- भानुभक्त आचार्य
सूर्योदय नगरपालिका–आईतबारे
२०८२ साल भदौ १३ गते शुक्रबार बिहान ४ बजे इलामको आईतबारेबाट मैले ताप्लेजुङस्थित पाथिभरा माताको दर्शनको यात्रा सुरु गरेँ। त्यो बिहानदेखि नै अविरल वर्षा भइरहेको थियो, तर दर्शन गर्ने मेरो चाहना अझ बलियो हुँदै गयो। शारीरिक अस्वस्थता भए पनि मनमा रहेको विश्वासले मलाई अघि बढाइरह्यो। यात्रा सुरु गर्दा नै महसुस भयो—भगवानको इच्छामा व्यक्तिको चाहना पूरा हुने रहेछ।
फिदिमसम्म पुगेपछि केही सहकर्मी मित्रहरूसँग भेट भयो। खाना खाएर म ताप्लेजुङतर्फ लागेँ। यो मेरो पहिलो यात्रा भएकाले बाटो अपरिचित थियो। ताप्लेजुङ पुगेपछि गाडी पार्क गरेर तल्लो फेदीतर्फको यात्रा सुरु गरें। त्यही यात्रामा मलाई सहयोगी र रमाइला साथीहरूको समूह भेटियो। सुरुमा हामी अपरिचित थियौँ, तर थोरै समयमै आत्मीय सम्बन्ध बनेर यात्रा रमाइलो बन्यो।
अविरल वर्षाले बाटो कठिन देखिए पनि हाम्रो समूह सहजै माथिल्लो फेदीसम्म पुग्यो। म त्यहीँ बास बस्ने तयारीमा थिएँ तर नयाँ भेटिएका आदरणीय दाइहरूले मलाई पनि आफ्नो समूहसँगै अघि बढ्ने अवसर दिनुभयो। त्यो मेरो लागि ठूलो सौभाग्य थियो। बेलुकी ९:३० बजे हामी माता पाथिभराको पुण्यभूमिमा पुगेका थियौँ। पहिलो यात्रामै यस्तो अनुभव पाउनु मेरो जीवनकै अविस्मरणीय क्षण बन्यो।
दर्शनको दिन
भदौ १४ गते बिहान ४ बजे उठ्दा टाउको भारी, शरीर कमजोर र बान्ता हुनेजस्तो अवस्था थियो। तर माताको दर्शन गर्ने दृढ संकल्पले उठेर तयारी गरेँ। बाटोमा हिँड्दै गर्दा अस्वस्थता क्रमशः हराउँदै गयो। बिहानै आरतीमा सहभागी भई माताको मूल थानमा दर्शन गर्न पाउँदा आफूलाई अत्यन्तै भाग्यमानी महसुस गरेँ। त्यतिबेला लाग्यो—भगवानले मात्र चाहनुभएको होइन, उहाँले मलाई यहाँसम्म ल्याएर साथ पनि दिनुभएको रहेछ।
दर्शनपछि हामी फिर्ता भयौँ। माथिल्लो फेदीमा खाजा खाएर साथीहरूलाई धन्यवाद दिँदै म एक्लै यात्रा अगाडि बढेँ। बाटोमा गाडीमा झापा घर भएका एक दाइ भेटिनु भयो। उहाँसँग पनि नयाँ परिचय भयो र हाम्रो बाटो इलामसम्म मिल्यो।
रोचक कुरा के भयो भने, यात्रा सुरु गर्दा लगातार वर्षा भइरहेको थियो। तर दर्शनको सम्पूर्ण यात्रामा पानीले कतै रोकिएन। जब इलाम आइपुगेँ, त्यतिबेला मात्रै फेरि अविरल वर्षा भयो। यस अनुभवले मलाई प्रष्ट बुझायो—भगवानले चाहनुभयो भने कुनै पनि कठिनाइ पार गर्न सकिन्छ।
पाथिभराको पहिलो यात्रा मेरो लागि केवल दर्शन मात्र रहेन, नयाँ मित्र, आत्मीयता र विश्वासको अनुभव पनि बन्यो। भगवानले मलाई केवल दर्शन गराउनुभएन, सच्चा सहयात्रीहरूसँग मिल्ने अवसर पनि दिनुभयो।
यस यात्रालाई अविस्मरणीय बनाउन साथ दिनुहुने सम्पूर्ण सहयात्रीप्रति हृदयदेखि आभार व्यक्त गर्दछु।
0 comments:
Post a Comment