इलामसहित कोशी प्रदेशमा हात्तीको आक्रमणबाट ९७ को ज्यान— वन्यजन्तुसँग द्वन्द्व बढ्दो

इलाम, साउन १४ ।


पछिल्ला दुई दशकमा कोशी प्रदेशमा हात्तीको आक्रमणबाट ९७ जनाको ज्यान गएको छ भने ४१ वटा हात्तीको मृत्यु भएको छ। वन्यजन्तु तथा मानवबीचको द्वन्द्व झनै चर्किंदै गएको देखिन्छ।

धरानस्थित प्रदेश वन निर्देशनालयका प्रमुख डा. इन्द्रप्रसाद सापकोटाका अनुसार आर्थिक वर्ष २०६२/६३ देखि चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्मको तथ्यांकअनुसार झापा, मोरङ, सुनसरी, उदयपुर र इलाममा यस्तो मानवीय क्षति भएको हो।

सबैभन्दा बढी मानवीय क्षति झापामा भएको बताइएको छ। उनका अनुसार झापामा ७२, मोरङमा १७, सुनसरीमा ७ र इलाममा १ जनाको ज्यान गएको छ। घाइतेमध्ये ८७ जना गम्भीर र १५ जना सामान्य घाइते भएको निर्देशनालयले जनाएको छ।

भारतबाट पस्ने हात्ती प्रमुख कारण
प्रमुख सापकोटाले भारतबाट आउने हात्तीहरू झापामार्फत प्रदेशमा प्रवेश गर्ने भएकाले सबैभन्दा बढी क्षति झापामा हुने गरेको बताए। इलामको दक्षिणी भेगमा पनि समय–समयमा हात्ती देखा पर्ने र मानवीय क्षति हुन थालेको जनाइएको छ।
सोही अवधिमा हात्ती मर्ने घटनामा पनि झापा अगाडि देखिएको छ। निर्देशनालयको तथ्यांकअनुसार झापामा २५, मोरङमा ९, सुनसरीमा ६ र उदयपुरमा १ वटा हात्तीको मृत्यु भएको हो।

बढ्दो द्वन्द्व, बढ्दो खर्च
सरकारले वन्यजन्तुको संरक्षण, क्षतिपूर्ति तथा राहत, कृषिबालीको क्षतिपूर्तिमा ठूलो धनराशि खर्च गर्दै आएको छ। संघीय सरकारले हात्तीको आक्रमणबाट ज्यान गुमाउने परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने व्यवस्था गरेको छ। यस्तै घाइतेलाई २५ हजारदेखि १ लाख रुपैयाँसम्म सहयोग दिइँदै आएको छ।

इलाममा पनि सतर्कता आवश्यक
निर्देशनालयका अनुसार वन्यजन्तुसँगको द्वन्द्व न्यूनीकरणका लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारले ५० लाख रुपैयाँको बाली बीमा कार्यक्रम ल्याएको छ। सो बजेट डिभिजन वन कार्यालयमार्फत स्थानीय सरकारसँग समन्वयमा खर्च गरिने छ।
डा. सापकोटा भन्छन्, “स्थानीयवासी पनि वन्यजन्तुसँगको द्वन्द्व न्यूनीकरणमा गम्भीर हुने हो भने क्षति कम गर्न सकिन्छ।” उनले हात्ती प्रभावित क्षेत्रमा बाली बीमा कार्यक्रम प्रभावकारी भएमा त्यसलाई संघीय स्तरमा दिगो र कानुनीरूप दिन सकिने विश्वास व्यक्त गरे।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment