२९ असोज, काठमाडौं । नेपाली कांग्रेसका कुल २४८८ जना महाधिवेशन प्रतिनिधिले पार्टीमा विशेष महाधिवेशन आह्वान गर्न माग गर्दै हस्ताक्षर बुझाएका छन्।
देशभरबाट संकलित हस्ताक्षर कांग्रेस नेता गुरु घिमिरेले कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएका हुन्।
नेता घिमिरेका अनुसार, यो संख्या पार्टीको १४औं महाधिवेशनका कुल प्रतिनिधि संख्याको करिब ५३ प्रतिशत हो।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा हस्ताक्षर बुझाउँदै नेता घिमिरेले अहिलेको राजनीतिक परिस्थितिमा कांग्रेसलाई “नयाँ गति र नयाँ दिशा” दिन विशेष महाधिवेशन आह्वान गर्नुपर्ने बताए।
उनका अनुसार, यो पहल पार्टीभित्रको विवाद वा विद्रोहका लागि नभई, स्वर्गीय नेता सुवर्णशम्शेर राणाले प्रयोग गरेको “लोकतान्त्रिक परम्परा” लाई पुनर्जीवित गर्न गरिएको हो।
नेता घिमिरेले भने, “विशेष अवस्थामा विशेष महाधिवेशन माग गर्नु महाधिवेशन प्रतिनिधिहरूको संवैधानिक अधिकार हो। त्यसै अधिकार प्रयोग गर्दै हामीले यो माग अघि सारेका हौं।”
हालको राजनीतिक परिस्थितिमा जेन–जी आन्दोलनपछि विकसित नेतृत्व–परिवर्तनको माग तीव्र बनेको छ। यही मागलाई मूर्तरूप दिन नेताहरूले हस्ताक्षर अभियान चलाएका थिए।
पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पनि नियमित समयमा महाधिवेशन सम्भव नभए विशेष महाधिवेशनबाट नेतृत्वमा सुधार र नवीकरण गर्नुपर्ने पक्षमा रहेको बताइएको छ।
0 comments:
Post a Comment