्षमै भिड खोजेको थियो।
दुवैको प्रतिक्रिया
वडाध्यक्ष कार्कीले “फेसबुकमा सार्वजनिक रूपमा अपमानजनक शब्द प्रयोग गरिएकाले बुझ्न गएका मात्र हौँ” भन्ने प्रतिक्रिया दिएका छन्।
उता उपप्रमुख सङ्ग्रौलाले भने “वडाध्यक्षले मेरो चरित्र हत्या गर्ने उद्देश्यले सामाजिक सञ्जाल र अन्य माध्यमबाट गलत प्रचार गरेपछि आफूले सो प्रतिक्रिया दिएका” बताएका छन्।
भिडियो सामाजिक सञ्जालमा भाइरल
घटनाको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै जनप्रतिनिधिहरूको अमर्यादित व्यवहारको व्यापक आलोचना भइरहेको छ।
सुरक्षाकर्मीको उपस्थितिमा घटना नियन्त्रण
स्थिति बिग्रँदै गएपछि प्रहरीको टोली घटनास्थल पुगेर दुवै पक्षलाई छुट्याएको थियो।
एक नगरवासीले भने, “जसलाई हामीले मत दिएर जितायौँ, उनीहरू नै कार्यालयमा यसरी झगडा गर्छन् भने नगरको अवस्था के होला?”

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment