इलाममा अविरल वर्षासँगै पहिरो: बाटो अवरुद्ध, घर जोखिममा, एक जनाको ज्यान गयो

 

इलाम, साउन २८ । इलाम जिल्लामा लगातारको वर्षापछि विभिन्न स्थानमा पहिरो जाँदा जनजीवन प्रभावित भएको छ। पहिरोका कारण भित्री सडकहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् भने एक जनाको ज्यान गएको पुष्टि भएको छ।
जिल्लाको फाकफोकथुम गाउँपालिका-१ पंचेवा स्थित आमचोकदेखि घुरमिसे–पञ्चमी हुँदै राँके इलामतर्फ जाने कच्ची भित्री सडक खण्ड लेदो सहितको पहिरोले पूर्ण रूपमा अबरुद्ध भएको छ। इलाका प्रहरी चौकी आमचोकबाट प्रहरी टोली खटाई पहिरो हटाउने काममा समन्वय भइरहेको छ।
यस्तै, माई नगरपालिका–९ सोक्तिम स्थित इलाम–बिर्तामोड भित्री सडक खण्डमा समेत रातको समयमा भारी वर्षासँगै रुख सहितको पहिरो जाँदा सडक पूर्ण रूपमा अबरुद्ध भएको छ। इलाका प्रहरी चौकी चिसापानीबाट प्रहरी निरीक्षक बुद्धि कटुवालको कमाण्डमा टोली परिचालन भई अबरुद्ध सडक खुलाउन समन्वय भैरहेको जानकारी प्राप्त भएको छ।
यसैगरी, इलाम नगरपालिका–११ सोयाङ स्थित गोलाखर्कबाट केचना–कंचनजंघा फास्ट ट्र्याक सडक खण्डमा समेत पहिरो जाँदा सडक बन्द भएको छ। इलाका प्रहरी चौकी गोलाखर्कबाट समन्वय भई सडक खुलाउने प्रयास जारी रहेको छ।
घर जोखिममा
सुर्योदय नगरपालिका–६ हर्कटे स्थित केशर कटुवालको घर माथिबाट आएको पहिरोका कारण घर जोखिममा परेको छ। भाग्यवश मानवीय तथा चौपायामा कुनै क्षति नभएको इलाका प्रहरी चौकी हर्कटेले जनाएको छ।
जिर्ण घर भत्किँदा आमा छोरी सामान्य घाइते
इलाम नगरपालिका–९ गोलबस्तीस्थित राकेश थापा मगरको इटा-माटो र टिनको छानाको दुई तले घर जिर्ण भई वर्षाका कारण भत्किँदा सोही घरमा डेरा गरी बस्दै आएकी सुकबिर लिम्बूकी श्रीमती भावना सुब्बा (३५) र छोरी अनुस्का सुब्बा (१४) सामान्य घाइते भएका छन्। घाइते दुवै जनालाई जिल्ला अस्पताल इलाममा उपचारपछि बिहान ७:०० बजे डिस्चार्ज गरिएको छ। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
लेदो सहितको पहिरोमा परि एक वृद्धको मृत्यु
सबैभन्दा दुःखद खबर रोङ गाउँपालिका–४ मानाबुङबाट प्राप्त भएको छ। ऐलै बस्ने ६० वर्षीय अविवाहित बिरबहादुर राई (कान कम सुन्ने) घरबाट करिब ३०० मिटर पश्चिमतर्फ पैदल हिँडिरहेको अवस्थामा अचानक आएको लेदो सहितको पहिरोमा परि घटनास्थलमै मृत्यु भएको हो।
घटनाबारे प्रहरी चौकी किटेनीमा खबर आएपछि टोली खटिएको थियो भने थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक छे फिन्जो भोटेको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको जानकारी इलामका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मान बहादुर राईले दिनुभएको छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment