भदौ ८, २०८२
बिर्तामोड । पछिल्लो समयमा झापा बिर्तामोडका होटलभित्रै लागूऔषध बेचबिखन धन्दा चलिरहेको पाइएको छ । प्रहरीले अहिलेसम्म होटलबाट लागू औषधसहित ६ जनालाई पक्राउ गरेको छ । यसै क्रममा प्रहरीले शनिवार साँझ बिर्तामोड नगरपालिका– ३ सैनिक मोडबाट लागू औषधसहित एक जनालाई पक्राउ गरेको छ ।
आँखा अस्पतालनजिक रहेको सेभेन इन होटलको क्याबिनमा बिर्तामोड-५ शुभबिहानी टोल बस्ने ३३ वर्षीय सुरज गुरुङले लागूऔषध बिक्री वितरण गरिरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकी बिर्ता बजारबाट खटिएको प्रहरी सहायक निरीक्षक पदम विष्टको टोलीले चेकजाँच गर्दा उनको साथबाट प्लास्टिकबाहेक ३९० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।
उनले प्रयोग गरेको प्र१–०१–०१२प १०४६ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ । यसअघि गत साउन २६ गते मेची आँखा अस्पतालनजिकै रहेको मेचीवान् होटेलबाट लागू औषधसहित पाँच जना युवालाई प्रहरीले पक्राउ गरेको थियो ।

0 comments:
Post a Comment