- पार्थ मण्डल
झापा । तोकिएको समय अवधिभित्र जिल्लाकै बहुप्रतिक्षित सडक निर्माण नगरेको भन्दै आक्रोशित स्थानीयहरुले कार्यक्रम स्थलमै निर्माण व्यवसायीलाई कुट्न खोजेका थिए ।
मेची राजमार्गको बागाडगी–सितागढीहुँदै बालुवाडी–हल्दीबारीमार्ग भएर बिर्तामोडसम्म जोड्ने अधुरो सडक निर्माणबारे आइतबार हल्दीबारी गाउँपालिका–४, मंगलबारेमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी स्थानीयहरुले मञ्चमा बसेका निर्माण व्यवसायीहरु दिपेन्द्र कार्की र केशव तुवाना वासुलाई झन्डै हातपात गर्न खोजेका हुन् ।
पूर्वाधार विकास कार्यालय झापाले आयोजना गरेको सुनवाई कार्यक्रममा कोशी प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री भूपेन्द्र राई तथा राज्यमन्त्री भूमिप्रसाद राजवंशी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम सुरु भए लगतै सडक निर्माणको जिम्मा पाएका ठेकेदारले बेवास्ता गरी जनतालाई दुःख दिने काम गरेको आक्रोश पोख्दै स्थानीयहरुले मञ्चमा बसिरहेका निर्माण व्यवसायीहरूमाथि नै झम्टिन खोजेका थिए । कार्यक्रम स्थलमा तैनाथ सुरक्षाकर्मीले उनीहरूलाई रोकेर सम्झाइबुझाई गरेका थिए । स्थानीयहरुले सडक निर्माणमा भएको ढिलासुस्ती र गुणस्तरबारे निर्माण कम्पनीलाई जबाफदेही बनाउन दबाबसमेत दिएका थिए । स्थानीयहरूको आक्रोश पश्चात् सहभागी निर्माण व्यवसायीले अबको निर्माण कार्यलाई तीव्र गतिमा अघि बढाउँदै २०८२ चैत मसान्तभित्र सडक सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए ।
साथै पूर्वाधार मन्त्री राई, राज्यमन्त्री राजवंशी, संविधानसभा सदस्य पूर्णप्रसाद राजवंशी, प्रदेशसभा सदस्य मोहन महर्जन, छविलाल चुँडाल र हल्दीबारी गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिंङदेनसहितका जनप्रतिनिधिको उपस्थिति निर्माण व्यवसायले मन्त्रालयले तयार पारेको माइन्युटमा हस्ताक्षर गर्दै तोकिएको म्यादभित्र काम नसके कारबाही स्वीकार गर्ने घोषणा नै गरेका छन् । सो सडकको ठेक्का एमएस धुकुछु–विकास–भुवनेश्वर जेभी, काठमाडौँले भ्याटसहित ३३ करोड ४० लाख १३ हजार ९२५ रुपैयाँमा लिएको छ ।
२०७८ साल कार्तिक ७ गते ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले सो सडक २०८० असोज १८ गतेसम्म बनाइसक्नु पर्ने थियो । ५.५ मिटर चौडाइ, १५.२१ किलोमिटर लम्बाई रहेको सडकको अहिलेसम्मको भौतिक प्रगति २५ प्रतिशत मात्र रहेको छ । हालसम्म भ्याटसहित १० करोड ३ लाख ८० हजार ३१० रुपैयाँ भुक्तानी लिइसकेको निर्माण कम्पनीले दोस्रो पटकका लागि २०८२ चैत ११ गतेसम्म म्याद थपेको जनाइएको छ ।
कार्यक्रममा बोल्दै पूर्वाधार मन्त्री राईले प्रदेशभरि अधुरो रहेका योजनाहरूको तथ्याङ्क निकालेर मन्त्रालयमा बसेर छलफल र निर्देशन दिनुभन्दा निर्माण स्थलमै पुगेर त्यस्ता योजनाहरूलाई निर्माण सम्पन्न गराउने अभियानमा लागि परेको बताए । ‘अधुरो रहेका योजनाहरूको छलफल अब पर्दा पछाडि हुँदैन, त्यसैले सडक बारे जनताको गुनासो सुन्न यो कार्यक्रमको आयोजना गर्न लगाएका हौँ,’ मन्त्री राईले भने । जनतामा एउटा भ्रम छ । निर्माण व्यवसायीहरूसँग मन्त्री, सचिव, कार्यालय प्रमुख र कर्मचारी मिलेर रकम झ्वाम्म पार्ने र हामी अलपत्र सडकमा बस्नु पर्ने जुन जनताको आवाज छ त्यसलाई सम्बोधन गर्न पनि हामी आएको हौँ । निर्माण कम्पनीले गर्दा जनताको गुनासो जनप्रतिनिधिले सुन्नु पर्ने अब त्यस्तो नहुने बताउँदै मन्त्री राईले भने, ‘जनताको गुनासो सम्बोधन गर्न निर्माण व्यवसायीले तोकेको समयभित्र सडक निर्माण सम्पन्न गर्नुपर्छ, अब पनि सडक नबनाए कारबाही गर्छौँ ।’
त्यस्तै राज्यमन्त्री भूमिप्रसाद राजवंशीले आफ्नै निर्वाचन क्षेत्रमा अधुरो सडक निर्माणका लागि निर्माण व्यवसायीलाई दबाब दिन यो कार्यक्रमको आयोजना गर्नु परेको बताए । सरकारले लगानी गरिसकेको सडक अझै पनि नबनेकोले यहाँका जनताले सास्ती खेप्नु परिरहेको छ । ‘अब पनि निर्माण व्यवसायीले सडक निर्माण नगरे कालोसूची राखेर कारबाही गर्छौँ,’ उन थपे ।
0 comments:
Post a Comment