चिया श्रमिकको मासिक तलब रु. १५ हजार ६९९ बनाउने सहमति

माइपाेखरी न्युज 


 इलाम, १७ भाद्रः लामो वार्तापछि चिया उद्योगी र श्रमिकबीच न्यूनतम पारिश्रमिकका विषयमा सहमति भएको छ। नौ पटकसम्मको वार्तापछि बल्ल नेपाल चिया उत्पादक संघका प्रतिनिधि र चिया बगानमा क्रियाशील ट्रेड युनियनबीच सम्झौता भएको हो।

सहमति अनुसार चिया बगानमा कार्यरत श्रमिकहरूको न्यूनतम दैनिक पारिश्रमिक आधारभूत रु. ३६२ र महँगी भत्ता रु. २०३ गरी जम्मा रु. ५६५ कायम गरिएको छ। यसैगरी मासिकतर्फ आधारभूत पारिश्रमिक रु. १० हजार ९६ र महँगी भत्ता रु. ५ हजार ६०३ गरी जम्मा रु. १५ हजार ६९९ कायम गरिएको छ। साथै, चिया प्रशोधन कारखानामा काम गर्ने श्रमिक तथा बगानका सरदार र चौकीदारलाई दैनिक भत्ता रु. ७० तोकिएको छ।

यो निर्णय साउन १ गतेदेखि लागु हुने गरी नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको न्यूनतम पारिश्रमिक निर्धारण समितिमा सिफारिस गरिने भएको छ।

त्यस्तै, सबै प्रतिष्ठानहरूले श्रम ऐन २०७४ को दफा ११ अनुसार २०८२ भदौ मसान्तसम्ममा आवश्यक श्रमिक संख्या यकिन गरी नियमित वा समयगत रोजगार सम्झौता गर्ने र २०८२ असोज मसान्तभित्र नियमित श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्ने सहमति समेत भएको छ।

गत असार ६ गते ट्रेड युनियनहरूले ६ बुँदे माग राखेका थिए। ती माग तोकिएको समयभित्र पूरा नभएपछि झापाका चिया श्रमिकहरूले साउन १८ गतेदेखि चिया बगान बन्द गरेका थिए। अन्ततः निरन्तर वार्तापछि सहमति जुटेको हो।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment