श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज देशभर रक्षाबन्धन (डोरो) बाँध्ने र नयाँ यज्ञोपवीत (जनै) धारण गर्ने परम्परा उल्लासपूर्वक मनाइँदै छ। बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीहरू नदी, ताल, पोखरी तथा कुण्डमा स्नान गरी गुरु–पुरोहितमार्फत मन्त्रोच्चारणसहित रक्षासूत्र बाँधिरहेका छन्।
धार्मिक विश्वासअनुसार मन्त्रिएको रक्षासूत्रले नकारात्मक शक्तिबाट सुरक्षा प्रदान गर्छ। पौराणिक कथाअनुसार सत्ययुगमा दानवद्वारा पीडित देवगणलाई गुरु वृहस्पतिले डोरो बाँधेर रक्षा गरेका थिए, जसलाई रक्षाबन्धनको शुरुवात मानिन्छ। आज पनि ‘येन बद्धो बलिराजा…’ मन्त्र उच्चारण गर्दै दाहिने नाडीमा रक्षासूत्र बाँध्ने चलन अविचलित छ।
आजकै दिन ब्राह्मण, क्षत्री र वैश्य समुदायका तागाधारीहरूले नयाँ जनै फेर्ने प्रथा छ। यसका लागि चतुर्दशीदेखि व्रत बस्ने, श्रावणी स्नान गर्ने र ऋषितर्पण गरी वैदिक विधिअनुसार जनै फेर्ने विधान छ।
काठमाडौँको पशुपतिनाथ, गोसाइँकुण्ड, कुम्भेश्वर लगायतका तीर्थस्थलमा भक्तजनको भीड लागेको छ भने इलाममा पनि माईपोखरी, फिक्कलको पाथिभरा मन्दिर, मंगलबारेको शिव मन्दिर र विभिन्न खोलापोखरीमा बिहानैदेखि स्नान गर्ने, पूजा गर्ने र डोरो बाँध्नेको भीड देखिएको छ। स्थानीयहरू विशेषगरी मन्दिर र धार्मिक स्थल वरपर क्वाँटी पकाउने तयारीमा व्यस्त छन्।
यस दिन एघार थरी गेडागुडी मिसाएर बनाइने क्वाँटी खाने परम्परा इलामका गाउँघरमा अझै जीवित छ। बर्खायामको चिसो हटाउन र शरीरलाई तन्दुरुस्त राख्न क्वाँटी लाभदायी हुने मान्यता छ।
नेपालका तराई क्षेत्रमा भने दिदी–बहिनीहरूले दाजुभाइलाई राखी बाँधेर मनाउँछन्। पछिल्ला वर्षहरूमा इलामसहितका पहाडी क्षेत्रमा पनि यो चलन विस्तार हुँदै गएको देखिन्छ।
मणिचूड, गोसाइँकुण्ड, पाँचपोखरी, जनकपुरधामदेखि इलामको माईपोखरीसम्म आजको दिन धार्मिक श्रद्धा, सांस्कृतिक उत्साह र पारिवारिक प्रेमको सुगन्धले भरिएको छ।
0 comments:
Post a Comment