भद्रपुर – झापाको भद्रपुरमा लागूऔषध कारोबारमा संलग्नको खोजतलासका क्रममा प्रहरीमाथि घरेलु हतियार देखाएर आक्रमणको प्रयास भएको छ।
साउन २५ गते दिउँसो १ बजेतिर भद्रपुर–५ बस्ने सन्तोष श्रेष्ठको घरमा लागूऔषध ‘ब्राउनसुगर’को कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र प्रहरी चौकी घोडामाराबाट खटिएको टोलीले खानतलासी गर्दा कालो प्लास्टिकमा पोका पारेको २ ग्राम ४५० मिलिग्राम ब्राउनसुगर फेला पारेको थियो।
प्रहरीले श्रेष्ठलाई पक्राउ गर्न खोज्दा उनकी श्रीमती लक्ष्मी राजवंशी र मामा ससुरा शम्भु राई (५२) ले खुकुरी बोकेर लखेट्दै आक्रमणको प्रयास गरेका थिए। डीएसपी तथा सूचना अधिकारी खगेन्द्र खड्काका अनुसार राईले प्रहरीको बाटो छेक्दै अपशब्द बोलेका साथै आसपासका महिला तथा वृद्धलाई समेत आतंकित बनाएका थिए।
अवरोधका बीच केही समयपछि प्रहरीले श्रेष्ठ, उनकी श्रीमती र मामा ससुरा राईलाई नियन्त्रणमा लिएको थियो। श्रीमती राजवंशीलाई सोही दिन रिहा गरिएको भए पनि राईमाथि मुलुकी अपराध संहिता २०७४ बमोजिम अभद्र व्यवहार कसुरमा मुद्दा दायर गरी जिल्ला प्रशासन कार्यालयबाट ५ दिनको म्याद लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
0 comments:
Post a Comment