इलाम – इलाम नगरपालिका–१० गोदकस्थित राजदुवाली टप्पुमा निर्माण भइरहेको अन्तर्राष्ट्रियस्तरको ‘माइभगवती रंगशाला’ सात वर्ष बितिसक्दा पनि बजेट अभावकै कारण अलपत्र छ। प्रदेश सरकार र संघीय तहले निरन्तर बेवास्ता गरेपछि अहिले निर्माणस्थल झाडीले ढाकिएको छ भने बनेका संरचना जीर्ण बन्दै गएका छन्।
सन् २०१८ तिर सुरु गरिएको यो आयोजना अहिले सम्म करिब १२० रोपनी क्षेत्रमा फैलिएको छ। अहिलेसम्म कोशी प्रदेश सरकार र इलाम नगरपालिकाको समपूरक अनुदानमार्फत ४ करोड ८ लाख २३ हजार रुपैयाँ खर्च भइसकेको छ। सो रकमबाट पर्खाल, प्याराफिट र रेलिङ निर्माणजस्ता आधारभूत संरचना मात्रै बनेका छन्।
नगरपालिकाका इञ्जिनियर क्षितिज दाहालका अनुसार हालसम्मको काम रंगशालाको कुल प्रगतिमा १० प्रतिशत मात्र छ।
लगातार तीन वर्षदेखि बजेट नआएको
यस परियोजनामा प्रारम्भिक चरणमा यस्ता विनियोजन भएका थिएः
-
आ.व. २०७६/७७ – रु १ करोड ३६ लाख
-
आ.व. २०७७/७८ – रु ८४ लाख १९ हजार
-
आ.व. २०७८/७९ – रु ८४ लाख १९ हजार
-
आ.व. २०७९/८० – रु १ करोड २ लाख ९८ हजार
तर पछिल्ला तीन आर्थिक वर्षदेखि कुनै बजेट विनियोजन हुन सकेको छैन।
‘प्रदेश सरकारको सहयोग बिना सम्भव छैन’
५० करोड लाग्ने अनुमान, तर बीचमै अवरोध
विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार यो रंगशाला निर्माण सम्पन्न गर्न करिब रु ५० करोड लाग्ने अनुमान गरिएको छ।
तर निर्माणस्थलमाथिबाट हाल गोदक पावर स्टेसनतर्फ जाने उच्च भोल्टेज विद्युत् लाइन गुज्रिएको छ। यो लाइन इलाम, पाँचथर र ताप्लेजुङमा उत्पादित विद्युत् वितरणअघि जाने मूल ट्रान्समिसन लाइन हो। भविष्यमा रंगशालाभित्र अन्तर्राष्ट्रियस्तरको खेल आयोजना गर्नुअघि सो विद्युत् लाइन व्यवस्थापन नगरे रंगशालाको उपयोगमै चुनौती पर्ने प्राविधिकहरूले बताएका छन्।
स्थानीयको आशा
इलाम र आसपासका जिल्लावासी भने यो रंगशाला निर्माणले पूर्णता पाएपछि फुटबल र क्रिकेटसहितका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सकिने आशामा छन्। खेल पर्यटनसँगै स्थानीय अर्थतन्त्रमा ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको छ।

0 comments:
Post a Comment