झापामा रुखमा बाँधिएका वृद्धको मृत्यु, छोरासहित चारजना नियन्त्रणमा

साङ्केतिक तस्विर 

लसुनाम, झापा – झापामा एक वृद्धलाई रुखमा बाँधेर राखिएको अवस्थामा मृत फेला पारिएको घटनाले समुदायमा गम्भीर प्रश्न खडा गरेको छ। झापा गाउँपालिका–१ स्थित लसुनामा मादक पदार्थ सेवन गरेर घरबाहिर पुगेका स्थानीय ६० वर्षीय जतन सोरेनलाई छिमेकीहरूले रुखमा बाँधेर राखेपछि उनको मृत्यु भएको हो।
घटनाबारे जानकारी पाएको झापा प्रहरीले आज बिहान ४ बजे उनी मृत अवस्थामा फेला परेको पुष्टि गरेको छ। मंगलबार राति साढे १० बजेतिर मदिरा सेवन गरेका वृद्ध सोरेन छिमेकी महादेव टुडुको घरअगाडि गल्लीमा कामिरहेका थिए। त्यसपछि टुडु लगायतका स्थानीयले उनीमाथि नियन्त्रण राख्न भन्दै आमको रुखमा प्लास्टिकको डोरीले बाँधेर राखेका थिए।
तर अवस्था नियन्त्रणको नाममा गरिएको यो व्यवहार जतनको ज्यानकै कारण बन्न पुग्यो।
घटनापछि जिल्ला प्रहरी कार्यालय झापाबाट टोली खटिएको थियो। अनुसन्धानको प्रारम्भिक चरणमा प्रहरीले घटनामा संलग्न भएको आशंकामा मृतकका छोरा २७ वर्षीय अन्तलाल सोरेन, छिमेकी महादेव टुडु, २० वर्षीय लुखिराम टुडु र २१ वर्षीय लखिराम टुडुलाई नियन्त्रणमा लिएको जनाएको छ।
मानवीय संवेदनामाथि प्रश्न
स्थानीयस्तरमा मादक पदार्थ सेवन गर्ने व्यक्तिहरूमाथि हुने व्यवहार र त्यसले निम्त्याउने परिणामबारे यो घटनाले गम्भीर सन्देश दिएको छ। वृद्धावस्थामा पुगेका व्यक्ति सामाजिक सुरक्षाको अपेक्षा राख्छन्, तर नियन्त्रणको नाममा सार्वजनिक रूपमै बाँधेर राख्ने अभ्यास खतरनाक सिद्ध हुन सक्छ भन्ने उदाहरण बनेको छ यो।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment