रम्भ्याङ स्वास्थ्य इकाइलाई साढे दुई लाख बराबरको विदेशी सहयोग हस्तान्तरण

✍ गोविन्द पौडेल
साउन ७, माइपोखरी न्युज | राेङ, इलाम


इलामको राेङ गाउँपालिका–६ मा अवस्थित रम्भ्याङ आधारभूत स्वास्थ्य इकाइलाई साढे दुई लाख रुपैयाँ बराबरको सहयोग हस्तान्तरण गरिएको छ। भाैतिक पूर्वाधार विकास तथा स्वास्थ्य सामग्री खरिदमा खर्च हुने गरी उक्त सहयोग एक विशेष कार्यक्रमकाे बीच हस्तान्तरण गरिएको हो।
सहयोग "SpendenDirekt (स्पेन्ड डिरेक्त)" नामक विदेशी संस्थाबाट प्रदान गरिएको हो, जुन नमुना विकास केन्द्रको समन्वयमा सम्पन्न भएको गाउँपालिकाले जानकारी दिएको छ।
सहयोग अन्तर्गत स्वास्थ्य इकाइको भवनको सुधार (जस्तै सिलिङ पाटिसन) तथा दैनिक स्वास्थ्य सेवा प्रवाहमा आवश्यक आधारभूत सामग्रीहरू प्रदान गरिएको छ।
सहयोग हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष
सहयोग हस्तान्तरण समारोहमा गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्वा प्रमुख अतिथि थिए भने उपाध्यक्ष विष्णुमाया खवास विशेष अतिथि थिइन्।
कार्यक्रममा बोल्दै अध्यक्ष स्याङ्वाले भने, "गाउँपालिकामा धेरै पूर्वाधारका आवश्यकता भए पनि स्रोत र साधनको सीमितताले सबै माग पूरा गर्न सकिएको छैन। यस्तो अवस्थामा आएको विदेशी सहयोगले अत्यन्त सहयोग पुगेको छ।"
त्यस्तै, उपाध्यक्ष खवासले रम्भ्याङ स्वास्थ्य इकाइमा सेवाग्राहीको चाप बढी भएकाले त्यसको विकासमा गाउँपालिका निरन्तर लागिरहने बताइन्।
"स्वास्थ्य सेवा सरल र प्रभावकारी बनाउन सहयोगी संस्थाको योगदान अत्यन्तै महत्वपूर्ण छ," उनले भनिन्।
स्वास्थ्य शाखाको प्रतिक्रिया
राेङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दीपक खतिवडाले अभावको अवस्थाबीच प्राप्त सहयोगले स्वास्थ्य सेवाको पहुँच र प्रभावकारिता बढाउने विश्वास व्यक्त गरे।
"परोपकारी संस्थाको यस्तो सहयोगले स्थानीय सेवा प्रवाह सहज हुन्छ," उनले भने।
त्यस्तै, नमुना विकास केन्द्रका कोषाध्यक्ष तथा कार्यक्रम समन्वयकर्ता रुद्र प्रधानले दुर्गम क्षेत्रका स्वास्थ्य सेवामा सुधार होस् भन्ने विश्वाससाथ यो सहयोग गरिएको बताए।
"स्थानीय नागरिक तथा सेवाग्राहीलाई प्रत्यक्ष लाभ मिलोस् भन्ने उद्देश्यले यो साझेदारी गरिएको हो," उनको भनाइ थियो।
राेङ गाउँपालिका–६ मा रहेको रम्भ्याङ स्वास्थ्य इकाइका लागि प्राप्त यो विदेशी सहयोगले स्वास्थ्य सेवा सुधारमा महत्त्वपूर्ण टेवा पुर्‍याउने अपेक्षा गरिएको छ। स्रोत र साधनको अभावका कारण स्तरीय स्वास्थ्य सेवा दिन चुनौती भइरहेको बेला यस्ता सहयोगले स्थानीय सरकारलाई थप हौसला प्रदान गर्ने विश्वास गरिएको छ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment