एक महिनामै भत्कियो कालोपत्र सडक, स्थानीय आक्रोशित

भोजपुर, साउन ३ ।


भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा असार महिनामा कालोपत्र गरिएको गुम्बा–कोट–दिप्सा–पाँचधारे सडक निर्माणको गुणस्तरप्रति स्थानीयवासी आक्रोशित भएका छन् । निर्माण भएको एक महिनामै सडक भत्किनुका साथै बीचमा घाँस उम्रिएपछि स्थानीय चिन्तित बनेका हुन् ।
टेम्केमैयुङ–६ का वडाध्यक्ष सूर्यप्रसाद नेपालका अनुसार सडक निर्माणमा अत्यधिक लापरवाही देखिएको छ । “सडक भर्खरै कालोपत्र गरिएको हो, तर अहिले नै उप्किन थालेको छ,” उहाँले भन्नुभयो, “सडकबीच घाँस उम्रिएको छ, जुन प्रष्टै देखिने लापरवाही हो ।”
सडक डिभिजन कार्यालय तुम्लिङटार अन्तर्गत आर एन आर आर कम्पनीले गुम्बाबाट एक किलोमिटर सडक कालोपत्र गरेको हो । तर, निर्माणको सुरुवातमै यस्तो गुणस्तरहिन काम भएपछि टेम्केमैयुङसहित खोटाङ जोड्ने सडकबारे आशंका बढेको वडाध्यक्ष नेपालले बताउनुभयो ।
टेम्केमैयुङ–७ का वडाध्यक्ष बालबहादुर खड्काले पनि गैरजिम्मेवार ढंगमा काम भएकाले ठेकेदारलाई कारबाही गर्न माग गर्नुभयो । सडक निर्माणमा नाली नबनाइनु, योजना बोर्ड नजोडिनु, बजेटबारे स्पष्टता नहुनुजस्ता कुराले समेत स्थानीय निराश बनेका छन् ।
स्थानीय शरण राईले भने, “सडक बनाउने बेला उत्साह थियो, अहिले निराशा छ । राज्यले यसमा छानबिन गर्नुपर्छ ।”

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment