इलाम, कार्तिक १३ गते।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय नयाँबजार, इलाममा कार्यरत प्रहरी सहायक निरीक्षक रमेश कुमार चौधरीलाई असोज महिनाको “सर्वोत्कृष्ट प्रहरी” (Best Police of the Month) घोषित गरेको छ।
प्रहरी कार्यालयका अनुसार सहायक निरीक्षक चौधरीले असोज महिनाभर उच्च मनोबल, कर्तव्यनिष्ठा र जनसेवाप्रतिको समर्पण देखाउँदै उत्कृष्ट कार्यसम्पादन गरेका थिए। विशेष गरी असोज १९ गते अविरल वर्षासँगै माइजोगमाई गाउँपालिका–६ चाङ क्षेत्रमा गएको बाढी र पहिरोका बेला उनले सक्रिय रूपमा उद्धार कार्यमा सहभागी भई ८ जनाको शव पहिरोबाट उत्खनन गरी निकाल्ने, साथै २ जना सुत्केरी महिला र १ जना सिकिस्त बिरामीलाई हेलिकोप्टरमार्फत उद्धार गर्न सहजीकरण गर्ने कार्य गरेका थिए।
त्यसैगरी, बाढी–पहिरोका कारण क्षति पुगेको इलाका प्रहरी कार्यालय नयाँबजारको लागि उनले स्थानीय समाजसेवीसँग समन्वय गरी ५० हजार रुपैयाँ मूल्य बराबरका फर्निचर र अन्य सामग्रीहरू तत्काल उपलब्ध गराएका थिए।
उक्त घटनापछि अवरुद्ध भएका सडकहरू स्थानीय प्रतिनिधि र सरोकारवाला निकायहरूसँग सहकार्य गर्दै छिटो सुचारु गराउने कार्यमा पनि चौधरीले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
उनको यस योगदानको उच्च मूल्याङ्कन गर्दै कोशी प्रदेश प्रहरी कार्यालयले उनलाई २०८२ साल असोज महिनाको “सर्वोत्कृष्ट प्रहरी” घोषित गरेको जनाएको छ।

0 comments:
Post a Comment